सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • संसदमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदहरुलाई ‘ह्वीप’

संसदमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदहरुलाई ‘ह्वीप’

4330
Shares
संसदमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदहरुलाई ‘ह्वीप’

 

 

काठमाडौँ : नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

 

संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन्।

 

 

सचेतक भुसालले भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताइन्।

 

‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ। तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ’, भुसालले भनिन्। हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका ६३ जना सांसद छन्। तीमध्ये दुईजना निलम्बित छन्। सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा छन्।

 

कांग्रेस एमसीसीको पक्षमा छ। कांग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन्। उनले पार्टीको संसदीय दलको कार्यालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुनु भनेर म्यासेज पठाएको पुष्टि गरिन्।

 

सत्तारुढ प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ। संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन्। एमालेले एमसीसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन। एमालेले आफ्नाे माग सम्बोधन गरेमात्रै एमसीसीको विषयमा निर्णय गर्ने अडान राखेको छ।

 

 

4330
Shares

ट्रेन्डिङ