सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • हमासको इजरायल आक्रमणमा १० जना नेपालीको मृत्यु

हमासको इजरायल आक्रमणमा १० जना नेपालीको मृत्यु

1460
Shares
हमासको इजरायल आक्रमणमा १० जना नेपालीको मृत्यु

काठमाडौं, २२ असोज : ​हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

हमासले गरेको रकेट आक्रमणका क्रममा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल पुगेका १७ जना नेपालीमध्ये १० जनाको मृत्यु भएको हो। आक्रमणमा परेका एक नेपाली सम्पर्कविहीन रहेका छन् भने ४ जना नेपाली सुरक्षित स्थानमा रहेका छन्। आक्रमणमा सिकिस्त २ जनाको उपचार भइरहेको छ।

आक्रमणमा कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी-६ का गणेशकुमार नेपालीको मृत्यु भएको छ। कैलाली भुनियाँ-३ का आशिष चौधरी, दार्चुलाको लेखम-५ का दिपेशराज बिष्ट, धनुषाको सपही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकारको पनि मृत्यु भएको छ।

आक्रमणमा डोटी पछन्ली-३ का राजन फुलरा, डोटी लमीखाल-८ का पदम थापा, सल्यानको शारदा-३ का प्रवेश भण्डारी र दार्चुलाको मल्लिकार्जुन-४ का लोकेन्द्रसिं धामीको पनि मृत्यु भएको छ।

आक्रमणका क्रममा कञ्चनपुरको भीमदत्त-३ का विपिन जोशी सम्पर्कविहीन रहेका छन्। गोरखाको गोर्खा-८ का हिमाञ्चल कट्टेल, कैलालीको टीकापुर-९ का धनबहादुर चौधरीको अवस्था सामान्य छ। दुवै जना उपचाररत छन्।

सल्यानको शारदा-२ का विधान सेजुवाल र दाङको दंगीशरण-३ का प्रविण डाँगीको खुट्टामा चोट लागेको र उनीहरुको उपचार भइरहेको छ। सल्यानको त्रिवेणी गाउँपालिका-१ का प्रमोद केसी, कैलाली भजनी-४ का वीरेन्द्र चौधरी सुरक्षित रहेका छन्।

1460
Shares

ट्रेन्डिङ