सबैको समाचार
सोमवार, असार १६, २०८२
  • होमपेज
  • धुलिखेल नगर सभाले प्रदेश खारेज गर्ने निर्णय गर्दै २०८२/८३ को बजेट सार्वजनिक

धुलिखेल नगर सभाले प्रदेश खारेज गर्ने निर्णय गर्दै २०८२/८३ को बजेट सार्वजनिक

120
Shares
धुलिखेल नगर सभाले प्रदेश खारेज गर्ने निर्णय गर्दै २०८२/८३ को बजेट सार्वजनिक

पुजन धिताल / धुलिखेल : धुलिखेल नगरपालिकाले प्रदेश सभा खारेजीको माग गर्दै संघ सरकारलाई पत्राचार गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ। नगरपालिकाको १७औं नगरसभामा सदस्य तथा वडा नं. २ का अध्यक्ष अर्जुन न्यौपानेले प्रदेश सभाले प्रभावकारी भूमिका निर्वाह नगरेको र बजेट वितरणमा असमानता रहेको तर्क गर्दै विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। उनले प्रदेश सरकारको उपस्थिति प्रभावकारी नभएको र बजेट वितरणमा विभेद भएको कारण जनताको अपेक्षालाई पूरा गर्न नसकेको दाबी गरे।

नगर प्रमुख अशोक कुमार ब्याञ्जुले प्रस्तावलाई समर्थन गर्दै यो निर्णय लोकतान्त्रिक प्रक्रियाको अंग भएको बताउनुभयो। उहाँले कुनै पनि सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्थामा त्यसको विरोध गर्ने अधिकार जनप्रतिनिधिहरूलाई रहेको प्रष्ट्याउँदै नगर सभाले सर्वसम्मत रूपमा निर्णय गरेको बताउनुभयो। नगरसभाले प्रदेश खारेजीको प्रस्तावसहित अन्य २७ वटा निर्णय पनि पारित गर्दै ती संघ र प्रदेश सरकारलाई औपचारिक रूपमा पत्राचार गरिने जानकारी दिएको छ।

यसै नगर सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाले यो बजेटलाई सर्वसम्मत रूपमा पारित गर्दै प्राथमिकताका क्षेत्रमा खर्च व्यवस्थापन गर्ने योजना बनाएको छ। बजेट अनुसार, पुँजीगत खर्च ८० करोड ४ लाख ११ हजार (६७.५५%), चालू खर्च ३६ करोड ८६ लाख ६९ हजार (३१.१२%), र वित्तीय व्यवस्थापनका लागि १ करोड ५७ लाख ७० हजार (१.३३%) छुट्याइएको छ।

नगर प्रमुख ब्याञ्जुले बजेट प्रस्तुत गर्दै दिगो विकासका लक्ष्यहरूलाई ध्यानमा राखी काम गरिने बताउनुभयो। उहाँले स्वस्थ शहरको अवधारणालाई सिङ्गो प्रदेशमा विस्तार गर्न र धुलिखेललाई शून्य कार्बन उत्सर्जन गर्ने शहरका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारिएको उल्लेख गर्नुभयो। नगरपालिकाले स्वास्थ्य विमा पहुँच विस्तार, गरिबी निवारण, र रोजगारी सिर्जनाका कार्यक्रमलाई प्राथमिकता दिएको छ। बाढीपहिरोबाट प्रभावित क्षेत्रहरूको पुनर्निर्माण र राहत व्यवस्थापनका लागि १ अर्ब ३ करोड रुपैयाँको कोष व्यवस्था गरिएको छ।

नगरपालिकाले अघिल्लो वर्ष सुरू गरेको नगरभित्रका स्थायी बासिन्दाहरूलाई स्नातक तहसम्म निःशुल्क अध्ययनको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ।

नगर उपप्रमुख निराजन जङमले अघिल्लो वर्षका उपलब्धिहरूको समीक्षा गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, र रोजगारी सिर्जनामा गरेको प्रगतिबारे जानकारी दिनुभयो। उहाँका अनुसार, नगरपालिकाले दिगो विकासका लक्ष्यहरूलाई प्राप्त गर्न योजना अनुसार काम गर्दै आएको छ।

नगरसभाले बजेट र आगामी वर्षका योजनाहरूलाई कार्यान्वयन गर्न प्रतिबद्धता जनाउँदै सामाजिक सुरक्षामा थप सुधार गर्ने निर्णय गरेको छ। सभाले प्रभावकारी कार्यान्वयनका लागि योजनाहरूलाई चरणबद्ध रूपमा अघि बढाइने बताएको छ।

120
Shares

ट्रेन्डिङ