सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बेलायती राजदरबारले एडवार्डलाई बदल्यो, ह्यारीले दरबार बदलिदिए

बेलायती राजदरबारले एडवार्डलाई बदल्यो, ह्यारीले दरबार बदलिदिए

4300
Shares
बेलायती राजदरबारले एडवार्डलाई बदल्यो, ह्यारीले दरबार बदलिदिए

सन् १९३६ को कुरा हो, बेलायती राजा एडवार्ड आठौं प्रेममा थिए, एक अमेरिकी ‘डिभोर्सी’ सँग।दरबारले एडवार्डलाई गैरबेलायती र डिभोर्सी प्रेमिकासँग विवाह गर्न अनुमति दिएन। एडवार्डले प्रेमिका र राजपाठमध्ये एउटा छोड्नुपर्ने भयो।
उनले राजपाठ त्याग
राजगद्दी छाडेर फ्रान्स निर्वासनमा गएका उनले १९३७ मा प्रेमिका वालिस सिम्पसनसँग विवाह गरे।
एडवार्डले आफूले मन पराएकी महिलासँग विवाह गर्न राजपाठ त्याग्नुपरेको ८१ वर्षपछि बकिंघम दरबार अमेरिकी महिलालाई राजकुमारी बनाउन राजी भएको छ।
गत सोमबार बेलायती राजपरिवारले राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेघन मार्कलको ‘इन्गेजमेन्ट’ भएको र उनीहरूको आउने बसन्तमा विवाह हुने जनाएको छ। राजपरिवारको यो निर्णयले बेलायती मिडियामा ठूलो चर्चा पाएको छ।
ह्यारी र मेघन ‘डेटिङ’ जान थालेको त्यतिबेला सार्वजनिक भएको थियो, जतिबेला कुनै समय घाम नअस्ताउने साम्राज्य बनेको बेलायत युरोपियन युनियनबाट समेत छुट्टिने निर्णयमा पुगिसकेको थियो।
उग्रराष्ट्रवादको हावा चलिरहेको बेला राजकुमार ह्यारीको प्रेमसम्बन्ध सुनेर धेरैले जिब्रो टोकेका थिए। किनकि, ह्यारीसँग डेट जाने मेघन न बेलायती थिइन् न त उनको परिवार सम्भ्रान्त गोरा थियो।
मेघनका आमातिरका पुर्खा दास बनेर अमेरिका पुगेका थिए।
लैंगिक समानता र मानवीय सहायतामा पनि संलग्न मेघन तीन वर्षअघि सम्बन्धविच्छेद गरेर बसेकी थिइन्।
उनी ह्यारीभन्दा तीन वर्ष जेठी हुन्। गैरबेलायती, गैरगोरी र डिभोर्सी मेघनसँग प्रेम गरे पनि राजकुमार ह्यारीले विवाह नै गर्छन् वा राजपरिवारले अनुमति दिन्छ भन्नेमा धेरैलाई विश्वास थिएन।
बेलायती राजपरिवारले धेरैको त्यो अविश्वासलाई गलत साबित गरिदियो।
ह्यारी र मेघनबीच विवाह नै हुने भएपछि यसले झन् ठूलो चासो बढाएको छ।
मेघन बेलायतकी महारानी हुने सम्भावना लगभग छैन, किनकि राजा हुने क्रममा ह्यारी पाँचौं नम्बरमा छन्।
उनी रानी हुने सम्भावना नभए पनि बकिंघम प्यालेसमा उनको प्रवेशले विभाजित विश्वलाई एक गहिरो सन्देश दिएको छ। बेलायती राजपरिवारकी सदस्य बन्ने मेघन पहिलो गैरगोरी महिला हुनेछिन्।
यसअघि सामान्य परिवारकी क्याथरिनले बेलायती राजपरिवारमा प्रवेश पाएकी थिइन्। राजकुमार विलियम र क्याथरिनको सन् २०११ मा विवाह भएको थियो।
नाइजेरियन मूलकी बेलायती लेखक इरेनोजेन ओकोजीलाई परम्परागत रूपमा चल्ने बेलायती राजपरिवारबारे कहिल्यै चासो भएन। तर गत वर्ष जब राजकुमार ह्यारीको प्रेम सम्बन्धबारे उनले थाहा पाइन्, त्यसपछि पनि बेवास्ता गरिरहन सकिनन्।
ह्यारी र मेघनको इन्गेजमेन्टपछि उनले न्यूयोर्क टाइम्समा लेखेकी छन्, ‘ब्रेक्जिटपछि र ट्रम्पले अमेरिका हाँकिरहेको अनि सबैतिर जातीय अपराध, घृणा र डर फैलिरहेको समयमा राजकुमार ह्यारी र मेघनको मिलन साहासिक प्रतिरोध हो।’
ह्यारी त्यस्ता राजकुमार हुन् जो आफ्नो कामलाई गम्भीरतापूर्वक लिन्छन् तर आफू कहिल्यै गम्भीर हुँदैनन्। ओकोजीका विचारमा मेघनसँग विवाह गर्ने निर्णय गरेर ह्यारीले संकुचित हुँदै गएको दुनियाँका लागि खुलापनको गहिरो सन्देश दिएका छन्।
न्यूयोर्क टाइम्सले यो इन्गेजमेन्टलाई ‘सिम्बोलिक’ घटना भनेको छ। बेलायती राजपरिवार आधिकारिक रूपमै २१ औं शताब्दीमा प्रवेश गरेको रूपमा अथ्र्याएको छ।
धेरैका लागि ह्यारी र मेघनको इन्गेजमेन्ट जातीयता र आप्रवासीका विषयमा विभाजित संसारमा खुलापन र समावेशिताको उदाहरण बनेको छ।
बेलायती सांसद डेभिड लाम्मीले ह्यारी र मेघनको इन्गेजमेन्ट आधुनिक बेलायतका लागि ऐतिहासिक क्षण भएको बताए। ‘यो अल्पसंख्यक जातीय समुदायका लागि हृदय छुने क्षण हो र यसले सन् २०१७ का काला बेलायती हुनुको अर्थ के राख्छ भन्ने धेरै बलियो सन्देश दिएको छ,’ ल्यामीले भने।
-सेतो पाटी बाट

4300
Shares

ट्रेन्डिङ