सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • दुई दशकमा पनि पूरा भएन धोबीखोला करिडोर

दुई दशकमा पनि पूरा भएन धोबीखोला करिडोर

6795
Shares
दुई दशकमा पनि पूरा भएन धोबीखोला करिडोर

काठमाडौं, फाल्गुन २०ः काठमाडौँ उपत्यकाको सहरी विकास तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन निर्माण सुरु गरिएको धोबीखोला करिडोरको काम झन्डै दुई दशकमा पनि सम्पन्न हुन सकेको छैन । खोलाको दुवैतिर गरी कुल २४ किलोमिटर लम्बाइ रहेको यस करिडोरको निर्माण २०५८ सालदेखि सुरु भएको हो । काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापको व्यवस्थापन तथा सहरी विकासका लागि विभिन्न उपाय खोज्दै जापान सहयोग नियोग (जाइका) ले सन् १९९३ मा गरेको अध्ययन प्रतिवेदनको सुझाव अनुसार २०५८ देखि यो आयोजना सुरु गरिएको हो ।

झन्डै दुई दशकको अवधिमा अहिलेसम्म आयोजनाको ट्र्याक खोल्ने काम पनि सम्पन्न हुन सकेको छैन । ट्र्याक खोल्ने काम अझै दुई प्रतिशत बाँकी रहेको छ । अहिलेसम्म आयोजनाको कुल भौतिक प्रगति ७० प्रतिशत रहेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासी वर्षायाममा हिलो र हिउँदमा धुलो खान बाध्य भएका छन् भने आयोजनाको सुरुका वर्षमा निर्माण गरिएका संरचनासमेत ठाउँठाउँमा भत्किन थालेका छन् ।

सो करिडोर निर्माणको जिम्मा पाएको सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त भाइकाजी तिवारी बजेटको अभाव तथा ठाउँठाउँमा जग्गा विवादका कारण आयोजनाको काम आशा गरेअनुसार अगाडि बढ्न नसकेको बताए । आगामी आर्थिक वर्षभित्र यस आयोजनाको सम्पूर्ण काम सम्पन्न हुने उनको दाबी छ ।

आयोजनाका अनुसार अहिलेसम्म यो करिडोर निर्माणको शीर्षकमा दुई अर्ब ८९ करोड ९० लाख रुपियाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा यो आयोजनाको शीर्षकमा क्षतिपूर्तिका लागि एक करोड ९५ लाख र निर्माणका लागि २२ करोड ४८ लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा अहिलेसम्म करिब १८ करोड रुपियाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । यो आयोजना सम्पन्न गर्न अझै करिब ५० करोड रुपियाँ आवश्यक रहेको प्रमुख आयुक्त तिवारीले बताए ।

चालू आर्थिक वर्षमा आयोजनाको ९५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेटको अभावमा सो लक्ष्य पूरा हुन नसक्ने आयोजना प्रमुख तिवारीको भनाइ छ । यो आर्थिक वर्षमा आएको बजेट अनुसारको सबै ठेक्का सम्झौता सम्पन्न भइसकेको उनले जानकारी दिए । आयोजना प्रमुख तिवारीका अनुसार करिडोरको कुल लम्बाइ २४ किलोमिटरमध्ये अहिलेसम्म दुवैतिर गरेर १४ किलोमिटर कालोपत्रे भइसकेका छन् । सुरुमा खोलाको दुवैतिर गरेर यस आयोजनाको कुल लम्बाइ ११ किलोमिटर मात्र तय गरिएको थियो ।

नीलोपुलभन्दा माथि कपन क्षेत्रमा पाँचवटा घर रहेको जग्गासम्बन्धी विवाद समाधान हुन नसक्दा ट्र्याकको काम सम्पन्न हुन नसकेको उनको भनाइ छ । सो ठाउँमा जग्गाको मुआब्जा तिरी जग्गा अधिग्रहण गर्नुपर्नेछ । नीलोपुल क्षेत्रमा करिब दुई सय मिटर सडक ट्र्याक खोल्न बाँकी छ । आयोजनाका अनुसार अहिले कपन भङ्गालमा ढल हाल्ने, ढलान गर्ने, रेलिङ हाल्नेलगायतका काम भइरहेका छन् ।

कपन क्षेत्रका बासिन्दा रमेश तिवारीले आयोजनाको काम सम्पन्न हुन नसक्दा यस करिडोरका स्थानीयवासी बर्सेनि वर्षायाममा हिलो र हिउँदमा धुलो खान बाध्य रहेको गुनासो व्यक्त गरे । सम्बन्धित आयोजना र व्यक्तिले नै यो करिडोरको काम सम्पन्न गर्न नचाहेको आरोप लगाउँदै उहाँले यो करिडोरकै कारण यस क्षेत्रको समग्र आर्थिक विकास ठप्प रहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

 

6795
Shares

ट्रेन्डिङ