काभ्रेका पालिकाहरुले धमाधम सार्वजनिक बिदाको घोषणा गर्न थालेका छन् ।
सोनाम ल्होसारको अवसरमा पालिकाहरुले सार्वजनिक बिदा दिएका हुन् ।
अहिलेसम्म जिल्लाका ६ पालिकाले ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरिसकेका छन् ।
जिल्लाको रोशी,तेमाल, खानीखोला, बेथान्चोक , चौँरीदेउराली गाउँपालिका र नमोबुद्ध नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
चौँरीदेउराली गाउँपालिकाले दुई दिन अर्थात माघ १८ र १९ गते बिदा दिने भएको छ भने बेथानचोक गाउँपालिकाले १९ गते १ दिन ल्होछारको अवसरमा बिदा दिने भएको छ । अन्य पालिकाले माघ १८ , १९ र २० गते गरि तीन दिन बिदा दिने छन् । यता नमोबुद्ध नगरपालिकाले पनि ३ दिन सार्बजनिक बिदा दिएको छ ।
यस्तै यो समाचार तयार पार्दा सम्म पनौती, धुलिखेल,पाँचखाल , मण्डनदेउपुर, बनेपा नगरपालिका, महाभारत गाउँपालिका र भुम्लु गाउँपालिकाले यो वर्षको ल्होछारका लागि सार्वजनिक बिदा दिने निर्णय गरिसकेका छैनन् ।
पालिकाहरुले नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सोनाम ल्होछार मनाउन पनि आग्रह गरेको छ ।
२८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष)का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
तामाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकाले ल्होछारको दिन १९ गते परेकाले सो दिनको एक दिनअघि र एक दिनपछि गरी तीन दिनसम्म सार्वजनिक बिदा दिएका हुन् ।
यस वर्षको तामाङ समुदायले मनाउने सांस्कृतिक तथा धार्मिक पर्व २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष) आगामी माघ १९ गते परेको छ। तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाउने गरिन्छ।
तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ‘ल्होछार’को अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्ष मान्ने गरिन्छ।
ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ।