सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्रिय पत्रकारिता पुरस्कार पाएका खानको नेपालगन्जमा अभिनन्दन

राष्ट्रिय पत्रकारिता पुरस्कार पाएका खानको नेपालगन्जमा अभिनन्दन

4430
Shares
राष्ट्रिय पत्रकारिता पुरस्कार पाएका खानको नेपालगन्जमा अभिनन्दन

नेपालगन्ज, ५ जेठ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल सरकारले २ लाख रुपैयाँ सहितको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित गरेकोमा बाँके युनेस्को क्लबले पत्रकार सिराज खानको अभिनन्दन गरेको छ ।बाँके युनेस्को क्लबले आफ्नो कार्यालयमा एक स्वागत तथा अभिनन्दन कार्यक्रमको आयोजना गरी पुरस्कृत पत्रकार खानलाई बधाई तथा शुभकामना दिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले सरकारले क्लबका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका पत्रकार खानलाई राष्ट्रिय पत्रकारिता जस्तो ठुलो र गरिमामय पुरस्कार र सम्मान प्रदान गरेकोमा सरकारप्रति आभार ब्यक्त गर्दै यसले बाँके लगायत पश्चिम नेपालकै पत्रकारिताको सम्मान भएको बताउनु भयो । लामो समयदेखि निरन्तर पत्रकारितामा संलग्न रहनु भएका खानलाई सरकारले सम्मान गरेर काम गर्दै जाँदा एक न एक दिन त्यसको उच्च मूल्यांकन हुने कुरालाई समेत प्रमाणित गरेको बताउनु भयो ।
उक्त अवसरमा बोल्दै बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष तथा सम्मानित एवं पुरस्कृत ब्यक्तित्व सिराज खानले क्लबले गरेको अभिनन्दन, स्वागत र सम्मानप्रति आभार ब्यक्त गर्दै सबैको सहयोग र स्नेहका कारण पुरस्कृत भएको बताउनु भयो । सो अवसरमा क्लबका उपाध्यक्ष पन्चम गुरुंग, सचिव बुधेश जयसवाल, वरिष्ठ कार्यक्रम संयोजक रवि तुलाधर, आर्थिक तथा प्रशासन प्रबन्धक वेद पंगाली, कार्यक्रम संयोजकहरु आशिष बर्मा, कमल थारु, राम श्रेष्ठ, रविन्द्र पराजुली, सोम डोमेनडौरा, सुदिप र बाल क्लब संजालका साहिल अन्सारी लगायतले सरकारले पुरस्कृत गरेकोमा बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
यसअघि पत्रकार खानलाई क्लबका अध्यक्ष सिद्दिकी लगायत अन्य पदाधिकारी र कर्मचारीहरुले खादा ओढाउँदै फुलमाला तथा अविर लगाएर उहाँको अभिनन्दन गरेका थिए । २०४६ सालबाट पत्रकारिता शुरु गर्नु भएको पत्रकार खान हालसम्म बिभिन्न संचार माध्यममा आवद्ध भएर पत्रकारिता गर्दै आउनु भएको छ । गत १२ बर्षदेखि उहाँले गोरखापत्र दैनिकमा नेपालगन्ज समाचारदाताको रुपमा काम गर्दै आउनु भएको छ । यही बैशाख २४ गते तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल सरकारले उहाँ लगायत देशका ८ जना वरिष्ठ पत्रकारहरुलाई जनही २ लाख रुपैयाँ सहित पुरस्कृत र सम्मानित गरेको थियो ।

4430
Shares

ट्रेन्डिङ