सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • ठुला नेताहरु कति सुरक्षित ?

ठुला नेताहरु कति सुरक्षित ?

4530
Shares
ठुला नेताहरु कति सुरक्षित ?

काठमाडौं, कात्तिक २१ । गाउँदेखि सहरसम्म देश चुनावी पर्वमा होमिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले स्थानीय तहको निर्वाचनमा भन्दा धेरै चासो बढाएको छ । किनकी यो चुनावमा ठुला नेताहरु नै मैदानमा छन् । एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले पनि चुनावलाई थप रोचक बनाएको छ । बाम गठबन्धनलाई टक्कर दिन नेपाली कांग्रेसले पनि राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग तालमेल गरेको छ ।

राष्ट्रिय जनता पार्टी र मधेसी जनअधिकार फोरमले समेत चुनावमा सहकार्य गरेका छन् । जसले गर्दा चुनावलाई थप प्रतिस्पर्धात्मक बनाएको छ । मधेसमा वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन र मधेसकेन्द्रित दुई दलको गठबन्धनबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिन्छ । जसले उम्मेदवारहरुले निकै मेहनत गर्नुपर्ने देखिन्छ । अझ प्रेसर ठुला नेताहरुलाई छ । हुन त ठुला नेताहरुलाई जनताले अरुलाई भन्दा बढी बिश्वास गर्न सक्छन्, तर सहज भने छैन ।

झापामा ओली ढुक्क
एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसले ओलीसँग प्रतिस्धर्पा गर्ने उम्मेदवार नै पाएन । बिश्वप्रकाश शर्माको कुरा चलेपछि उनले आँट गरेनन् । पछि स्थानीयले समेत नचिनेका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा–७ बाट ओलीले कांग्रेस उम्मेदवार सुरेशकुमार सुब्बालाई ८ हजारभन्दा बढी मतान्तरले पछि पारेका थिए । निर्वाचनका केही ठाउँहरु हेरफेर भएपनि ओलीलाई चुनाव जित्न कठिन छैन ।

माधवकुमार नेपाल
पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल काठमाडौं–२ बाट प्रतिस्पर्धा गर्दैछन् । पहिलो संविधानसभाको चुनावमा माओवादी उम्मेदवार झक्कु सुवेदीसँग पराजित भएका उनले दोस्रो संविधानसभा चुनावमा कांग्रेस उम्मेदवार प्रतिमा गौतमलाई ९ हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी भएका थिए । यसपटक नेपालसँग कांग्रेस उम्मेदवार दीपक कुइँकेल प्रतिस्पर्धामा छन् । दोस्रो संविधानसभाको चुनावमा दुई ठाउँबाट विजयी नेपालले यो क्षेत्र छाडेपछि भएको उपनिर्वाचनमा कुइँकेल विजयी भएका थिए । जसकारण नेता नेपाललाई पनि चुनाव जित्न सहज छैन । अर्काेतर्फ विवेकशिल साझा पार्टीका नेता सूर्यराज आचार्यले पनि दुवै पार्टीका उम्मेदवारको भोट काट्ने देखिन्छ ।

झलनाथलाई सजिलो
झलनाथ खनाल इलाम–१ बाट प्रतिस्पर्धा गर्दैछन् । उनी सोही क्षेत्रबाट दुवै संविधानसभामा विजयी भएका थिए । पहिलो संविधानसभाको चुनावमा उनले नेपाली कांग्रेसका बेनुपराज प्रसाईंलाई हराएका थिए भने दोस्रोमा कांग्रेसकै हिमालय कर्माचार्यलाई पराजित गरे । यसपटक खनालसँग कांग्रेसका भूपेन्द्र कट्टेललले प्रतिस्पर्धा गर्दैछन् । बाम गठबन्धनका कारण खनाललाई पनि चुनाव जित्न कठिन छै्रन ।

वामदेव–सञ्जयको टक्कर
गौतम बर्दिया–१ बाट प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रबाट संविधानसभाको निर्वाचन २०६४ मा माओवादीकी उम्मेदवार सरला रेग्मीसँग ४ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए । दोस्रो संविधानसभाको चुनावमा उनले माओवादीकै उम्मेदवारलाई करिब ७ हजार मतान्तरले पराजित गरे । यसपटक उनी नेपाली कांग्रेसका सञ्जय गौतमसँग प्रतिस्पर्धा गर्दै छन् । सञ्जय ०७० सालको चुनावमा बर्दिया–२ बाट विजयी भएका थिए । बाम पार्टीको प्रभाव सो क्षेत्रमा धेरै भएकाले गौतमलाई चुनाव जित्न समस्या नहुने सबै पार्टीका जिल्लाका नेताहरुको आँकलन छ ।

देउवालाई चुनौती
देउवा आफ्नो पुरानै क्षेत्र डडेल्धुरा–१ बाट चुनाव लड्दैछन् । डडेल्धुरामा प्रतिनिधिसभाको एउटा मात्रै चुनाव क्षेत्र छ । उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खगराज भट्टले प्रतिस्पर्धा गर्दैछन् । देउवासँग भट्ट दुई पटक पराजित भइसकेका छन् । २०६४ सालको निर्वाचनमा थोरै मतअन्तर भट्ट पराजित भएका थिए । देउवाले २० हजार ५ सय २९ मत ल्याएका थिए, भट्टले १९ हजार १ सय ६१ मत ल्याएका थिए ।

दोस्रो संविधानसभाको चुनावमा देउवाले मत बढाएर २३ हजार ९ सय २० पुर्याउँदा भट्ट १२ हजार ३ सय ३२ मात्र ल्याए । सो क्षेत्रमा एमाले पहिला कमजोर थियो । तर स्थानीय तहमा एमालेले समेत जित हात पारेको देउवालाई निकै कठिन हुने देखिन्छ । चुनाव जित्न कठिन हुने भएपछि देउवाले कांग्रेसकै अर्काे गुटका कर्ण मल्ललाई प्रदेशसभाको टिकट दिएर आफ्नो पक्षमा पारेका छन् । उम्मेदवारी दर्तामा समेत आफु नगएपछि डडेल्धुराबासी देउवासँग रुष्ट बनेका छन् ।

पौडेललाई सकस
तनहुँ–१ बाट प्रतिस्पर्धामा रहेका रामचन्द्र पौडेललाई उम्मेदवारी दर्ताको दिन निकै तनावमा थिए । किनकी कांग्रेसकै नेता गोविन्दराज जोशीले समेत उम्मेदवारी दिएका थिए । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएपछि उनलाई चुनाव जित्न केही सहज भएको छ । उनीसँग यसपटक पनि एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले प्रतिस्पर्धा गर्दैछन् । ०७० को दोस्रो संविधानसभा चुनावमा पनि पौडेलका मुख्य प्रतिस्पर्धी किसान नै थिए । त्यतिबेला पौडेलले १८ हजार १ सय ४९ मत ल्याउँदा किसानले ११ हजार ७ सय ३९ मत पाएका थिए ।

बाम गठबन्धनका कारण यसपटक किसानको भोट बढ्ने देखिन्छ । सोझो र लोभी स्वभावका नेताका रुपमा चिनिने पौडेलविरुद्ध गोविन्दराज जोशीको समूह पनि लाग्ने सम्भावना छ । २०७० मा उनीविरुद्ध गुन्डा नाइके पूर्ण गुरुङले पनि बागीमा उम्मेदवारी दिएका थिए । यसपटक भने गुरुङले उनलाई सघाएका छन् ।

रविन्द्र मिश्रको चर्चा
काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह सधैं भारी मतान्तरले बिजयी हुँदै आएका व्यक्ति हुन् । त्यसकारण यसपटक बाम गठबन्धनबाट सो क्षेत्रमा चुनाव उठ्न दुवै पार्टीका नेताहरुले चासो दिएका छैनन् । अन्त्यमा माओवादीका युवा नेता अनिल शर्माले टिकट पाए । तर, सिंहलाई शर्माको भन्दा रबिन्द्र मिश्रको चिन्ता छ । सोमबारबाट चुनावी अभियान सुरु गरेका सिंहले शर्माभन्दा मिश्रको आलोचना गरे । राजनीतिक रत्नपार्कमा चटक देखाएजस्तो नभएको भन्दै उनले मिश्रको आलोचना गरे ।

१ नम्बरमा मिश्र र सिंहको नै प्रतिस्धर्पा हुने देखिन्छ । मिश्र एक महिनाअघिदेखि नै घरदैलो अभियानमा लागेका छन् । काठमाडौंका जनताको मत हरेक निर्वाचनमा फरक देखिने गरेको छ । मिश्रको बौद्धकता, इमान्दारीता र मेहनतले सिंहलाई झस्काएको छ । मिश्रको वाचामा काठमाडौंका जनताले बिश्वास गरेकामा क्षेत्र नम्बर १ को निर्वाचनको नजितामा भुईचालो आउने निश्चित छ । दोस्रो संविधानसभाको चुनावमा सिंहले १५ हजार १ सय ३९ मत ल्याउँदा प्रचण्डपुत्री रेणु दाहालले जम्मा ४ हजार ६३ मत ल्याएकी थिइन् ।

संकटमा सिटौला
कांग्रेस नेता कृष्ण प्रसाद सिटौला समानुपातिक सूचिमा बस्ने हल्ला धेरै पहिलादेखि चल्यो । तर, उनले त्यसलाई खण्डन गरिरहे । उनी पनि चुनाव लड्ने किन समानुपातिकमा बस्ने दोधारमा थिए । तर, अहिले समानुपातिकमा बस्दा आफ्नो राजनीतिक क्षेत्रबाट सधैंका लागि टाढा हुने देखेपछि उनी झापा–३ बाट प्रतिस्पर्धा गर्ने निर्णयमा पुगे ।

उनका मुख्य प्रतिस्पर्धी राप्रपाका राजेन्द्र लिङ्देन हुन् । जो निकै बलिया उम्मेदवार हुन् । उक्त क्षेत्रमा बाम गठबन्धनले उम्मेदवारी दिएको छैन । लिङदेनलाई नै सघाउने निर्णय गरेको छ । जसले गर्दा सिटौला समस्यामा छन् । ०७० सालको चुनावमा भने झापा–३ बाट लिङ्देनलाई नै पराजित गरेर संविधानसभा सदस्य भएका थिए । त्यतिबेला उनले १४ हजार ३ सय ५५ मत ल्याउँदा लिङ्देनले ९ हजार २ सय ५३ मत ल्याएका थिए ।

गढमै शशांकलाई धक्का
पूर्वी नवलपरासी अर्थात् नवलपुल कुनै समय कांग्रेसको गढ थियो । तर स्थानीय चुनावमा त्यो गढ भत्कियो । गैंडाकोटमा एमालेका उम्मेदवार मेयरमा बिजयी भए । जसकारण कांग्रेस महामन्त्री शशांक कोइराला यतिबेला दौडधुपमा लागेका छन् । उनीसँग वाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भविश्वर पराजुली प्रतिस्पर्धा गर्दैछन् । माओवादी सो क्षेत्रमा कमजोर भएकाले एमालेको केही भोट तान्न सके उनी बिजयी हुनेछन् ।

तनावमा महत
बाम गठबन्धनका कारण कांग्रेस नेता रामशरण महत ठुलो तनावमा छन् । किनकी नुवाकोट एमाले र माओवादी दुवै पार्टीको धेरै भोट भएको जिल्ला हो । दुवै पार्टी मिलेको अवस्थामा उनले चुनाव जित्न ठुलै चमत्कार नै गर्नुपर्ने नुवाकोटकै कांग्रेसका नेताहरु बताउछन् ।
हुन त उनले उनले दुवै पटक माओवादीका उम्मेदवार हितबहादुर तामाङलाई पराजित गरेका थिए । यसपटक उनी उनै तामाङसँग प्रतिस्पर्धा गर्दैछन् । दुवै चुनावमा उनी थोरै मतले बिजयी भएका थिए । पटक पटक अर्थमन्त्री हुँदा पनि जिल्लाको बिकासमा चासो नदिएकाले पनि उनलाई चुनाव जित्न कठिन छ ।

शेखरलाई लालबाबुको त्रास
मोरङ कांग्रेसको जनाधार भएको जिल्ला हो । त्यो हिसाबले कांग्रेस नेता शेखर कोइरालालाई चुनाव जित्न गाह्रो हुनु नपर्ने हो । तर, यसपटक उनका प्रतिस्पर्धी निकै लोकप्रिय व्यक्ति छन् । मोरङ– ६ मा शेखरलाई लालबाबु पण्डितले टक्कर दिदै छन् । सामान्य प्रशासनमन्त्री हुँदा निकै चर्चित रहेका लालबाबुको जिल्लामा पनि राम्रो प्रभाव छ ।

गगनलाई कपनको डर
यो चुनावमा कांग्रेसका अर्का बलिया उम्मेदवार गगन थापा हुन् । थापा यसपटक पनि काठमाडौं–४ बाटै उम्मेदवार भएका छन् । पहिलो संविधानसभामा समानुपातिक सभासद भएका उनी दोस्रो संविधानसभाको चुनावमा भने यही क्षेत्रबाट भारी मतान्तरले उम्मेदवार भएका थिए । त्यतिबेला उनी एमालेका निर्मल कुइँकेललाई १३ हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भए । तर यसपटक उनलाई सहज छैन । किनकी एमाले प्रभावशाली युवा नेता राजन भट्टराई उनका प्रतिस्पर्धी छन् ।

अर्काेतर्फ क्षेत्रमा गगनको अलोकप्रियता बढेको छ । कपनबासीलाई २ वर्षसम्म हिलैहिलो सडक उपहार दिएको भन्दै कपनबासी उनीसँग रुष्ट छन् । कपनमा स्थानीय तहमा पनि एमालेले जितेको थियो । बुढानिलकण्ठका स्थानीय नेता राजु श्रेष्ठको पनि गगनसँग राम्रो सम्बन्ध नभएकाले गगनलाई यसपटक चुनाव जित्न सहज छैन । माओवादीको भोट कम भएको र राप्रपाले गगनलाई समर्थन गरेकाले उनका सहयोगीहरु भने चुनाव जित्नेमा बिश्वस्त छन् ।

पोखरल–महत टक्कर
एमालेका प्रभावशाली नेता ईश्वर पोखरेल पछिल्लो दुई चुनावमा लगातार पराजित भएका छन् । पहिलो र दोस्रो दुवै संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ५ बाट नरहरि आचार्यसँग पराजित भएका थिए । यसपटक पोखरेलसँग कांग्रेसका प्रकाशशरण महतले प्रतिस्पर्धा गर्दैछन् । महत नयाँ उम्मेदवार भएकाले पोखरेललाई केही सहज हुन सक्छ । यही क्षेत्रबाट साझा विवेकशील पार्टीका नेता उज्जवल थापाले पनि प्रतिस्पर्धा गर्दैछन् । उनले धेरै कांग्रेसकै भोट काट्ने अनुमान गरिएको छ ।

सुवासको सिट सुरक्षित
सुवाचन्द्र नेम्वाङ इलाम–२ बाट निरन्तर जित्दै छन् । नेम्वाङसँग कांग्रेसका केशव थापाले प्रतिस्पर्धा गर्दैछन् । थापा ०७० सालको चुनावमा इलाम–३ बाट एमाले उम्मेदवार टेकबहादुर राईलाई पराजित गर्दै संविधानसभा सदस्य भएका थिए । पहिले ३ वटा निर्वाचन क्षेत्र रहेको इलाममा अहिले २ निर्वाचन क्षेत्र कायम भएको छ । बाम गठबन्धनका कारण उनलाई पनि चुनाव जित्न समस्या छैन । स्थानीय तहको निर्वाचनमा पनि उनको क्षेत्रमा एमालेले राम्रो भोट ल्याएको थियो ।

रावल र स्वाँर मैदानमा
०७० सालको दोस्रो संविधानसभा चुनावमा अछाम–१ बाट भिम रावल विजयी भएका थिए । उनी पुनः सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् । यस पटक उनीसँग प्रतिस्पर्धा गर्दैछन् कांग्रेसका भरतकुमार स्वाँरले । स्वाँर नेपाली कांग्रेस अछामका जिल्ला सभापति हुन् । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमाले र कांग्रेस दुवैको राम्रो मत आएको थियो । पार्टी र गठबन्धनबाट घात नभएको अवस्थामा उनलाई चुनाव जित्न सहज हुनेछ ।

ज्ञवाली निश्चिन्त
एमालेका सालिन र लोकप्रिय नेता प्रदीप ज्ञवाली ०७० सालको चुनावमा गुल्मी–२ बाट चन्द्र भण्डारीसँग पराजित भएका थिए । यसपटक उनी गुल्मी–१ बाट प्रतिस्पर्धा गर्दैछन् । ०७० सालमा भण्डारीले २१ हजार १ सय ८७ मत ल्याउँदा ज्ञवालीले १८ हजार ६ सय १४ मत पाएका थिए । गुल्मीमा माओवादी पनि राम्रो भोट भएकाले ज्ञवालीको बिजय निश्चित जस्तै छ ।

प्रचण्डलाई अन्तर्घातको त्रास
पहिलो संविधानसभाको चुनावमा रोल्पा–२ र काठमाडौं–१० बाट उठेका थिए । दुवै क्षेत्रमा भारी मतान्तरले बिजयी भए । दोस्रो निर्वाचनमा उनलाई ठुलै समस्या भयो । उनी काठमाडौं–१० बाट पराजित भए सिरहा–५ बाट बल्लतल्ल बिजयी भए । अहिले दुई क्षेत्रबाट चुनाव लड्न पाउदैनन् । अहिले उनी वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा चितवन–३ बाट प्रतिस्पर्धामा छन् । उनीसँग राप्रपाका विक्रम पाण्डे प्रतिस्पर्धा गर्दैछन् ।

पाण्डेले ०७० सालको चुनावमा नवलपरासी–१ र चितवन–५ बाट प्रतिस्पर्धा गरेका थिए। उनी चितवन ५ बाट बिजयी भएका थिए । चितवनमा एमालेको भोट माओवादीको भन्दा दोब्बर छ । बिक्रम पाण्डे पनि स्थानीय लोकप्रिय नेता हुन् । स्थानीय तहको निर्वाचनमा माओवादीले एमालेका देवी ज्ञवालीमाथि गरेको जालझेल बिर्सिएर एमाले कार्यकर्ताले भोट दिएमा प्रचण्डलाई समस्या छैन ।

नारायणकाजी भर्सेस बाबुराम
‘नारायणकाजी वडा अध्यक्षको लागि योग्य व्यक्ति हुन्,’ नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईको नारायणकाजी श्रेष्ठमाथिको टिप्पणी हो । कुनै समय माओवादीका खम्बा रहेका उनीहरु अहिले परम दुश्मन बन्न पुगेका छन् । दुवै जना गोरखा–२ बाट प्रतिस्पर्धा गर्दैछन् । बाबुरामले यसअघि गोरखाबाट दुई पटक चुनाव जितिसकेका छन् । नारायणकाजी नयाँ उम्मेदवार हुन् ।

२०६४ को चुनावमा गोरखा–२ र दोस्रो चुनावमा गोरखा–१ बाट विजयी भएका थिए । पहिलोमा उनले ४६ हजार २ सय ७२ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चन्द्रप्रकाद न्यौपानेले ६ हजार १ सय ४३ मत पाएका थिए । त्यतिबेला उनी सर्वाधिक मतान्तरमा विजयी नेता बनेका थिए । संविधानसभाको दोस्रो चुनावमा भने उनले २२ हजार ८ सय २४ मत पाएका थिए । तर पछिल्लो समय नयाँ शक्तिका धेरै व्यक्तिहरु माओवादी प्रबेश गरेका छन् । जसकारण बाबुराम भन्दा नारायणकाजी बलियो देखिएका छन् । कांग्रेससँग बाबुरामले तालमेल गरेपनि उनीहरुबीचको टक्कर निकै कडा हुने देखिन्छ ।

महरालाई सहज
महरा दाङ–२ बाट प्रतिस्पर्धामा छन् । पहिलो संविधानसभा निर्वाचनमा उनी दाङ–३ बाट निर्वा्चित भएका थिए । ०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा भने उनी रोल्पाबाट विजयी भए। महरासँग कांग्रेसका राजु खनालले प्रतिस्पर्धा गर्दैछन् । खनालले २०७० को चुनावमा दाङ–३ मा माओवादी उम्मेदवार निर्मल आचार्यलाई पराजित गरेका थिए । त्यस हिसाबले खनाल पनि कमजोर उम्मेदवार होइनन् ।

तर, एमालेको पनि राम्रो जनाधार भएको क्षेत्र भएकाले महरालाई सहज नै हुने देखिन्छ । त्यसैगरी जनार्दन शर्मा पश्चिम रुकुमबाट प्रतिस्पर्धामा छन् । रुकुम एउटै जिल्ला हुनुअघि उनी रुकुम २ बाट विजयी भएका थिए । उनीसँग नेपाली कांग्रेसका उम्मेदवार गोपालजीजंग शाह प्रतिस्पर्धामा छन्। शाहले शर्मासँग ०७० सालमा पनि प्रतिस्पर्धा गरेका थिए । तर, उनी झन्डै १० हजार मतान्तरले पराजित भएका थिए । उर्जामन्त्रीका रुपमा थप लोकप्रिय भएकाले शर्मापनि चुनाव जित्न गाह्रो छैन ।
-दृष्टि साप्ताहिक

4530
Shares

ट्रेन्डिङ