काभ्रे :- आगामी महान् पर्व दसैंलाई लक्षित गर्दै काभ्रे जिल्ला प्रशासन कार्यालयले यात्रुको भीड व्यवस्थापन र सम्भावित दुर्घटना न्यूनीकरण गर्न बीपी राजमार्ग तथा अरनिको राजमार्गमा टिपर सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ । जिल्ला सुरक्षा समितिको भाद्र ३० गते बसेको बैठकले घटस्थापना अर्थात् असोज ६ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् असोज २२ गते पुर्णिमासम्म टिपर सञ्चालन गर्न नपाइने निर्णय गरेको हो । यस अवधिभर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कानूनी कारबाही गरिने चेतावनी दिँदै प्रशासनले यात्रुहरूको सहज र सुरक्षित आवतजावतलाई प्रमुख प्राथमिकता दिएको स्पष्ट पारेको छ ।
प्रशासनका अनुसार दसैंमा घर फर्किने यात्रुहरूको चाप अत्यधिक हुने भएकाले ठूला मालवाहक सवारी साधनको आवागमन रोक्दा दुर्घटनाको जोखिम कम हुने र राजमार्ग थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ ।

तर, औषधि, इन्धन, खाद्यान्न जस्ता अत्यावश्यक वस्तु ढुवानीका लागि प्रयोग हुने सवारी साधन भने यस निर्णयबाट मुक्त हुने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयले पर्वका बेला कुनै अप्रिय घटना नघटोस भन्ने उद्देश्यले सबै पक्षलाई नियमपालन गर्न आह्वान गर्दै दसैंको अवसरमा आम नागरिकलाई सुरक्षित, सहज र मंगलमय यात्राको शुभकामना समेत व्यक्त गरेको छ ।
