भारतले दिएको १५ वटामध्ये ७ वटा मुर्रा राँगालाई शुक्रबार राति पोखरा ल्याइपुर्याइएको छ ।
पोखरा आइपुगेका राँगालाई शुक्रबार राति नै फूलमालासहित ताली बजाएर कार्यालयमा स्वागत गरिएको थियो ।
नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ । नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा पोखरासहित नेपालगञ्जमा ३ वटा र लहानमा ३ वटा राखिएको छ ।
गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल-भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । सोहीअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।