सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रानीपोखरीबाट लेउ निकालिँदै

रानीपोखरीबाट लेउ निकालिँदै

4700
Shares
रानीपोखरीबाट लेउ निकालिँदै

काठमाडौं, माघ ६ः काठमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि महानगरले सोमबारदेखि सरसफाइ सुरु गरेको हो ।

पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि कामपाले नगर प्रहरीको सहयोगमा सफा गर्न थालेको हो । कामपा नगर प्रहरी प्रमुख धनपति सापकोटाले दैनिक २० नगर प्रहरीको सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिए ।

‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुनःनिर्माणपछि हस्तान्तरण भइसकेको छैन । यद्यपि पोखरी हाम्रै क्षेत्राधिकारभित्र पर्ने भएकाले लेउ हटाएका हौँ,’ उनले भने । पोखरीमा पानीको मात्रा घट्दै गएकाले पनि थप समस्या भएकाले पानी भर्ने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए ।

पुनःनिर्माणपछि पोखरीमा तीन करोड २२ लाख लिटर पानी राखिएको थियो । अहिले करिब दुई करोड लिटरको हाराहारीमा मात्र पानी छ ।

कामपाले पोखरीको पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको भन्दै माछा हालेर पनि सफा र सुन्दर राख्न सकिने विकल्प देखाएको छ ।

गोरखा भूकम्पका कारण क्षति भएपछि पुनःनिर्माण गरिएको रानीपोखरीको गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो । रासस

4700
Shares

ट्रेन्डिङ