सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विमान र गाडी नचल्दा पेट्रोलियम पदार्थ छेलोखेलो !

विमान र गाडी नचल्दा पेट्रोलियम पदार्थ छेलोखेलो !

14715
Shares
विमान र गाडी नचल्दा पेट्रोलियम पदार्थ छेलोखेलो !

चैत, २१, काठमाडौं । लकडानका कारण लामो समयसम्म मोटर तथा हवाई यातायात ठप्प भएपछि १७ सय ट्याकंर, १४ सय पेट्रोल पम्प र निगमका सबै भण्डारण केन्द्रहरु इन्धनले भरिएका छन् ।

देशभर रहेका सबै केन्द्रीय तथा क्षेत्रीय भण्डारण केन्द्र, सबै पेट्रोल पम्प र ९५ प्रतिशत ट्याकंरमा डिलेज, पेट्रोल, हवाई इन्धन भण्डारण भइसकेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले अनलाइनखबरलाई बताए ।

अहिलेसम्म भएको मौज्दातका कारण अब तेलको आपूर्ति व्यवस्था ठप्प रोकिए पनि लकडाउन खुलेपछि कम्तिमा १० दिनसम्म इन्धनको अभाव नहुने उनले बताए ।

बिहीबार साँझसम्म निगमका देशैभरको डिपोहरुको भण्डारण औषत ८० प्रतिशतभन्दा धेरै रहेको निगमका प्रवक्ता विनीतमणि उपाध्ययले बताए ।

उपाध्यायका अनुसार चैत्र ११ गते देखिको देशब्यापी लकडाउनका कारण निगमको मट्टीतेल, डिजेल, पेट्रोल तथा हवाई इन्धनको बिक्री अत्यन्तै न्यून छ । निगमको थानकोटसहितका १३ डिपोमा गत शनिबार साँझसम्म नै भण्डारण पूर्ण भएको थियो भने मंगलबारदेखि ट्यांकर तथा निजी डिपोको भण्डारण क्षमता सकिएको निगमले जनाएको छ ।

पेट्रोलको कुल भण्डार क्षमताको ९६, डिजेलको ९७, हवाइ इन्धनको ९८ र मट्टीतेलको भने खपत कम भएकाले ५७ प्रतिशत मात्रै भण्डारण गरिएको निगमले जनाएको छ । पेट्रोलको भण्डार क्षमता ८ हजार ६ सय ३२ किलोलिटर रहेकोमा हालसम्म ७ हजार ४९४ किलोलिटर भण्डारण भइसकेको छ ।

४५ हजार ५३४ किलोलिटर भण्डारण क्षमता रहेको डिजेल पनि ४० हजार ९८१ किलोलिटर भण्डारण सकिएको छ । मट्टीतेल भण्डारण क्षमता ५ हजार ६८ किलोलिटर भए पनि २ हजार ५ सय ९३ किलोलिटर भण्डारण सकिएको छ ।

आठ हजार ६५ किलोलिटर भण्डारण क्षमताको हवाइ इन्धन ७ हजार ९७ किलोलिटर भण्डारण भइसकेको निगमले जनाएको छ ।

मौज्दात राख्न सकिने सबै ठाउँ भरिएपछि इन्धन आयात गर्न जानै नसक्ने अवस्था बनेको निगमले जनाएको छ । वीरगञ्ज भएर रक्सौलमा दैनिक २ सय ट्याकंर तेल लिन जाने गरेकोमा अहिले हप्ता दिनमा मुस्किलले दुई दर्जन हाराहारी मात्रै ट्याकंर पठाउन सकिएको निगमले जनाएको छ ।

पाइपलाइनबाट आउन छाड्यो तेल

सबै भण्डारणहरुमा तेल भरिएपछि मोतिहतरी अमलेखगञ्ज पाइपलाइनबाट डिजेल ल्याउन छोडिएको छ । अमलेखगञ्जको सबै भण्डारण ट्यांकीहरुमा तेलभरि अवस्थामा रहेको निगमको अम्लेखगञ्ज डिपो प्रमुख भरत रेग्मीले जानकारी दिए । ‘पाइपलाइनबाट एक घण्टामा एक लाख ८० लिटर तेल आउँछ, हामीसँग करिब १० लाख लिटर अट्नेगरी ठाउँ खाली भएपछि पाइपलाइन चलाउँछौं,’ रेग्मीले भने ।

कोरोना (कोभिड–१९) प्रकोपका कारण संसारभर तेलको खपत अत्यन्तै न्यून अवस्थामा पुगेको छ । भारतले आफ्नो सबै भण्डारण भरिए पछि तेल प्रशोधन बन्द गरिसकेको छ । खपत घटेसँगै अन्तराष्ट्रिय बजारमा तेलको मूल्य १८ वर्ष यताकै सस्तो विन्दुमा पुगेको थियो ।

गत सोमबार कच्चा तेललाई रिफाइन गर्ने ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल २२.५८ डलरमा झरेको थियो, जुन सन् २००२ नोभेम्बर यताकै सस्तो हो । तर, अहिले मूल्यमा थोरै बदलाव देखिएको छ । शुक्रबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल २९.९४ डलर छ ।

-अनलाइन खबर

14715
Shares

ट्रेन्डिङ