सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • यसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरू : कस्को तालमेल को सँग ?

यसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरू : कस्को तालमेल को सँग ?

2550
Shares
यसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरू : कस्को तालमेल को सँग ?

काठमाडौँ, साउन २० । स्थानीय हतको तेस्रो चरणको निर्वाचन अन्तर्गत असोज दुई गते प्रदेश नम्बर दुईमा निर्वातनको मिति तोकिएको छ । प्रमुख दलहरुको निर्वाचन तयारीको विषयमा छ ।

कांग्रेस
एक्लै जित्न नसक्ने ठाउँमा तालमेल गर्दै
कांग्रेसले तेस्रो चरणमा कमजोर ठाउँमा अन्य दलसँग तालमेल गर्ने भएको छ । प्रदेश नम्बर २ मा कमजोर रहेका तहमा तालमेल गर्न आठवटै जिल्लालाई केन्द्रले सर्कुलर गरेको छ । कांग्रेसले पहिलो र दोस्रो चरणमा सत्तासाझेदार माओवादी केन्द्रसँग केही तहमा तालमेल गरेको थियो ।

भारतसँग सीमा जोडिएका स्थानीय तहमा बलियो भएपनि पूर्व–पश्चिम राजमार्गका झन्डै २० तहमा तालमेल गर्ने पक्षमा कांग्रेस छ । राजमार्ग वरिपरि एमालेको पकड रहेकाले कांग्रेसले माओवादी र राजपासँग चुनावी तालमेलको तयारी गरेको हो ।

प्रदेश नम्बर २ मा केन्द्रित कांग्रेस
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसले यसपटक आक्रमक रूपमा चुनावी तयारी गरेको छ । यसका लागि प्रचारप्रसारको भरपर्दो व्यवस्थासहित संगठन परिचालनलाई पनि निकै प्राथमिकता दिएको छ । सभापति शेरबहादुर देउवाले तेस्रो चरणको निर्वाचनलाई प्राथमिकतामा राख्दै उम्मेदवार चयन पनि छिटै तय गर्ने आश्वासन दिइसकेका छन् ।

तालमेल हुँदा ‘डिस्टिङसन’को आशा
तेस्रो चरणअन्तर्गत २ असोजमा प्रदेश नम्बर २ का १२७ तहमा हुने निर्वाचनमा कांग्रेसले सय सिट जित्ने लक्ष्य लिएको छ । कमजोर ठाउँमा तालमेल गरेर भए पनि लक्ष्य हासिल गर्ने उसको योजना छ । ‘१२७ पूर्णांकमा हामीले सय तहसम्म जित्न सक्ने टार्गेट बनाएका छौँ,’ नेता विमलेन्द्र निधिले भने, ‘कमजोर ठाउँमा कांग्रेसलाई अझै बलियो बनाउन तालमेल जरुरी छ । जसरी भए पनि हामीले प्रदेश नम्बर २ मा डिस्टिङसनको टार्गेट बनाएका छौँ ।’

एमाले
कांग्रेसबाहेकसँग तालमेलका लागि तयार
एमालेले प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेसबाहेकका दलसँग तालमेलका लागि खुला रहने लचिलो नीति अख्तियार गरेको छ । २ असोजमा आठ जिल्लाका १२७ तहमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस देखिएको विश्लेषण गर्दै एमालेले सो पार्टीबाहेकका जुनसुकै दलसँग तालमेल गर्ने नीति लिएको हो ।‘

मोर्चाबन्दी भए एक्लै भिड्ने तयारी
कांग्रेसबाहेकका दलसँग तालमेलको नीति खुलै राखे पनि आफूविरुद्ध कांग्रेससहित सबै दलले घेराबन्दी गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको एमालेको विश्लेषण छ । त्यस्तो अवस्थामा सबै तहमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै एमालेले सोहीअनुसार चुनावी तयारीलाई तीव्रता दिइरहेको छ ।‘

कम्तीमा ६० सिट जित्ने आँकलन
एमालेले प्रदेश नम्बर २ मा न्यूनतम ६० सिट जित्न सकिने प्रारम्भिक आँकलन गरेको छ । ७० प्रतिशत स्थानमा कांग्रेससँगै प्रतिस्पर्धा हुने एमालेको ठम्याइ छ ।

माओवादी केन्द्र
मधेसकेन्द्रित दलसँग तालमेल गर्ने योजनामा
प्रदेश नम्बर २ को निर्वाचनमा माओवादी केन्द्रले अधिकांश स्थानीय तहमा मधेसकेन्द्रित दलसँग तालमेल गर्ने योजना बनाएको छ । सो प्रदेशका धेरै तहमा मधेसी दलको प्रभाव भएकाले त्यहीअनुसार तालमेल गर्ने योजना यसको छ । ‘हामी जित्न सक्ने तहमा एक्लै प्रतिस्पर्धा गर्छौँ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘हामी कमजोर भएका तहमा अरू दलसँग तालमेल गरेर निर्वाचनमा जान्छौँ ।मधेसका १ सय २७ तहमध्ये माओवादीले ४४ तह जित्ने अपेक्षा राखेको छ ।

मधेसमै माओवादी केन्द्रीय कार्यालय
माओवादी केन्द्रले पहिलो र दोस्रो चरणको निर्वाचनमा व्यहोरेको क्षति प्रदेश नम्बर २ बाट पूर्ति गर्ने योजनासहित रणनीति बनाएको छ । सो रणनीतिअनुसार निर्वाचन अवधिभर पार्टी केन्द्रीय कार्यालयसमेत प्रदेश नम्बर २ बाटै सञ्चालन गर्ने निर्णय उसले गरेको छ । पार्टी अध्यक्ष प्रचण्डदेखि सबै शीर्ष नेता मधेसमा परिचालित गर्ने माओवादीको तयारी छ ।

​राप्रपा
अध्यक्षसहितका नेता मधेसमै
राप्रपाले पनि प्रदेश नम्बर २ लाई आफ्नो भोट बैंक भएको दाबी गरेको छ । शीर्ष नेताहरू मधेसमै सक्रिय भएका छन् । १५ साउनबाट प्रदेश नम्बर २ को भ्रमण सुरु गरेका अध्यक्ष कमल थापा बिहीबारसम्म उतै छन् । अध्यक्ष थापाले १५ साउनमा बर्दिबास, १६ गते राजविराज, १७ गते लहान, १८ गते जनकपुर र १९ गते हेटौँडामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

राप्रपाले केन्द्रीयस्तरबाट कसैसँग तालमेल नगर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीयस्तरबाट तालमेल गर्ने योजना बनाएको छैन । स्थानीयस्तरमै पार्टीलाई फाइदा हुने किसिमले उपयुक्त निर्णय लिने जिम्मेवारी सम्बन्धित तहको पार्टी कमिटीलाई दिइने महामन्त्री जयन्त चन्दले बताए ।

नयाँ शक्ति ​: अलमलमा
तालमेलबारे नयाँ शक्ति नेपाल अलमलमै छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा संघीय समाजवादी फोरमसँग तालमेल गरेको उसले प्रदेश नम्बर २ को निर्वाचनबारे अझै कुनै निर्णय गरेको छैन । संघीय समाजवादीसँगको एकता प्रक्रिया असफल भएपछि नयाँ शक्तिलाई तालमेल गर्न समस्या परेको छ ।

लोकतान्त्रिक फोरमको प्राथमिकतामा छैन तालमेल
नेपाल लोकतान्त्रिक फोरमले निर्वाचनमार्फत पार्टीलाई अझ सशक्त बनाउने रणनीति बनाएको छ । पार्टीको प्राथमिकता एकल प्रतिस्पर्धामा बढीभन्दा बढी सिट कसरी जित्ने भन्ने रहेको सहअध्यक्ष गोपाल दहितले बताए । ‘हाम्रो प्राथमिकता एकल प्रतिस्पर्धा गरेर कसरी बढी सिट जित्न सकिन्छ भन्ने हो,’ उनले भने ।
-नयाँ पत्रिका

2550
Shares

ट्रेन्डिङ