सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • विनाशकारी भूकम्पको ७ वर्ष पूरा

विनाशकारी भूकम्पको ७ वर्ष पूरा

9710
Shares
विनाशकारी भूकम्पको ७ वर्ष पूरा

काठमाडौं, १२ वैशाख : गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो।

बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो। अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो। भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो।

अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो। सात वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो।

विसं १९९० माघ २ गतेको भूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो। दिवसका माध्यमबाट चेतना जागृत गराई भूकम्पबाट सुरक्षित बनाउने सरकारको लक्ष्य छ। नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ। यस अवसरमा आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।

9710
Shares

ट्रेन्डिङ