सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सरकारले कार्यकर्तालार्इ बाँड्यो १६ करोड

सरकारले कार्यकर्तालार्इ बाँड्यो १६ करोड

3205
Shares
सरकारले कार्यकर्तालार्इ बाँड्यो १६ करोड

मंसिर १४,काठमाडौं । निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताको नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ वितरण गरेको छ । यो बितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई वितरण गरेको रकममात्र हो । सरकारबाट आर्थिक सहायताको नाममा रकम बुझ्ने कार्यकर्ताले औषतमा एकजनाले एक लाख २३ हजार ४ सय ३५ रुपैयाँ बुझेका छन् ।

‘सीधै मन्त्रिपरिषद्ले यतिजनालाई यतियति रकम दिनू भनी निर्णय गरी पठाउँछ, जसलाई हामी रोक्न सक्दैनौं,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘हामीले मन्त्रिपरिषद्को निर्णयअनुसार रकम दिनू भनी सम्बन्धित मन्त्रालयलाई तोकेअनुसारको रकम निकासा गरिदिन्छौं ।’

पछिल्लो तीन महिनामा सरकारले आर्थिक सहायताका नाममा १५ करोड ७७ लाख ५० हजार रुपैयाँ एक हजार २ सय ७८ जना कार्यकर्तालाई दिने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार यो रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयको नाममा निकासा गरिसकेको छ । ‘यस्तो रकम छिटो निकासा गराउन यति धेरै बिचौलिया मन्त्रालय आउँछन्, सरकारले दिने भनी निर्णय गरेको व्यक्तिले पनि उक्त रकम पाउँछ कि पाउँदैन भन्ने शंकै लाग्छ,’ स्रोतले भन्यो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भइसकेपछि पनि सरकारले आर्थिक सहायताका नाममा कार्यकर्तालाई रकम दिने निर्णय गर्नुको साथै वितरण पनि गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिता असोज २४ गतेबाट लागू भएको थियो । सरकारले कात्तिक ६ गते ३ सय १० जनालाई ४ करोड ५७ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यसपछि गृहले कात्तिक ११ गते उक्त रकम अर्थ मन्त्रालयसँग माग गरेको थियो । अर्थले पनि तुरुन्तै उक्त रकम गृहको नाममा निकासा गरिदिएको थियो ।

‘कार्यकर्तालाई आर्थिक सहायताको नाममा रकम बाँड्ने कार्य नियमित प्रक्रियाजस्तै भइसक्यो । यसलाई रोक्न कसैले पहल गरेको छैन । मन्त्रिपरिषद्को निर्णयलाई मन्त्रालयले रोक्न सक्दैन । त्यसैले यस्तो प्रस्ताव सीधै मन्त्रिपरिषद्मा लग्ने गरिन्छ,’ स्रोतले भन्यो ।

सरकारले असोजमा मात्र आर्थिक सहायताको नाममा ८ सय ७८ कार्यकर्तालाई ८ करोड ६२ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । यो निर्णय असोज २० को मन्त्रिपरिषद् बैठकले गरेको थियो । यसलगत्तै असोज २२ गते गृहले उक्त रकम अर्थसँग माग गरेको थियो । अर्थले उत्तिखेरै रकम निकासा गरिदिएपछि गृहले दलका कार्यकर्तालाई उक्त रकम वितरण गरेको थियो ।

3205
Shares

ट्रेन्डिङ