सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • आजबाट काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा

आजबाट काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा

7135
Shares
आजबाट काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा

काठमाडौं, १६ वैशाख । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण गति बढ्दै गएपछि बाध्यतावस निषेधाज्ञा जारी गरेको जानकारी दिए । बिनाकाम घर बाहिर ननिस्कन र जरुरी परे स्वास्थ्य मापदण्ड पूर्णपालना गरेर मात्र निस्कनसमेत उनले आग्रह गरे ।

‘संक्रमण गति बढ्दै गएपछि सरकारले बाध्यतावस निषेधाज्ञा जारी गरेको हो, संक्रमण गतिलाई चेनब्रेक गर्न हाम्रा गतिविधि नियन्त्रण गर्नुको विकल्प छैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले राजधानीसँग भने, ‘जीवन रक्षाको यो लडाइ“मा सफलता प्राप्त गर्न स्वास्थ्य मापदण्ड पालना र बिनाकाम घरबाहिर ननिस्कन सरकारको आग्रह छ ।’

मन्त्री ज्ञवालीले अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न र प्रशासनको आदेशानुसार गर्न आग्रह गरे । संक्रमण गति दिनदिनै तीव्र बन्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै बुधबार राति अबेरसम्म १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।

गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालका अनुसार बुधबार रातिसम्म १२ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत निषेधाज्ञा आदेश जारी गरेको हो ।

जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, कास्की, सुर्खेत, चितवन र पाल्पामा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

कास्कीबाहेकका जिल्लामा पूर्णरूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कास्कीमा जोरबिजोर लागू गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

गत सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो ।

निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायत सञ्चालन गर्न पाइदैन ।

सार्वजनिक एवं निजी सवारी साधन १६ वैशाख बिहान ६ देखि २२ गते राति १२ बजेसम्म काठमाडौं उपत्यकाभरमा रोक लगाइएको छ ।

विवाह व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी (दुलाहादुलहीसहितका) ले ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर सो कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट जारी पास लिनुपर्नेछ ।

विवाह/व्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भए चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेस गर्नुपर्नेछ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारी साधन काठमाडौं जिल्लाभित्र प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेटाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापनलगायत ढुवानीका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने जनाइएको छ ।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइनेछ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधैं एयरपोर्ट जाने सवारी साधनका लागि सहजीकरण गरिनेछ । अस्पताल आउनेजाने बिरामी वा कुरुवा तथा मृत्यु संस्कारमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्थामा सवारी साधन प्रयोग गर्नुपरे प्रमुख जिल्ला अधिकारीबाट जारी हुने सवारी पास लिनुपर्ने भएको छ ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका अन्य व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला गर्ने, डिपार्टमेन्ट स्टोर र ग्रोसरी कक्ष पनि सोहीअनुसार खोल्न पाइने तर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने जनाइएको छ ।

नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त बित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारी र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ ।

सञ्चारकर्मी/पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइनेछ । काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्नेछ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

 

7135
Shares

ट्रेन्डिङ