सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एसईईको नतिजा नआउँदै कक्षा ११ को भर्ना

एसईईको नतिजा नआउँदै कक्षा ११ को भर्ना

5785
Shares
एसईईको नतिजा नआउँदै कक्षा ११ को भर्ना

काठमाडौं, २६ असार: माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै अधिकांश निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया सुरु गरेका छन् । यस पटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने तयारी छ । नयाँ पाठ्यक्रममा असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले भने पुरानै संकायअनुसार विद्यार्थीको अनलाइन रजिस्ट्रेसनको प्रक्रिया अघि बढाएका छन् ।

पाठयक्रम विकास तथा मूल्यांकन परिषद्ले संकाय प्रणालीको अन्त्य गर्दै कक्षा ११ मा ६ विषयको पठनपाठन गराउने निर्णय गरिसकेको छ । कक्षा १ र ११ मा नयाँ पाठ्यक्रमबाट पठनपाठन गराउने निर्णय परिषद्ले गत माघ २ मै गरेको थियो ।

ठूला र नाम चलेका निजी विद्यालयहरुले नै प्रि–भर्ना र रजिस्ट्रेसनको अगुवाइ गरेका छन् । शिक्षा मन्त्रालयले भने विद्यार्थी भर्नामा रोक लगाएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का पदाधिकारीहरु सञ्चालक रहेका विद्यालय नै विद्यार्थी भर्ना लिन तँछाडमछाड गरिरहेका छन् । उनीहरुको सिको गर्दै कक्षा ११ र १२ मा पठनपाठन गराउने अधिकांश शिक्षण संस्थाले भर्ना आह्वान गरेका हुन् । ‘एसईईको नतिजा आएकै छैन, भर्ना हुन आऊ भनेर अपिल गरिएको छ,’ एक अभिभावकले भने । विद्यालयहरुले भर्ना हुन आउन सार्वजनिक सूचना नै प्रकाशित गरेका छन् ।

हिसान अध्यक्ष रमेश सिलवाल प्रमुख रहेको गोल्डेन गेट इन्टरनेसनल कलेजले विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अनलाइन रजिस्ट्रेसन खुला गरेको छ । उपाध्यक्ष युवराज शर्माको हिमालयन ह्वाइटहाउस कलेजले पनि प्रि–रजिस्ट्रेसन आह्वान गरेको छ ।

विज्ञान, मानविकी, व्यवस्थापनसहित कानुन संकायमा भर्नाका लागि विद्यार्थीलाई सम्पर्कमा आउन भनिएको छ । महासचिव लोकबहादुर भण्डारी सञ्चालक रहेको जेभियर इन्टरनेसनल स्कुलले पनि यिनै संकायका लागि विद्यार्थी भर्ना खोलेको छ । काठमाडौंका अन्य दर्जनौं विद्यालयले पनि भर्ना आह्वान गरेका छन् । सेन्ट जेभियर, रातो बंगालालगायत विद्यालयले ए–लेभलको पठनपाठनका लागि अनलाइन रजिस्ट्रेसन गर्ने व्यवस्था मिलाएका छन् ।

चैत पहिलो सातादेखि ठप्प विद्यालय र क्याम्पस कहिलेदेखि खुल्ने अनिश्चित छ । तर विद्यालयहरुले भने अघिल्लो तहको परीक्षाफल नआउँदै नयाँ भर्नाका गतिविधि थालेका हुन् । एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार परीक्षार्थीका लागि विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय भएको छ । साउनको दोस्रो सातापछि मात्र नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

हिसानका उपाध्यक्ष शर्माले कक्षा ११ को तयारी गर्ने विद्यार्थीका लागि पूर्वतयारी स्वरूप प्रि–रजिस्ट्रेसन गराइएको प्रतिक्रिया दिए । धेरै विद्यार्थी काठमाडौं बाहिर छन् । लकडाउन कायमै रहे नतिजा प्रकाशित भएपछि पनि ती विद्यार्थी काठमाडौं नआउने निजी विद्यालय सञ्चालकहरुको विश्लेषण छ । विद्यार्थी तान्न र कोटा पूरा गर्न प्रि–भर्ना र रजिस्ट्रेसन आह्वान गरिएको हिसानका एक पदाधिकारीले बताए ।

‘विद्यार्थी नभए स्कुल बन्द हुन्छन्, आफूले पढाउने विद्यार्थीको सिट सुरक्षित गर्न अहिलेदेखि हानथाप भएको हो,’ उनले भने । हिसानले यसपटक देखि नयाँ पाठ्यक्रम लागू नगर्नसमेत सरकारसँग लबिइङ गर्दै आएको छ ।

उनीहरुले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पाठ्यक्रम कार्यान्वयन नगर्न सुझावपत्रसमेत दिएका छन् । कान्तिपुर दैनिकमा सुदीप कैनीले समाचार लेखेका छन् ।

5785
Shares

ट्रेन्डिङ