काठमाडौं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ ।
बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ । सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार रहने छ ।
उनको सवारीका बेला उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा आफैं खटिनेछन् । नेपालस्थित कतारी दूतावासले परराष्ट्र मन्त्रालयसँग समन्वयमा छुट्टै सुरक्षा टोली पनि खटाउनेछ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दीपक थापाले पहिलो सुरक्षा घेरामा नेपाली सेना र बाहिरी घेरामा नेपाल प्रहरीसहितको अन्य सुरक्षा टोली रहने जानकारी दिए ।
उनका अनुसार कतारका राजा काठमाडौं ओर्लिनुअघि त्रिभुवन विमानस्थल र होटेल र सवारी रुटमा तालिमप्राप्त ‘स्निफिङ डग’ जाँच गर्नेछ । ट्राफिक प्रहरीले सवारी आवागमनको व्यवस्था मिलाउने छ ।
कतारका राजा बंगलादेशको ढाका हुँदै नेपाल आउन लागेका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै बेलुकी भेटवार्ता हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार भेटवार्ता गर्नेछन् ।