सबैको समाचार
मङ्लबार, जेष्ठ १५, २०८१

4985
Shares

जेठ १३, अछाम । अछामको साँफेबगरबाट करिब १० किलोमिटर उकालो चढेपछि रिडिकोट पुगिन्छ । साँफेबगर-मंगलसेन सडक खण्ड त्यही रिडिकोट गाउँको बीचैबीच गएको छ । सडकको दायाँतिर हेर्दा ठुल्ठूला महल देखिन्छन् । परम्परागत कलाले सिंगारिएका यी घर अहिले रित्ता छन् । कुनै घरका छाना पूरै भत्किएका छन् त कुनैका भत्किने क्रममा छन् ।
घरवरिपरि झाडीले ढाकिएको छ । हेर्दै रहर लाग्ने ती महल अचेल खण्डहरमा परिणत भइरहेछन् । कुनै बेला मानिसको चहलपहलले भरिने दरबारजस्ता महल खण्डहर बन्नुको एउटै कारण हो- तीव्र बसाइँसराइ । सिंगो परिवार बसाइँ सरेर देशका अन्य ठाउँमा गएपछि पुख्र्यौली सम्पत्तिका रूपमा रहेका रहरलाग्दा यी घर खण्डहरमा परिणत भएका हुन् ।
रिडिकोट गाउँमा कति घरको त अस्तित्व नै नामेट भइसकेको छ भने स्वाँर जातिका मात्र सात-आठवटा घर खण्डहरमा परिणत हुने अवस्थामा छन् । खण्डहर भएका र हुने क्रममा रहेका ती घर देशकै पहिलो दु:खान्त नाटककार पहलमानसिंह स्वाँर तथा पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरका आफन्तजनका हुन् । अछामका सम्भ्रान्त जातिमा पर्ने स्वाँर र ठकुरी जातिको बसोवास रहेको रिडिकोट गाउँ जिल्लामै सम्भवत: सबैभन्दा पहिले बसाइँसराइ गरी अन्यत्र जाने गाउँमध्ये पर्छ । बसाइँसराइ दर उच्च रहेको यस गाउँमा हाल बसोवास गरिरहेका अधिकांश परिवार पनि दोघरी (एक घर त्यहीँ र अर्को अन्यत्र भएका) छन् । रिडिकोट एक उदाहरण मात्र हो । अछाममा बसाइँ सरेर गएका कारण खाली भएका र खाली हुने क्रममा रहेका थुप्रै गाउँ छन् ।
राणाकाल अन्त्य सँगसँगै विशेषगरी तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा काठमाडौंलगायत देशका विभिन्न ठाउँमा बसाइँ सरेर जाने अछामीहरूको संख्या पछिल्लो समय बढ्दै गएको बताउनुहुन्छ, रिडिकोटकै स्थानीयसमेत रहनुभएका पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह । उहाँका अनुसार यसरी बसाइँ सरेर जाने दुई वर्ग छन् । एक, आर्थिक रूपमा सम्पन्न वर्ग जो थप सुविधाको खोजीमा बसाइँ सरेका छन् ।
अर्को, एकदमै विपन्न वर्ग जो दुई छाक टार्न पनि मुस्किल हुने र समाजमा विभिन्न दु:ख, कष्ट भोग्न बाध्य भएकाले बसाइँ सरेका छन् । सम्पन्न वर्ग प्राय: तराईका सहर र काठमाडौं उपत्यकामा गएको र विपन्न वर्ग प्राय: तराईका गाउँमा गएको शाह बताउनुहुन्छ । तत्कालीन बाइसे, चौबीसे राजामध्येका एक बिमकोटे राजाको अछाम, बिमकोटस्थित दरबार भत्किने अवस्थामा । सशस्त्र युद्धपछि सबै परिवार विस्थापित हुँदा दरबार खाली छ ।
बसाइँसराइ गरेर अन्यत्र जानेमा विपन्नको भन्दा सम्भ्रान्त वर्गको नै बाहुल्य देखिन्छ । आर्थिक रूपमा सम्पन्न भए पनि चाहेअनुसार शिक्षा तथा औषधोपचारका लागि स्वास्थ्य सेवाको अभावजस्ता कारणले बसाइँसराइ गर्नेको दर बढेको हो । अर्कोतर्फ आफ्नै खेतबारीमा उब्जेको अन्नले परिवार पाल्न नसकिने भएपछि बसाइँ सरेर तराईतिर झर्नेको लर्को नै लाग्ने गरेको छ । तराईमा आफूसँग जमिन नभए अधियाँ गरेर पनि परिवार पाल्न सकिने तथा ऐलानी जग्गासमेत कमाउन सकिने भएपछि अधिकांश बसाइँ सरेर गएको पाइन्छ ।
आर्थिक रूपमा सम्पन्न भएकै कारण थप सुविधाको खोजीमा होस् वा दुई छाक टार्नकै लागि होस्, बसाइँ सर्ने दर बढ्दै जाँदा अछामका थुप्रै गाउँ खाली हुने अवस्थामा पुगेका छन् । यीमध्ये साविकको पायल गाविसको वडा नम्बर ३ उल्लेखनीय उदाहरण हो । ६५ परिवारको बसोवास रहेको त्यस गाउँका अधिकांश परिवार बसाइँ सरेर गएपछि अहिले २० परिवार मात्र बाँकी रहेको स्थानीय शेरबहादुर शाह बताउनुहुन्छ ।
त्यस्तै सिद्धेश्वर, चण्डिका, वैद्यनाथ, षोडशा, कालिका, तिमिल्सेन, दर्ना, ओलीगाउँ, बस्ती, नाडा, कुइका, भैरवस्थानलगायतका गाउँ जिल्लाका उच्च बसाइँसराइ दर भएका गाउँ हुन् ।पछिल्लो समय गाउँमा ज्यादै न्यून आय भएका परिवार तथा केही मध्यमस्तरका परिवार मात्र बाँकी छन् । भारतमा चौकिदारी गरेर भए पनि सामान्य आय गर्नसक्नेसम्मले सके तराईका बजार क्षेत्रमा, नभए तराईका गाउँमै भए पनि घरघडेरी जोडेका छन् । गाउँमा जागिर वा व्यापार-व्यवसाय गरेर बस्ने मध्यम वर्गले पनि आफ्नो आयस्रोतअनुसार तराईका गाउँदेखि सहरसम्म घरघडेरी जोडेका छन् । कति पूरै परिवार उतै बस्ने त कतिले यता र उता दुईतिर बस्ने व्यवस्था गरेका छन् । तराईको गाउँ वा सहरमा जग्गा-जमिन हुनु सामाजिक प्रतिष्ठाको विषय बनेको छ ।
अधिकांश अछामी बसाइँ सरेर जाने प्रमुख जिल्ला कैलाली हो । कैलालीको टीकापुरलगायत पूर्वी क्षेत्रमा मात्र करिब ६० प्रतिशत जनसंख्या अछामीको रहेको अनुमान त्यहाँ रहनेहरूले गरेका छन् । टीकापुरलाई त मिनी अछामसमेत भन्ने गरिन्छ । कृषि क्षेत्रमा लगानीअनुसार प्रतिफल प्राप्त नहुनु, गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि सुविधा नहुनु जस्ता कारणले गाउँ छोड्ने दर बढेको हो । सपरिवार सधैँका लागि बसाइँ सरेर जाने त छँदै छन्, घरपरिवारले बाहिर पढ्न पठाएकाहरू पनि अधिकांश पढी-लेखी उतै व्यापार व्यवसाय तथा जागिर गरेर बस्ने क्रम पनि बढ्दो छ । सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारी, व्यापारी, राजनीतिज्ञ प्राय: सबैले यता बसेर कमाएको रकम अधिकांश अन्यत्रै लगानी गरिरहेका छन् ।
समाजका लागि आर्थिक, शैक्षिक, सामाजिक रूपमा महत्र्वपूर्ण योगदान पुर्‍याउने मानिस बसाइँसराइ गरेर अन्यत्रै जाँदा र बसाइँ सरिनसकेकाले पनि स्थानीयस्तरमै लगानी गर्नुको साटो कमाएको धन सम्पत्ति अन्यत्रै लगानी गर्दा अछामको पछौटेपन हट्न सकेको छैन । अछामको गरिबी, आर्थिक विपन्नता, सामाजिक, सांस्कृतिक, शैक्षिक पछौटेपन कायमै रहनुमा बसाइँसराइ प्रमुख कारण भएको अछाम उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढुंगाना बताउनुहुन्छ । अध्ययन, व्यापार-व्यवसाय तथा जागिरको सिलसिलामा बाहिर जानेहरू फर्केर नआउँदा ज्ञान, सीप, प्रविधि र पुँजी जिल्लामा भित्रिन सकेको छैन । त्यसैले नै अछाम मानव विकास सूचकांकको पुछारमै रहेको ढुंगाानाको बुझाइ छ ।
राजनीतिक, प्रशासनिक, शैक्षिक, व्यापारिकलगायत विभिन्न क्षेत्रमा उच्च ओहदामा पुगेका अछामीको संख्या कम छैन । राष्ट्रिय योजना आयोगको सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल प्रहरीका महानिरीक्षक, नेपाल सरकारका सचिवलगायत राज्यका उच्च प्रशासनिक क्षेत्रमा अछामी माटोमा जन्मिएकाहरू पुगिसकेका छन् ।
राजनीतिक तथा निजी क्षेत्रका उच्च तहमा पनि अछामी पुगेका छन् तर त्यसरी माथिल्लो ओहदामा पुग्ने अधिकांश अछामीले अछाम बिर्सने गरेको स्थानीयको गुनासो छ । जो जहाँ जस्तोसुकै पद तथा ओहदामा पुगे पनि आफ्नो जन्मभूमिका लागि थोरै मात्र पनि ध्यान दिएको भए अछामको समृद्धि हुने विश्लेषण स्थानीय कांग्रेस नेता टीकाराम खनालको छ । केही हुनेखाने वर्गले जिल्ला नै छोडेर अन्यत्रै बसाइँ सरेपछि समाजको विकास झन् पछाडि धकेलिएको खनालको बुझाइ छ ।
शिक्षित र सचेत वर्ग गाउँमा नहुँदा सरकारी तथा गैरसरकारी निकायले जनताको जीवनस्तर माथि उकास्ने भनेर सञ्चालन गरेका विकास निर्माणलगायत विभिन्न कार्यक्रमको निगरानी गर्ने मानिसको अभाव छ । त्यसको परिणाम अनियमितता बढ्दो छ । राज्य तथा गैरसरकारी निकायले जिल्लामा वर्षेनि अर्बौं रुपैयाँ जनताका नाममा खर्च गरिरहेका भए पनि त्यसको अधिकांश भाग लक्षित वर्गसम्म नपुग्दै सकिने गरेको छ ।
सुविधाको खोजीमा बसाइँसराइ गर्नु मानवीय स्वभाव नै हो । यो समस्या अछामको मात्र पनि होइन तर अछामबाट देशका विभिन्न ठाउँमा बसाइँ सरी जाने तथा कानुनी रूपमा बसाइँसराइ नगर्नेको संख्या भने बढी छ । यसले केही जटिलता पनि निम्त्याएको छ । कानुनी रूपमा बसाइँसराइ नगर्ने तथा दुई ठाउँमा बसोवास भएकाले दुर्गमको बासिन्दा हौं भनेर राज्यले प्रदान गर्ने सेवासुविधा भने लिइरहेका छन् । सरकारी सेवा प्रवेशमा राज्यले दुर्गम जिल्लाका लागि छुट्याएको कोटाको अछाममै बस्नेले भन्दा बढी सहरबजारमा बस्ने अछामीले फाइदा लिने गरेका छन् । अवसर लिन अछाम आउने तर यहाँको अर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा कुनै मद्दत नगर्नेहरूका कारणले नै अछाम पछाडि धकेलिएको ढुंगानाको भनाइ छ ।
गाउँमै बसेर समाजमा केही योगदान दिनुपर्छ भन्ने सोचाइ भएका व्यक्तिहरू पनि माओवादीको सशस्त्र विद्रोहका कारण असुरक्षित महसुस गरी सहरमा बसाइँ सर्ने क्रम ह्वात्तै बढ्यो । नेताहरूले पद र पहुँचमा हुँदा अछामको अशिक्षा, गरिबी, पछौटेपन हटाउने ठोस नीति तथा कार्यक्रम ल्याउनुको साटो अछामलाई राजनीति गर्ने थलोको रूपमा मात्र प्रयोग गरेको अछामवासीको आरोप छ । आफ्नै पार्टीदेखि स्थानीय तथा राष्ट्रियस्तरका चुनाव आउँदा गाउँकेन्द्रित हुने नेताहरू चुनाव सकिएपछि भने गाउँमा देखिनै छाड्ने गरेको गुनासो अछामभर सुन्न पाइन्छ ।
‘केही पढेलेखेका, जानेबुझेका तथा धनसम्पत्ति भएकाहरूले ठाउँ नै छोडेर गएपछि त्यो ठाउँ झन् पछाडि धकेलिनुको विकल्प नै रहेन’, षोडशाका कालु खड्का भन्नुहुन्छ, ‘पढाइ, जागिर, व्यवसाय जुनसुकै कामले बाहिर बसे पनि आफ्नो ज्ञान, सीप, क्षमताअनुसार थोरै मात्रामा भए पनि जन्मभूमिका लागि लगानी गर्न सके पनि धेरै मद्दत पुग्न सक्छ ।’
बसाइँसराइको प्रकृति :
– पहिलो दु:खान्त नाटककार पहलमानसिंह स्वाँर तथा पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको गाउँ रिडिकोटका अधिकांश परिवार बसाइँ सरिसकेका छन् ।
– ६५ परिवारको बसोवास रहेको पायल गाउँमा २० परिवार मात्र बाँकी छन् ।
– सिद्धेश्वर, चण्डिका, वैद्यनाथ, षोडशा, कालिका, तिमिल्सेन, दर्ना, ओलीगाउँ, बस्ती, नाडा, कुइका, भैरवस्थानलगायत गाउँमा बसाइँसराइ दर उच्च छ ।
– बसाइँ सर्नेमा अधिकांश सम्भ्रान्त वर्ग र केही निम्नवर्गका मानिस छन् ।
– अधिकांश अछामी बसाइँ सरेर जाने प्रमुख जिल्ला कैलाली हो । टीकापुरलगायत क्षेत्रमा मात्रै ६० प्रतिशत अछामी छन् ।
– शिक्षा र स्वास्थ्यको पहुँच खोज्दै तराईका जिल्ला र राजधानीतिर पस्नेको संख्या अधिक छ ।
– अध्ययन, व्यापार-व्यवसाय तथा जागिरको सिलसिलामा बाहिर जानेहरू फर्केरै आउँदैनन् ।
– कानुनी रूपमा बसाइँसराइ नगर्ने र दुर्गमका बासिन्दा हौं भन्दै राज्यले प्रदान गर्ने सेवासुविधा लिने धेरै छन् ।
– अन्नपूर्ण पोस्ट

4985
Shares

ट्रेन्डिङ