बनेपा : मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ भने चोरीको मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी चलाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टका अनुसार प्रहरीले चोरी भएका दुई वटा मोटरसाइकल बरामद गर्नुका साथै अर्को चोरीको मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरी चलाइएको अवस्थामा फेला पारेको हो ।
पक्राउ पर्नेमा महाभारत गाउँपालिका–५ का २१ वर्षीय सुशील योञ्जन, खानीखोला गाउँपालिका–५ का २० वर्षीय छेवाङ तामाङ र खानीखोला गाउँपालिका–१ का २५ वर्षीय अनिश भन्ने अनेश गोले रहेका छन् ।
विष्टका अनुसार बनेपा नगरपालिका–४ भिमसेनटोलमा पार्किङ गरी राखिएको बा.प्र.०२–०५० प ९५०६ नम्बरको निलो–रातो रङको २२० सीसीको मोटरसाइकल चोरी भएको उजुरीका आधारमा अनुसन्धान गर्दा उक्त मोटरसाइकलसहित सुशील योञ्जन पक्राउ परेका हुन् । चोरी भएको मोटरसाइकल भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटमार्ग बाट फेला पारिएको हो ।

सुशील योञ्जनबाट प्राप्त सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा खानीखोला गाउँपालिका–५ का छेवाङ तामाङ पक्राउ परेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा तामाङले उक्त चोरी घटनामा खानीखोला गाउँपालिका–१ का अनेश गोलेसमेत संलग्न रहेको बताएपछि प्रहरीले गोलेलाई समेत पक्राउ गरेको जनाएको छ । तीनै जनालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको विष्टले जानकारी दिनुभयो ।
यसैगरी, बनेपा नगरपालिका–८ तीनदोबाटोस्थित अरनिको राजमार्गमा सवारी साधन जाँचका क्रममा प्रहरीले पाचखाल नगरपालिका–१ का २५ वर्षीय प्रकाश खड्कालाई बा.प्र.०२–०४७ प ३५६९ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उक्त मोटरसाइकल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ स्थित पञ्चकन्या मार्गबाट चोरी भएको र नम्बर प्लेट परिवर्तन गरी चलाइएको खुलेपछि मोटरसाइकलसहित चालकलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको विष्टले जानकारी दिनुभयो ।


