झापा, १७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमाले भित्रले विवाद उग्र रुप लिँदै गएको छ। चुनावको टिकट विवादले उग्र रुप लिएको हो। पार्टीको तर्फबाट झापाका अधिकांश स्थानीय तहमा दिइएको टिकट एकलौटी ढंगबाट दिइएको भन्दै एमाले भित्रको विवाद छताछुल्ल भएको हो। पार्टीको प्रदेश नम्बर १ ले समितिले निर्णय गरेका उम्मेद्वारहरुलाई पनि अहिले पार्टीले पछि सारेको कार्यकर्ताहरुले बताएका छन्। पार्टीको तर्फबाट कमल गाउँपालिकाको अध्यक्ष बनेकी मेनुका काफ्ले पछि सरेको पार्टीका एक कार्यकर्ताले आफ्नो नाम नखोल्ने सर्तमा सबैको समाचारलाई बताए। उनले भने, ‘मेनुकाजी होइन अब, बेणु सिवाकोटी अध्यक्ष हुन्, मेनुका पछि हटिसकिन्।’
यसअघि उपाध्यक्षका उम्मेदवार भनिएका बणु सिवाकोटी अहिले आफू अध्यक्षको उम्मेदवार भनेर मतदातामाझ भोट मागिरहेका छन्। यस्तै दमकमा भएको विवाद पनि अझै साम्य भएको छैन। दमकको प्रमुखमा अध्यक्ष ओलीले आफ्ना भतिजा रोमनाथ ओलीलाई प्रमुख पदको उम्मेदवार उठाएपछि अम्बिका खनालले विरोध गर्दै आएका छन्। उनी अन्य कार्यकर्ताको सल्लाहमा अघि बढ्ने बताउँदै आएका छन् ।
यसअघि सोमबार झापाको हल्दिबारी गाउँपालिकाको प्रमुखमा माधव नेपाल पक्षकी मञ्जु सिटौलाले उम्मेदवारी दिएपछि केपी ओली पक्षका कार्यकर्ताले बिर्तामोडस्थित आफ्न घेराउ गरेका थिए। चुनावको मुखैमा यसरी अध्यक्ष ओलीको गृहजिल्लामा विवाद हुँदा पार्टीलाई ठूलो क्षति पुग्ने भन्दै कार्यकर्ताले भने चिन्ता व्यक्त गरेका छन्। यस विषयमा पार्टीका जिल्लास्तरीय नेतासँग कुरा गर्न खोज्दा फोन सम्पर्क हुन सकेन।
समस्या समाधान गर्न ओली गृह जिल्ला आउँदै
समाचार स्रोतका अनुसार गृह जिल्लाको विवाद समाधान गर्न एमाले अध्यक्ष ओली झापा आउँदैछन्। आफ्नै गृह जिल्लामा भएको विवाद समाधान गर्न ओली झापा आउने एमाले झापा क्षेत्र नम्बर ७ का एक क्षेत्रीय नेताले बताए।
उनले भने, ‘विशेष गरेर अध्यक्ष कमरेड दमकको विवाद मिलाउन आउन लाग्नुभएको हो, त्यही क्रममा झापामा रहेका अन्य विवादलाई पनि ध्यान दिनुहुन्छ।’ पार्टी स्रोतका अनुसार उनी केही दिनमा झापा आउँदै छन्। स्रोतले भन्यो, ‘ राष्ट्रिय राजनीतिमा केही उथलपुथल भएन भने उहाँ भोलि वा पर्सि नै आउनुहुन्छ।’