काठमाडौँ, २८ वैशाख/ रामगोपाल आशुतोष । चर्चित गायक राज सिग्देल एकल साङ्गीतिक साँझ-२०७४ सहित दर्शकमाझ उत्रिने भएका छन् । विदेश केन्द्रित साङ्गीतिक कार्यक्रम लामो समयपछि नेपालमा हुन लागेको आयोजक ऊर्बरा फाउन्डेशनको दाबी रहेको छ । यही जेठ १८ गते काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा उनले एक दर्जनभन्दा बढी उत्कृष्ट गीत गजल प्रस्तुत गर्ने भएका छन् ।
ऊ जितेर गई या हारेर गई, च्वास्स बिझ्ने तिम्रो माया, आधी रात थियो, तिम्रो खुशी किन्न, यो त जाली शहर हो, दुखी छु दु:खले छुन चाहन्न, म त यसै बदनाम थिएँ नि, तिम्रो मीठो मुस्कानमा, आउँदो रहेछ आँखामा आँशुलगायत सयौँ गीतमा आफ्नो सुमधुर आवाज दिइसकेका गायक सिग्देलले आफ्नै स्वर र सङ्गीतका नयाँ र पुराना गीत गजल प्रस्तुत गर्ने बताएका छन् ।
बिपन्न र पिछडिएका बालबालिकाको सहयोगार्थ र ग्रामीण भेगमा पुस्तकालय स्थापना गर्ने असल उद्देश्यका साथ उक्त एकल साङ्गीतिक साँझ आयोजना गर्न लागिएको बताउँदै कार्यक्रमका आयोजक एवम् ऊर्वरा फाउन्डेसनका अध्यक्ष देवकी अभिलाषी भन्छिन् – “गाउँका बिपन्न परिवारका लागि केही गर्न चाहन्छौँ । मुठ्ठी मुठ्ठी सङ्कलन गरेर भकारी बनाएर पिछडिएका बालबालिका पढ्ने विद्यालयमा पुस्तकालय खोल्ने छौँ । कार्यक्रमबाट उठेको रकम अक्षय कोष स्थापना गर्ने छौँ ।”
साहित्य, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत क्षेत्रमा सक्रियताका साथ लाग्ने प्रतिबद्धतसहित विपन्नलाई सम्पन्न र पिछडा वर्गलाई विकासको मूलधारमा ल्याई देशको समुचित समृद्दिमा हातेमालो गर्न स्थापना भएको ऊर्बरा फाउन्डेशनको आयोजनामा उक्त एकल साङ्गीतिक साँझलाई सँझ्या साहित्य, सोइनम बूक्स्, ज्योति साहित्य प्रतिष्ठान, एशिया फ्रेन्डसीप नेटवर्क, हटलाईन समाचार, औषधि उत्पादन सङ्घलगायतका संङ्घसंस्थाले प्रायोजन गरेको बताइन्छ । उक्त कार्यक्रमको टिकट दर, रु २०००/-, १०००/-, ५००/-, २००/- र १००/- तोकिएको छ ।