सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • के होला भरतपुरको मतगणना ? छानबिन समितिले आज प्रतिवेदन दिने

के होला भरतपुरको मतगणना ? छानबिन समितिले आज प्रतिवेदन दिने

2590
Shares
के होला भरतपुरको मतगणना ? छानबिन समितिले आज प्रतिवेदन दिने

काठमाडौं, १७ जेठ । गत ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे । करिब एक लाख आठ हजार मत सुरक्षित गनियो । गणना गर्न बाँकी अन्तिम चार हजार मत निर्णयक हुनेवाला थियो । तर, सो मत गणना हुनै पाएन । एकाएक मतपत्र च्यातिएपछि अब वडा नं. १९ मा पुनः मतदान कि मतगणनालाई निरन्तरता दिइनेछ भन्ने अन्योल छाएको छ ।
अाजको नयाँ पत्रिकामा खबर छ– माओवादी केन्द्र र कांग्रेस गठबन्धन उम्मेदवार रेणु दाहालले करिब ३८ सयबाट मतान्तर करिब सात सयमा झारिसकेकी थिइन् । आइतबार राति भरतपुरस्थित कभर्ड हलमा वडा नं. १९ को मतगणना भइरहेको थियो । त्यसपछि गणना हुन वडा नं. २० मात्र बाँकी थियो ।
करिब २८ सय मतदाता रहेको वडा नं. १९ को पनि एक हजार आठ सय मत गणना भएर नतिजा सार्वजनिक भइसकेको थियो । थप ६ सय अर्थात् कुल २४ सय मतको परिणाम सार्वजनिक हुनै लाग्दा मतपत्र च्यातिएको हो । लगत्तै मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सोमबार बिहान १ बजेर २० मिनेटमा सूचना टाँस गरी अनिश्चितकालका लागि मतगणना रोकिएको जानकारी गराए ।
मतपत्र च्यातेको आरोपमा प्रहरीले दुईजना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । तर, माओवादीले भने तानातानमा मतपत्र च्यातिएको दाबी गरिरहेको छ ।
वडा नं. १९ मा कांग्रेसले वडाध्यक्षमा अग्रता लिएको थियो । सो वडाको २४ सय मत गणना हुँदा गठबन्धन उम्मेदवार दाहालभन्दा एमाले उम्मेदवार देवी ज्ञवाली सात सय ८४ मतले अघि थिए । वडा नं. १९ को थप चार सय मत मात्र गणना गर्न बाँकी थियो । २० नम्बर वडामा प्रवेश गर्दा देवी ज्ञवालीले सात सय हाराहारीले अग्रता कायम गर्ने निश्चित भएपछि हार्ने देखेर माओवादी प्रतिनिधिले मतपत्र च्यातेको मतगणनामा खटिएका एमाले उपाध्यक्ष तेजेन्द्र खड्काले बताए ।
यता, माओवादीका चितवन इन्चार्ज ईश्वरी भट्टराईद्वारा जारी विज्ञप्तिमा एमाले प्रतिनिधिले मतपत्र च्यात्न खोज्दा आफ्नो दलका प्रतिनिधिले रक्षा गर्ने क्रममा तानातानमा च्यातिएको दाबी गरिएको छ ।
मतपत्र च्यात्नेविरुद्ध मुद्दा
जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका दुईजनाविरुद्ध मंगलबार मुद्दा दर्ता गरेको छ । माओवादी केन्द्रका प्रतिनिधि मधुकर न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध मुद्दा दर्ता भएको हो । चितवन प्रहरी प्रमुख एसपी दीपक थापाका अनुसार मंगलबार नै चितवन जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ । सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार मात्र अदालतमा उपस्थित गराएको थापाले जनाए । मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जबरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिवाना र दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
मतगणना सुचारु गर्न साना दलको माग
नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा र संयुक्त दलित अधिकार मञ्च नेपालले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी वडा नं. १९ मा मतगणना पुनः सुरु गर्न माग गरेका छन् ।अराजक प्रवृत्तिका केही व्यक्तिले मतगणना प्रभावित पार्न मतपत्र च्यात्ने अलोकतान्त्रिक काम गरेको भन्दै उनीहरूले च्यातिएका मतपत्र सर्वदलीय सहमतिका आधारमा छिनोफानो लगाई यथाशीघ्र मतगणना सुरु गर्न आग्रह गरेका छन् ।
छानबिन समितिले आज प्रतिवेदन दिने
मतपत्र च्यातिएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदै छ । अनुसन्धान सकेर समिति सदस्यहरू मंगलबार दिउँसो नै काठमाडौं फर्किएका छन् । छानबिन समितिका संयोजक गीताप्रसाद तिमल्सिना नेतृत्वको टोली सोमबार साँझ भरतपुर आइपुगेको थियो । समितिमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी प्रधान कार्यालयका डिआइजी मोहन भण्डारी सदस्य छन् ।
समितिले प्रतिवेदन बुझाएपछि निर्वाचन आयोगले उचित निर्णय लिने बताइएको छ । समितिले मंगलबार जिल्लाका राजनीतिक दलहरूसँग छलफलसमेत गरेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । त्यस्तै, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मतगणनास्थलमा खटिएका कर्मचारी, निर्वाचन अधिकृतसँग पनि घटनाको विषयमा जानकारी लिएको थियो ।

2590
Shares

ट्रेन्डिङ