सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • राप्रपा महाधिवेशनमा ३६३ जनाको उम्मेदवारी

राप्रपा महाधिवेशनमा ३६३ जनाको उम्मेदवारी

2765
Shares
राप्रपा महाधिवेशनमा ३६३ जनाको उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिनुभएको छ ।
अध्यक्ष पदका उम्मेदवार थापा लामो समयदेखि पार्टी नेतृत्वमा हुनुहुन्छ भने अर्का उम्मेदवार राणा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ का क्षेत्रीय अध्यक्ष हुनुहुन्छ । उम्मेदवार मनोनयन गर्नका लागि अध्यक्ष पदमा रु ५० हजार तथा केन्द्रीय सदस्यका लागि रु सात हजार शुल्क तोकिएको छ ।
पार्टीको विधानअनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पदका) लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।
महिलातर्फ ३३ सिट रहेका छन् जसमा खुला १६ तथा आरक्षणमा १७ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति छ, उत्पीडित दुई, मुस्लिम एक, कर्णाली र पिछडिएका क्षेत्रबाट दुई र थारु समुदायबाट एकजना निर्वाचित हुनेछन् ।
पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, खुलामा ४० तथा आरक्षणमा २५ सिट छन् । आरक्षणतर्फ मधेसी समुदायबाट सात, आदिवासी जनजाति नौ, उत्पीडित दुई, मुस्लिम दुई, कर्णाली र पिछडिएका क्षेत्रबाट दुई, थारु समुदायबाट एक र प्रवासबाट दुईजना निर्वाचित हुनेछन् ।
पार्टीका नेता किरण गिरीका अनुसार महाधिवेशन सम्पन्न भएपछि ४० प्रतिशत मनोनित गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ । पार्टीका पूर्वअध्यक्षलाई मानार्थ केन्द्रीय सदस्य बनाइनेछ जसअनुसार पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्द, पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई मानार्थ केन्द्रीय सदस्य बनाइने भएको छ ।
सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशील श्रेष्ठ, पार्टीका उपाध्यक्ष दीपक बोहरा, बुद्धिमान तामाङ, प्रतिभा राणा, पार्टीका महामन्त्री टङ्क ढकाल र राजेन्द्र लिङ्देन, प्रवक्ता राजाराम श्रेष्ठ तथा पूर्वमन्त्री सुनिल थापा र जयन्द्र चन्दलगायतले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी, कलाकार रेखा थापा, कोमल ओली तथा युवा नेता भरत गिरीले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । सोमबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन गरिने निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिनुभयो ।
निर्वाचनलाई पारदर्शी तथा छिटोछरितो बनाउनका लागि ६० वटा विद्युतीय मतदान यन्त्रको प्रयोग गरिनेछ । सोमबार साँझसम्म परिणाम आउने गरी तयारी गरिएको छ । यसअघि आज बिहानैदेखि निर्वाचन प्रक्रिया सुरु गरी मतदाता नामावली प्रकाशित गरिएको थियो जसमा तीन हजार २८७ मतदाता कायम गरिएको छ । रासस

2765
Shares

ट्रेन्डिङ