सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मानवअधिकारको सवालमा राज्य उदासिन रहेको छ : अध्यक्ष चौहान

मानवअधिकारको सवालमा राज्य उदासिन रहेको छ : अध्यक्ष चौहान

3620
Shares
मानवअधिकारको सवालमा राज्य उदासिन रहेको छ : अध्यक्ष चौहान

सुनिल श्रेष्ठ,

पर्सा , पुष , ११ ,    पर्सामा ६९ वटा विभिन्न मानव अधिकारका उल्लंघनका घटनाहरु भएको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको नेपाल मानवअधिकार बर्ष पुस्तक २०२० को बार्षिक पूर्व समिक्षामा गोष्ठीमा यो तथ्य सार्वजनिक गरिएको हो ।

मानवअधिकार निगरानी समूह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा सो समिक्षा गोष्ठी सम्पन्न भएको थियो । इन्सेक पर्साका प्रतिनिधि के.सी. लामिछानेले तथ्यांक सार्वजनिक गर्दै पर्सामा २०७५ पुस १८ गतेदेखि ०७६ पुष १० गते सम्म सबैभन्दा बढी बलात्कारको घटना भएको जानकारी गराउनुभयो । सार्वजनिक गरिएको तथ्यांक अनुसार पाँच बर्षदेखि १८ बर्षमुनिका बालिका बलात्कारको २५ वटा, १९ बर्षदेखि माथिका १८ वटा बलात्कारको घटना भएको, ८ वटा आफन्तजन र परिवारजनबाटै हत्या भएको, बाल यौन दुर्व्यवहारका दुईवटा, हत्या प्रयास १ र अपहरणको १, प्रहरीको गोली प्रहारको २, मानव बेचविखनको ४, एसिड प्रहारको १ र बहुविवाहमा ६ वटा घटना भएको अभिलेख इन्सेकमा रहेको प्रतिनिधि लामिछानेले बताउनुभयो ।

इन्सेकको अभिलेखमा छुवाछुतको घटना भने अभिलेखिकरण भएको छैन । सो गोष्ठीमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले ९४ प्रतिशत अनुसन्धानमा नेपाल प्रहरी सफल भएको दावी गर्नुभयो । अपराधको घटना दर्ता हुदैमा अपराधमा वृद्धि भएको भन्न नमिल्ने बताउदै उहाँले यसमा घटना उजागर भएको भन्ने कोणबाट पनि हेर्नुपर्ने बताउनुभयो । पर्सा जिल्ला खुला सीमाका कारणले निकै अपराध नियन्त्रणमा निकै चुनौती रहेको बताउदै अपराध गरेर भाग्न सजिलो भएकोले कारवाहीको दायरामा ल्याउन समस्या हुने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले मानवअधिकारको सवालमा राज्य उदासिन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस कार्यान्वयन नहुनु दुःखद भएको बताउनुभयो ।

समाजमा हुने विभिन्न किसिमका मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गरेको भन्दै इन्सेकले गरेको कामको प्रशंसा गर्नुभयो । कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु, मानवअघिकार संगठन पर्साका सचिव शिवनाथ यादव लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण इन्सेक पर्साका प्रतिनिधि के.सी. लामिछानेले गर्नुभएको थियो ।

3620
Shares

ट्रेन्डिङ