भक्तपुर :- मिति २०८३/०२/१२ गते अपराह्न करिब २:२० बजे जिल्ला भक्तपुर, मध्यपुरथिमी नगरपालिका–६ कमेरोटारबाट जिल्ला काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–१ निवासी वर्ष ४० का विरध्वज तामाङलाई शंकास्पद गतिविधिका आधारमा आवश्यक सोधपुछका लागि सशस्त्र प्रहरी बल, नेपाल एपीएफ इन्टेलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुवर्ण थापाको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।

उक्त व्यक्तिलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त ठिमीमा बुझाइएकोमा सोधपुछका क्रममा प्राप्त सूचनाका आधारमा जिल्ला काभ्रेपलाञ्चोक, चौँरीदेउराली गाउँपालिका–१ निवासी वर्ष ३७ का सन्तबहादुर तामाङले चलाउने गरेको याङ्गो (Yango) सेवा अन्तर्गतको बागमती प्रदेश ०१–००२ ज ८८६३ नम्बरको सवारी साधनमार्फत लागूऔषध ल्याइएको भन्ने सूचना प्राप्त भएको थियो।
उक्त सूचनाका आधारमा सवारी साधन तथा चालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा लुकाइछिपाइ राखिएको लागूऔषधबारे जानकारी प्राप्त भएपछि साँझ करिब ५:३० बजे सशस्त्र प्रहरी बल नेपाल नं. २१ गणबाट सशस्त्र प्रहरी निरीक्षक मनोज विष्टको कमाण्डमा २५ जना तथा सशस्त्र प्रहरी बल, नेपाल एपीएफ इन्टेलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुवर्ण थापाको कमाण्डमा खटिएको संयुक्त टोलीले जिल्ला ललितपुर, गोदावरी नगरपालिका–२ स्थित धाराचौर, विशंखुनारायण मन्दिरबाट करिब ३०० मिटर अगाडि कोटडाँडा जाने सडकछेउमा सल्लाको पत्करले छोपेर राखिएको Tramadol Hydrochloride Capsule Tramol 50 नामक लागूऔषध २१,०६४ फाइल (२ लाख १० हजार ६ सय ४० क्याप्सुल) बरामद गरेको थियो।

बरामद लागूऔषध तथा नियन्त्रणमा रहेका सवारी चालक सन्तबहादुर तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि साँझ ७:१० बजे नेपाल प्रहरी, प्रहरी प्रभाग बाडेगाउँबाट खटिई आएका प्रहरी निरीक्षक विक्रम के.सी.लाई जिम्मा लगाइएको जनाइएको छ।