काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । आज उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३।४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।
विगत केही दिनदेखि पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले बताएको छ ।
हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको बताएको छ ।
आगामी २४ घण्टामा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुने तथा उच्च पहाडी एवं हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।