सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • करिब पौने आठ लाखले गरे कोरोना बिमा

करिब पौने आठ लाखले गरे कोरोना बिमा

3590
Shares
करिब पौने आठ लाखले गरे कोरोना बिमा

काठमाडौं, १० भदाै । कोरोनाको संक्रमण बढेसँगै कोरोना बिमा गर्नेहरूको संख्या बढ्दै गएको छ । बिमा समितिले कोरोना बिमाको मापदण्ड बनाइदिएपछि लकडाउनमा पनि कोरोना बिमाका लागि सिफारिस दिन नगरपालिकाको वडा कार्यालयलाई अहिले भ्याइनभ्याई छ ।

बिमा समितिका अनुसार हालसम्ममा ७ लाख ७४ हजार जनाले कोरोना बिमा गरेका छन् । परिवारको एउटा मात्र बिमा पोलिसी हुने कारणले गर्दा भने हालसम्ममा ८४ हजारओटा पोलिसी जारी भएको छ । कोरोना बिमाबाट मात्र ४३ करोडको हाराहारीमा प्रिमियम उठिसकेको पनि बिमा समितिका सूचना अधिकृत निर्मल अधिकारीले जानकारी दिए ।

कोरोना बिमा गर्न एक्लैको एक लाख रुपैयाँको बिमा गर्ने हो भने एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ । परिवार वा समूहको गर्ने हो भने ६ सय रुपैयाँ लाग्ने प्रावधान छ । ५० हजारको एक्लैको गर्दा ५ सय र समूहको गर्दा ३ सय रुपैयाँ लाग्ने व्यवस्था पनि छ । परिवारको नै कोरोना बिमा गर्ने हो भने प्रतिव्यक्ति ३०० वा ६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

स्थानीय तहअन्तर्गत वडा कार्यालयको सिफारिस लिन सकेको खण्डमा सरकारले आधा रकम प्रिमियम खर्च बेहोरिदिन्छ । परिवारका लागि वडा कार्यालयले १ महिनादेखि सोही स्थानमा बसोबास गरिरहेको भनेर सिफारिस दिएपछि एक लाखको बिमा गर्न ३ सय रुपैयाँ प्रतिव्यक्ति मात्र तिर्नुपर्ने हुन्छ ।

बिमा गर्न नेपाली नागरिक हुनुपर्ने र विदेशबाट फर्केको हो भने एक महिना नाघेको हुनुपर्ने प्रावधान राखिएको छ । बिमा समितिका अनुसार अहिलेसम्ममा १ लाख रुपैयाँको बिमा गर्नेमध्ये ७१ जनाले भुक्तानी पाइसकेका छन् भने ३ सयवटा भुक्तानीको प्रक्रियामा रहेको छ । ५० हजार रुपैयाँको बिमा गर्नेमध्ये नौवटाको भुक्तानी भइसकेको छ भने २६ वटा प्रक्रियामा रहेको छ । पूर्णभक्त दुवालले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

3590
Shares

ट्रेन्डिङ