सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • व्यापारीको सांसद बन्‍ने सोख

व्यापारीको सांसद बन्‍ने सोख

4825
Shares
व्यापारीको सांसद बन्‍ने सोख

काठमाडौँ, कात्तिक २२ । दोस्रो संविधानसभामा सरकारले सांसद मनोनित (चौबीस जनामध्ये) गरेपछि व्यापारी अनिल रुंगटालाई राजनीतिको यस्तो चस्का लाग्यो, उनी यसपालि कांग्रेसको टिकटमा पर्सा-१ मा प्रतिनिधि सभाको उम्मेदवार भएका छन् । कांग्रेसको समानुपातिकतर्फको सूचीमा रहेको आफ्नो नाम हटाउन लगाएर उनी प्रत्यक्षमा जोखिम मोलिरहेका छन् ।

डन्डी, पाइपलगायत फलामजन्य उद्योगमा जमेका रुंगटालाई राजनीतिको चस्का किन त ? राजनीतिको चस्का विद्यार्थीकालमै लागेको उनी सम्झिन्छन् । वीरगन्जमा पढ्दा नेपाल विद्यार्थी संघको झन्डा बोकेर हिँडे पनि पढाइ सकाएपछि व्यापार सम्हाल्नमै व्यस्त हुनुपरेको थियो । ‘पूर्णकालीन कांग्रेसी बन्न नभ्याए पनि पार्टीमै थिएँ’, उनी भन्छन्, ‘परेका बेला आर्थिक सहयोगमात्र होइन, सक्रिय भएर लाग्थेँ ।’ चार वर्षअघि शेरबहादुर देउवाको कोटामा सांसद मनोनित भएपछिचाहिँ पूर्णकालीन कांग्रेसी भए, देउवाको निकटस्थका रूपमा चिनिए ।

रुंगटाजस्तै व्यापार पृष्ठभूमि भएका धेरै राजनीतिमा हाम्फालेका छन् । पैसा कमाएपछि राजनीतिमा लाग्ने प्रवृत्ति संसारैभर देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि राजनीतिमा सक्रिय हुनुअघिको पहिचान अर्बपति हो । यहाँ २०६२/६३ को राजनीतिक परिवर्तनपछि समानुपातिकबाट सांसद हुन पाउने भएपछि धनाढ्यको सांसद हुने मोह छर्लंग देखिएको थियो । सांसद भएका/हुन चाहेकामा दुईथरी छन् ।

एकथरी व्यापारमार्फत सम्पत्ति आर्जन गरिसकेपछि प्रतिष्ठाका लागि सांसद बन्न चाहने, दोस्रो राजनीति र व्यापारलाई सँगै अघि बढाइरहेका छन् । राजकुमार अग्रवालमा राजनीति गर्छु भन्ने नै थिएन । दोस्रो संविधानसभा चुनावका बेला उनमा सांसद हुने हुटहुटी एक्कासि जाग्यो । व्यापारको विरासत दुई छोरामा हस्तान्तरण गर्दै गएका उनी सांसद बन्दैमा व्यापार बिग्रिनेवाला पनि थिएन ।

तत्कालीन राप्रपा (नेपाल) को समानुपातिक सूचीमा नाम पारे, कमल थापालाई पट्याएर सांसद पनि भइहाले । ‘संविधानमा मेरो पनि हस्ताक्षर हुन्छ भन्ने कुराले संविधानसभासम्म पुगें’, उनी भन्छन्, ‘मारवाडी समुदायको हकहितका कुरा बोल्न सकिन्छ भन्ने पनि थियो ।’ उनको दुवै चाहना पूरा भएको छ- संविधान बन्यो, मारवाडी समुदायले विभेद महसुस गर्नपर्ने अवस्था छैन ।

चार वर्षअघि कांग्रेसको समानुपातिक सूचीमा परे पनि सांसद नबनाइएका उद्योगी शशिकान्त अग्रवालका अनुसार पैसा कमाउनुको कुनै सीमा हुन्न । तर पैसा एउटा हदमा पुगेपछि मान्छेमा थप सामाजिक प्रतिष्ठा/पहिचानको भोक पनि जाग्छ । उनी त्यही भोकका कारण सांसद बन्न चाहेका थिए । ‘चार वर्षअघिको तीतो अनुभवका कारण यसपालि रुचि देखाइनँ’, उनी सुनाउँछन् । सांसद भएका/हुन चाहने दुईथरी छन् । एकथरी व्यापारमार्फत सम्पत्ति आर्जन गरिसकेपछि प्रतिष्ठाका लागि सांसद बन्न चाहने, दोस्रो राजनीति र व्यापारलाई सँगै अघि बढाइरहेका छन् ।

प्रभु समूहका देवी भट्टचनमा राजनीतिको सोख धन कमाएपछि पलाएको होइन । उनी राजनीति गर्नेकै परिवारमा जन्मिए/हुर्किए । २०४८ सालकै चुनावमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । २०४९ सालमा त जिल्ला विकास समितिको सदस्य भए । ‘पूर्णकालीन व्यापारी त २०५३ सालदेखि भएको हुँ’, उनी भन्छन् । त्यसबेला राजनीति गरेर काम छैन भनेर पूर्णकालीन व्यापारी भए पनि उमेर ६० पुग्न लाग्दा पुनः राजनीतिको पुरानो चस्का उनमा सवार भएको छ । ‘प्रत्यक्षमा चुनाव लड्न डराएर समानुपातिकमा नाम पारेको होइन’, भन्छन्, ‘यसमा पर्न पैसा खर्च गरेको पनि छैन ।’ आफ्नो ठाउँको विकासमा योगदान गर्न सकिन्छ भनेरै सांसद हुन चाहेको उनी बताउँछन् । व्यापारीकै रूपमा सांसदभन्दा प्रतिष्ठा कमाइसकेकाले प्रतिष्ठाका लागि सांसद बन्न आफूलाई जरुरत नरहेको उनको भनाइ छ ।

‘आफ्नो जीवनकालमा समृद्ध नेपाल देख्ने मेरो सपना हो’, कांग्रेसको समानुपातिक सूचीमा परेपछि विज्ञप्तिमार्फत अर्बपति विनोद चौधरीले भनेका थिए, ‘यसलाई तपाईं हामी सबैले हाम्रो साझा एजेन्डा बनाउनुपर्छ र यसका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्छ, सपना साकार पार्न म आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्नेछैन ।’ आर्थिक एजेन्डालाई केन्द्रमा राख्ने राजनीतिको सुरुवात गर्न सकिन्छ कि भनेर आफू दोस्रो संविधानसभामा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मार्फत छिरेको उद्योगी पवनकुमार सारडा बताउँछन् ।

रहर र सोखले नभई केही योगदान गर्न सकिन्छ भनेर राजनीतिमा चासो राखेको एमालेको समानुपातिक सूचीमा रहेका मोतीलाल दुगड बताउँछन् । अर्थतन्त्र खस्किरहेको बेला ‘भिजन’ भएका व्यवसायीले योगदान गर्ने उनको भनाइ छ । रुंगटाका अनुसार उदार अर्थतन्त्र, स्थिरता, आर्थिक विकासका बारे व्यापारीलाई व्यावहारिक ज्ञान हुन्छ । सांसदका रूपमा यस्तो ज्ञान सेयर गरी योगदान गर्न सकिने रुंगटा बताउँछन् । ‘पेसेबर नेतामात्र भएको संसद् कल्पना गर्न सकिन्न’, उनी थप्छन्, ‘सबै जात, धर्म, पेसा, व्यवसायको साझा फूलबारी हुनुपर्छ संसद् ।’ यसअघि कांग्रेसको कोटामा मनोनित र यसपालि कांग्रेस समानुपातिक सूचीमा रहेका उमेश श्रेष्ठ पनि ‘केही लिन नभई दिनका लागि’ दोहोर्‍याएर सांसद बन्न मन लागेको बताउँछन् ।

पैसाको चलखेल र दल बदलु प्रवृत्ति
यसअघि दुइटै संविधानसभामा एमालेको समानुपातिक सूचीबाट सांसद भएका विनोद चौधरी यसपालि कांग्रेसको सूचीमा छन् । चौधरीले लोकतान्त्रिक शासन पद्धति र उदार अर्थतन्त्र विवादरहित भएको भन्दै यही बाटोमार्फत आर्थिक समृद्धिको अभियानमा सामेल हुन आह्वान गरेपछि कांग्रेस बनेको कुरा विज्ञप्तिमार्फत जनाएका छन् । पञ्चायती राजनीतिमार्फत पोखरा नगरपञ्चायतको प्रधानपञ्च भएका सूर्यबहादुर केसी यसअघिको संविधानसभामा राप्रपाबाट समानुपातिक सासंद थिए, यसपालि कांग्रेसको सूचीमा छन् । आर्थिक उदारीकरणमा कांग्रेसको जस्तो अडान अरू पार्टीमा नभएकाले कांग्रेसी बन्न परेको उनको तर्क छ । सद्भावना पार्टीबाट पहिलो संविधानसभामा छिरेका मोतीलाल दुगड दोस्रो संविधानसभामा नवनेपाल निर्माण पार्टी गठन गरी चुनामा होमिए, यसपालि एमालेको समानुपातिक सूचीमा छन् ।

‘अध्यक्ष सरिता गिरीसँग मतभेद भई पार्टी परित्याग गरें, पार्टी संस्थागत हुन नसकेपछि नवनेपाल निर्माण पार्टीलाई एमालेमा विलय गराएको हुँ’, दुगड भन्छन् । चुनावभन्दा अघि नै पार्टी विलय गराई एमालेको आर्थिक सल्लाहकार समितिमा रही काम गरिरहेकाले दल नबदलेको उनको दाबी छ ।  समानुपातिक सूचीमा पर्न पैसाको ‘बार्गेन’ नगरेको दुगडको दाबी छ । ‘पैसा मागेकै छैन’, उनको दाबी छ, ‘पार्टी विलय गराई आर्थिक सल्लाहकार समितिमा रहेका कारण सूचीमा पारिएको हुनपर्छ ।’ भट्टचन आफूसँग कसैले चन्दा माग्ने नै नगरेको दाबी गर्छन् । पार्टीको बफादार र व्यापारी भएको नाताले पार्टीलाई सहयोग स्वाभाविक भएको रुंगटा बताउँछन् । ‘तर सांसद र टिकटका लागि पैसा लेनदेन गरेको छैन’, उनी थप्छन् ।

व्यापारीले सांसद पद/टिकट किन्ने गरेको आरोप छ । पैसाको लोभमा व्यापारीलाई टिकट वा समानुपातिक सूचीमा पर्दा पार्टीमा लामो समय पूर्णकालीन भएर काम गरेकै नेता मौका पाउनबाट वञ्चित हुन्छन् । प्रत्येकजसो पार्टीले केही न केही धनाढ्य व्यापारीलाई टिकट दिएका वा समानुपातिकमा पारेका छन् । माओवादी-केन्द्रबाट ठेकेदार शारदाप्रसाद अधिकारी समानुपातिक सूचीमा छन् ।

संसदमा व्यापारीका आवाज सुनिँदैन
पूर्वसांसद सारडा आर्थिक एजेन्डा प्रमुख हुँदै गएकाले आफ्नो कार्यकाल सफल भएको ठान्छन् । नेताको भाषणमा वादको सट्टा आर्थिक समृद्धिका शब्दले प्राथमिकता पाउन थालेका छन् । ‘प्रधानमन्त्री स्वयंले उद्योगी व्यवसायीलाई राजनीतिमा आउनुुस, राष्ट्र निर्माणमा संलग्न हुनुहोस्, आर्थिक समृद्धिका लागि निजीक्षेत्रले नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्नुभएको छ’, उनी थप्छन्, ‘राजनीतिज्ञमा यस्तो महसुस हुनु ठूलो उपलब्धि हो ।’

औद्योगिक ऐन र कम्पनी ऐन आफ्नै संयोजकत्वमा बनेको बताउने रुंगटा श्रम ऐनमा पनि आफ्नो अनुभव काम लागेको बताउँछन् । पार्टीमा खासै हैसियत नहुने सांसदले खासै केही गर्न नसक्ने व्यापारी पूर्वसांसदको अनुभव छ । शिक्षामै जिन्दगी बिताएका कारण शिक्षासम्बद्ध समितिमै बसेर काम गर्दा पनि आफ्नो कुरा नसुनिएको श्रेष्ठ सुनाउँछन् । उनले शिक्षा विकासको भिजन नै प्रस्तुत गरेका थिए, तर १० प्रतिशत पनि काम अघि बढेन । कानुन निर्माता भनिए पनि कानुन निर्माणमा माथिका एकाध नेताकै निर्देशन चल्ने रहेछ भन्ने अग्रवालको अनुभव छ ।

कन्फ्लिक्ट अफ इन्ट्रेस्ट देखियो
प्रा. कृष्ण खनाल
पैसा कमाएपछि राजनीतिमा रुचि अस्वाभाविक हैन । संसारभरि यस्तो प्रवृत्ति देखिन्छ । राजनीतिमा हाम्फालेका कतिपय ठूला व्यापारीले देशको शासनसत्ताको नेतृत्व पनि पाउन सफल भएका छन् । संसद्मा धेरै जात, धर्म, पेसा, व्यवसायको प्रतिनिधित्व हुनु राम्रो पनि हो । यहाँ व्यापारीको ससंद् प्रवेश अस्वाभाविक होइन ।

तर व्यापारीलाई संसद्मा पुर्‍याएपछि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन नदिनमा नेतृत्वले विचार पुर्‍याएको पाइएन । सांसद्ले त जहाँ काम गर्न हुन्न, त्यहीँ काम गरेको पाइयो । बैंकमा लगानी भएका सांसद बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा काम गर्ने, शिक्षा व्यवसायबाट आएकाले शिक्षा ऐन मस्यौदा गरेको देखियो ।
बधाईको ओइरो

मोतीलाल दुगड, अध्यक्ष, एमभी दुगड ग्रुप
सेन्चुरियन ग्रुपका मोतीलाल दुगड प्रतिनिधि सभाको निर्वाचनमा एमालेको समानुपातिक सूचीमा परेपछि मलाई बधाईको ओइरो आयो । दुवैजना व्यवसायी, नाम पनि ठ्याक्कै मिल्यो । मलाई समानुपातिकमा परेको भन्ठानेर शुभचिन्तकबाट बधाई दिन धेरै फोन आउँछन् । म सबैलाई भन्छु, समानुपातिक सूचीमा परेको मोतीलाल दुगड म होइन । मैले स्पष्ट पारेपछि अहिले चाहिँ फोन आउन कम भइरहेको छ ।

नाम जुरेपछि अन्योल हुँदो रहेछ । व्यवसायी समानुपातिक सूचीमा परेको कतिपयले खराब रूपमा लिने रहेछन् । केहीले राम्रो पनि भन्दा रहेछन् । तर, राम्रो रूपमा लिने कमै हुँदा रहेछन् । ‘पार्टीलाई पैसा दिएर माननीय बन्न खोजेको, पैसाले सांसद पद किन्न लागेको’जस्ता अनेकौं आरोप सहनुपर्ने रहेछ । म नउठेर पनि यस्ता आरोप सहिरहेको छु ।

मोतीलाल दुगड चुनाव उठेको समचारमा मेरै फोटो देख्छु । मिडियाले पनि अन्टसन्ट लेखिदिएका हुन्छन् । अझ अनलाइन पोर्टलमा बढी मेरो फोटो राखेर समचार हालेको देख्छु । साथीभाइले फलानो मिडियाले तेरो नराम्रो लेखेछ भनेर सुनाउँछन् । कतिपय मिडियामा ‘धनवाण’ राखेको फोटो पनि देखियो, जसले पैसा दिएर सांसद बन्न लागेको भन्ने बुझाउँथ्यो । एउटा मिडियाले दीपक मनाङेलगायत उम्मेदवारसँग मेरो फोटो पनि जोडेर नराम्रो समाचार छापिदिएछ । समाचारको तात्पर्य थियो, यस्ता खराब मान्छेलाई पनि पार्टीले टिकट दियो ।
-अन्नपूर्ण पोष्ट

4825
Shares

ट्रेन्डिङ