सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे हैजाको उच्च जोखिममा, खानेपानीमा पनि भेटियो दिसा जन्य किटाणु

काभ्रे हैजाको उच्च जोखिममा, खानेपानीमा पनि भेटियो दिसा जन्य किटाणु

42115
Shares
काभ्रे हैजाको उच्च जोखिममा, खानेपानीमा पनि भेटियो दिसा जन्य किटाणु

काभ्रेका दुई ठूलो शहरको पिउने पानीमा दिसाजन्य किटाणु देखिएको छ । बनेपा र धुलिखेल नगरपालिकाको विभिन्न स्थानबाट संकलन गरिएको पानीको परीक्षण गर्दा दिसामा हुने किटाणु देखिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका प्रमुख डाक्टर पुरुषोतम राज सेढाईका अनुसार दिसामा हुने किटाणु देखिएको दुबै शहर पानी जन्य रोगको जोखिममा रहेको पुष्टि भएको छ । राजधानीमा हैजाले प्रकोपको रुप लिँदै गर्दा काभ्रेको घनाबस्तीका भएका शहर पनि त्यसको जोखिममा देखिएको हो ।

जिल्लाको दुई ठूलो शहरको पिउने पानीमा दिसा जन्य किटाणु देखिएपछि जिल्लामा उच्च सर्तकता अपनाइएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा हाल स्वास्थ्य कार्यालय, मेथिनकोट अस्पताल, नगर तथा गाउँपालिकाको समन्वयमा पानीको परीक्षण गर्ने, औषधि लगाएका आपूर्ती ब्यवस्थापन गर्ने र सम्भावित हैजाको महामारीको रोकथामको प्रयास थालिएको छ ।

त्यस्तै पूर्व तयारीको लागि द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख सेढाईले बताउनुभयो । स्वास्थ्य कार्यालयले पातलो चौलानी पानी जस्तो पखाला लाग्ने, खान पिउन नसक्ने वा झन बिरामी भएमा, दिसामा रगत देखा परेमा, तारन्तार वान्ता भएमा, बच्चा ज्यादै तिर्खाएमा, ज्वरो आएमा, धेरै पटक पातलो दिसा गरेमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचारका लागि जान र लैजान आग्रह गरेको छ ।

हैजा सबै उमेर समूहको ब्यक्तिलाई हुने भएपनि बालबालिका, गर्भवती, बृद्धबृद्धा बढी जोखिममा पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन ।

42115
Shares

ट्रेन्डिङ