काठमाडौंं । सामाजिक सञ्जालमा भाइरल मीनबहादुर बुढा (भेलुबाजे) को मृत्यु कुटपिटबाट भएको भन्दै एक महिलाविरुद्ध जाहेरी दर्ता भएको छ ।
कुटपिटबाट उनको मृत्यु भएको भन्दै प्युठान नगरपालिका ८, बाग्दुलामा व्यवसाय गर्ने गीता केसीविरुद्ध ‘भेलुबाजे’ का आफन्तले जाहेरी दर्ता गराएका हुन् ।
गीता केसी सक्रिय टिकटकर हुन् । उनले भेलुबाजेका थुप्रै टिकटक बनाएकी छन् भने भेलुबाजेसँग लाइभमा पनि बस्ने गरेकी थिइन् ।
गीता केसीले भेलुबाजेलाई कसैले पाँच हजार पठाएको भन्दै लिन बोलाएकी थिइन् । गीता र भेलुबाजे राति अबेरसम्म लाइभ बसेका थिए । त्यस क्रममा भेलुबाजेले सल्काएको चुरोटले ओछ्यान जलेपछि कुटपिट भएको उनको दाबी छ ।
प्युठान नगरपालिका-५ जुम्रिकाँढा घर भएका भेलुबाजेको बिहीबार बेलुका प्युठान अस्पतालमा मृत्यु भएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई दिउँसो १ बजे अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।