चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले युटुबमा १ करोड भन्दा बढी दर्शकको साथ पाइसकेको छ । यो गीत अहिले दर्शकको मुखमा झुन्डिएको छ ।
पहिलो गीतले १ करोड भन्दा बढी दर्शक पाएपछि यसको निर्माणपक्षले चलचित्रमा समावेश दोश्रो गीत सार्वजनिक गरेको छ । सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा समावेश ‘जिन्दगानी तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । केतन क्षेत्रीको स्वर रहेको गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ ।
यो गीतको दृश्य उत्कृष्ट छ । साथमा, चलचित्रका मुख्य कलाकार नायिका नम्रता श्रेष्ठ र गायक तथा नायक कोशिश क्षेत्रीको केमेष्ट्री गजबको देखिएको छ । चलचित्रमा माला लिम्बु, केशव भट्टराई, जेविका कार्की लगायतका कलाकारको पनि अभिनय छ ।
कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, वनिष शाहको सम्पादन, चन्द्र पन्तको एक्सन यो चलचित्रमा छ । सस्पेन्स थ्रीलर कथामा बनेको यो चलचित्रको ट्रेलर पनि रुचाइएको छ । यो चलचित्र जेठ १२ गतेबाट देशभर रिलिज हुँदैछ ।