काठमाडौं । अमेरिकाले इजरायल र प्यालेस्टिन समूह हमासबीच सोमबारसम्म युद्धविराम हुने संकेत दिएको छ।
आफूलाई राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युद्धविराम गराउने हिसाबले आफूहरु निकै निकट पुगेको ब्रिफिङ गरेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
हमासले युद्ध अन्त्यको सुनिश्चितता भएपछिमात्र थप बन्दी रिहा गर्ने अडान राखेपछि युद्धविरामको वार्ता सहमतिमा पुग्न सकेको छैन । हमासले गाजाबाट सम्पूर्ण रुपमा इजरायली सेना फिर्ता नभएसम्म बन्दी रिहा नगर्ने अडान राखेको बाइडेनका उच्च प्रशासकले सीएनएनसँग बताएका छन् ।
युद्धविरामको पहलका निम्ति पेरिसमा अमेरिका, इजिप्ट, इजरायली जासुसी संस्थाका प्रमुख र कतारका प्रधानमन्त्रीले शुक्रबारयता वार्ता जारी राखेका छन् ।
इजरायली नेताहरुले राफामा थप कारबाही गर्ने नीति लिएका छन् । यता, हमासले पहिलो चरणमा केही बन्दी रिहा गरेर दोस्रो चरणमा सैन्य अपरेसन समाप्तिको सुनिश्चितता हुनुपर्ने माग राखेको छ ।