सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कतारबाट २० नेपालीको शव ल्याइने, बोर्डले घरसम्म पुर्‍याइदिने

कतारबाट २० नेपालीको शव ल्याइने, बोर्डले घरसम्म पुर्‍याइदिने

6300
Shares
कतारबाट २० नेपालीको शव ल्याइने, बोर्डले घरसम्म पुर्‍याइदिने

काठमाण्डौ / कतारबाट आज २० नेपालीको शव ल्याइने भएको छ । कतार एअरवेजको चार्टर्ड जहाजमार्फत २० जना नेपालीको शव दिउँसो काठमाण्डौ आइपुग्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएको शव वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाली दूतावासको समन्वयमा मृतकका सम्बन्धित रोजगारदाताले पठाइदिएका हुन् । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार, बर्दिया मोतिपुरका सिकराम थारु, सर्लार्हीको ईश्वरपुरका अरुनकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सिरहाका कसिन्द्र यादव, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव ल्याउन लागिएको हो । यस्तै कपिलबस्तुका मोहम्मद अलाम मुसलमान, सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङ्का युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव पनि ल्याईंदैछ ।

उनीहरुमध्ये १३ जनाको शव बुझेर बोर्डले मृतकको घरसम्म निःशुल्क पुर्‍याइदिने छ भने सात जनाको काठमाण्डौमै अन्त्येष्टि गरिने आफन्तले बताएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । यस्तै आजै कुवेतबाट नेपाली लिएर आउने जजिरा एअरले पनि २ वटा शव ल्याउनेछ । नुवाकोटकी सोनी तामाङ र संखुुवासभाका मानबहादुर आलेको शव कुवेतबाट आउँदैछ । यूएईबाट पनि सिन्धुपाल्चोकको पेम्बा नुर्बू शेर्पाको शव नेपाल एअरलाइन्समार्फत आउँदैछ । त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि गएको नेपाल एअरलाइन्सको चार्टर्ड जहाजले एउटा शव पनि ल्याउँदैछ । आजै साउदीको दमामबाट आएको हिमालय एअरलाइन्सको चार्टर्ड जहाजले पनि एउटा शव ल्याएको छ ।

यसअघि कुवेतबाट ३, ओमानबाट १ र यूएईबाट १ जनाको शव ल्याइएको छ । शव घरसम्म बोर्डले पुर्‍याइदिने

विदेशबाट ल्याइएका शव वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने गर्छ । त्यसका लागि परिवारले नै काठमाण्डौ आएर निःशुल्क शव ढुवानीका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । तर अहिले कोरोनाको कारण उपत्यका बाहिरबाट काठमाण्डौ आउन सम्भव नभएकाले बोर्ड आफैंले विदेशबाट ल्याइएका शव बुझेर सम्बन्धित घरसम्म पुर्‍यायइदिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बोर्डले मृतकको आफन्तसँग समन्वय गर्नेछ । आज आउने शवको व्यवस्थापनका लागि पनि बोर्ड तयारी अवस्थामा रहेका र मृतकका आफन्तलाई खबर गरिसकेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

‘विभिन्न जिल्लाबाट शव बुझ्न काठमाण्डौसम्म आउन सम्भव नहुन सक्छ, त्यसैले बोर्डको तर्फबाट शव बाहनका चालकले नै शव बुझ्नुहुन्छ र पूर्ण सुरक्षासहित परिवारले भनेको ठाउँसम्म पुर्‍याइदिनुहुन्छ’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ‘सम्बन्धित ठाउँमा पुगेपछि स्थानीय प्रहरीको रोहबरमा चालकले शव आफन्तलाई बुझाएर फर्कनुहुनेछ ।’ काठमाण्डौमा आफन्त हुनेले भने विमानस्थलमा गएर शव बुझ्न सक्छन् । निःशुल्क शव ढुवानी आवश्यक परेमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

बोर्डले एक दिनमा २० वटासम्म शव ढुवानी गर्न सक्नेगरी व्यवस्थापन गरेको छ । तर परिआएको दिनको ४० वटासम्म पनि व्यवस्थापन गर्ने गरी तयारी थालेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । सामान्य अवस्थामा दिनमा १० वटासम्म शव ढुवानी गर्ने गरिएको थियो । तर अहिले साढे दुई महिनादेखि शव विदेशमै रोकिएकाले एक दिनमै आउने संख्या धेरै भए पनि त्यही अनुसार व्यवस्थापन गर्न शव ढुवानी गर्ने गाडी तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ । ‘शव ढुवानी गर्ने गाडीको विवरण गृहलाई उपलब्ध गराएका छौं, चालकहरु पनि त्यही अनुसार तयार हुनुहुन्छ, उहाँहरुलाई पीपीईदेखि स्वास्थ्य सुरक्षाको सामग्री उपलब्ध गराइएको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘शव नेपाल आएपछि परिवारले चिन्ता गर्नु पर्दैन, हामी सुरक्षितसाथ घरसम्म पुर्‍याइदिन्छौं ।’

बोर्डका अनुसार खाडीका ६ देश, मलेसिया, दक्षिण कोरिया र अन्य देशमा गएको शुक्रबारसम्ममा २७२ पुरुष र १४ जना महिला गरी २८६ जनाको ज्यान गएको छ र शव उतै रोकिएको छ । सबैभन्दा बढी साउदीमा ८० जनाको ज्यान गएको छ । त्यसपछि यो अवधिमा मलेसियामा ६० जना, यूएईमा ६३ जना, कतारमा ४१ जना, कुवेतमा १७ जना, बहराइनमा ७ जना, ओमानमा १ जना, दक्षिण कोरियामा पाँच जना र अन्य विभिन्न देशमा ज्यान गुमाउनेको संख्या १२ छ । बोर्डका अनुसार शुक्रबारसम्ममा मृतकमध्ये ९७ का परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् ।

6300
Shares

ट्रेन्डिङ