सबैको समाचार
शुक्रबार, साउन ३०, २०७७
  • होमपेज
  • कोरोना र आत्मघाती गोल (बिचार )

कोरोना र आत्मघाती गोल (बिचार )

कोरोना र आत्मघाती गोल (बिचार )
  • सरोज कुइँकेल

कोभिड–१९ का कारण नेपालमा ९ जनाको मृत्यु हुनुका साथै २ हजार तीन सय जना व्यक्ति त्यसको संक्रमणमा परिसकेका छन् । चीनको वुहान शहरबाट देखापरेको यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या विश्वमा लाखौं पुगिसकेका छन् भन्ने संक्रमितको संख्या दिनानुदिन बढेरै गएको छ ।

जहाँबाट यो घातक भाइरसको संक्रमण देखाप¥यो त्यस देशले यस उपर विजय हात पारी सक्यो । तर, अरू मुलुकहरू भने यसको संक्रमण रोक्न असफल भइरहेका छन् । विश्वको महाशक्ति राष्ट्र अमेरिकामा फैलिएको कोभिड–१९ को संक्रमण रोक्न सो मुलुकसमेत असमर्थ भइरहेको छ । कोरोना भाइरसको संक्रमणको गतिलाई सामान्य ठान्दा संक्रमितहरूको मुलुकले अहिले ठूलो मूल्य चुकाउनु परेको छ । सम्पन्न भनिएका मुलुकहरूले समेत ठूलो संख्यामा संक्रमितहरू देखिनु र मानवीय क्षति व्यहोर्न पुग्दा यतिखेर चुकचुकाउनु परिरहेको छ ।

हाम्रो छिमेकी मुलुकबाट फैलिएको कोरोना भाइरस हाम्रो अर्काे छिमेकी मुलुकसम्म आइपुग्दा अत्यन्त भयावह बनेर फैलिरहेको छ । यसको निरूपणको सन्दर्भमा चीनले जति कठोर र कडाइका साथ आफ्नो दायित्वलाई बहन गर्न सक्यो भारतले सकेन । चीनले जसरी स्वास्थ्य जाँच र स्वास्थ्य उपचार सेवा सुविधाको व्यवस्थापन गर्न सक्यो भारतले सकेन ।

यसमा सम्बन्धित देशको नेतृत्व क्षमता, कौशल र आर्थिक हैसियत मात्र कारण भने होइन । मेरो विचारमा चीनले प्राप्त गरेको सफलतामा त्यहाँको राजनीतिक व्यवस्था पनि महत्वपूर्ण पक्ष रह्यो भन्ने मेरो तर्क हो र भारतको असफलतामा पनि त्यहाँको नेतृत्वको असक्षमता, कौशलहिनता र आर्थिक हैसियत नभएर पटक्कै होइन । भारतको राजनीतिक व्यवस्था लोकतन्त्र शुन्य रहेको ठान्ने पश्चिमा लोकतन्त्रवादी मुलुकको बुझाईलाई मानेर हेर्दा निश्चित रूपमा चीनमा आवधिक निर्वाचन लगायतका लोकतान्त्रिक पद्धतिहरू लागू गरिएको देखिँदैन । जुन कुरा भारतमा पर्याप्त रूपमा अभ्यास गरिनुका साथै त्यसकै धरातलमा राज्य व्यवस्था सञ्चालन हुने गर्दछ । यस हिसाबले भारत र चीनको राज्य सञ्चालनको विधि विधान भिन्न छ भनेर सहजै भन्न सकिन्छ ।

लोकतान्त्रिक मुलुकको राजनैतिक नेतृत्वले लिने निर्णय सधैं उदार प्रकृतिको हुने भएकाले अरू सामान्य अवस्थामा त्यो सुपाच्य भएपनि अहिलेको जस्तो संवेदनशील घडीमा कामै नलाग्ने र अलोकप्रिय बनेको छ । जस्तो कि लकडाउनको समयावधी बढाउने काम नै कोरोना नियन्त्रणको अचूक उपाय भए जसरी प्रचार गरिनु । अर्काे, विकल्प नभएर स्वदेश फर्क सक्ने भारत लगायत विदेशमा रहेका नेपालीहरूका बारे स्वदेशमा ल्याएर व्यवस्थापन गर्ने बारे नसोची जहाँ छौं त्यहीँ बस भन्ने उत्तर दायित्वविहिन सहज निर्णय गरिनु ।

क्वारेन्टाइन नाम मात्रको बनाएर स्वास्थ्य सुविधाको सामान्य व्यवस्था समेत नगरी के के न तयारी गरेको छौं भन्ने हौवा पिटाएर मस्तसँग बस्नु । अर्को महामारीको अवस्था जटिल बनिसकेपछि पुरानो निर्णय केर्दै विदेशमा भएका नागरिक स्वदेश ल्याउने निर्णय गरिनु र त्यसमा पनि बिना तयारी र योजना भारतबाट आउने नागरिकलाई स्वदेश भित्र्याउन जस्ता विषय तथ्यगत र आवश्यकता अनुरूप छैन ।

यदि आवश्यक थियो भने पहिले नै निर्णय गर्नुपर्ने खालको विषय थियो, जसलाई यो सरकार स्वीकार गर्न चाहँदैन । आफ्नो ठम्याई भन्दा पनि अरूले के गर्छन् अनि गरौंला भन्ने फोटोकपी सोचबाट परिचालित हाम्रो नेतृत्वको अदुरदर्शिताका कारण मुलुकमा भयावह अवस्था आउन लागेको आभाष भइरहेको छ ।

“समस्याको वस्तुगत अध्ययन अनुसन्धान र विश्लेषण क्षमता नराख्दा र त्यसको समाधानका उचित विकल्पको योजना र कार्यक्रम बनाई सो बमोजिमको व्यवस्था समयमा गर्न नसक्ने नै नेपालमा कोरोनाको महामारी फैलनुको मुख्य कारण हो ।” संक्रमितको संख्या ३ हजारलाई हुने गरी तीव्र विस्तार भईरहँदा र मृतकको संख्या दोहोरो अंकमा प्रवेश गर्नै लाग्दासम्म पनि राज्यका निर्णय र व्यवस्थापन सन्तोषजनक देखिएका छैनन्, बरू थप जोखिम बढेर जाने खतरा उच्च बनेर गएको छ ।

कोरोना फैलिएका प्रदेश, जिल्ला, क्षेत्र, शहर, गाउँ वा टोलबस्तीलाई सिल गर्ने र अन्यत्रबाट आउजाउ हुन सक्ने अवस्थालाई पूर्ण रूपमा कठोर ढंगले नियन्त्रण गर्नसके थप फैलावटको अवस्थामा सुधार ल्याउन सकिन्छ । त्यस्तै लामो समयदेखि लकडाउनमा परेर गाँसको व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेका आम नागरिकलाई तत्काल राहतको घोषणा गरी नगद राहत उपलब्ध गराउनु अपरिहार्य छ ।

खाने समस्याको समाधानको लागि बाध्य भएर जनता सडकमा निस्कने अवस्था आइसकेको पूर्वावस्थामा यसलाई रोक्न अविलम्व राज्य लाग्नुपर्दछ । अन्यथा कोरोनाले मर्नुभन्दा लकडाउनमा बसौं भन्ने नागरिकहरू बरू कोरोनाले मरिए मरौंला तर भोकले नमरौं भनेर सडकमा उत्रने खतरा सन्निकट छ । जुन राज्यको अकर्मव्यताका कारण हुने आत्मघाती गोल जस्तै हुनेछ । अस्तु । यो लेख बेथाञ्चोक साप्ताहिकबाट लिइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका