काभ्रे : राष्ट्रपति महिला उत्थान कार्यक्रम काभ्रेको दुर्गम क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाबाट सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार गरिएको हो ।
पालिकाको वडा नम्बर ८ की लोकमाया दर्लामीको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । २८ बर्षीय लोकमाया आज विहान ६ बजे घर्तीछाप स्वास्थ्य चौकीमा पुग्नुभएको थियो । स्वास्थ्य चौकीका अनुसार बिहान ९ बजे लोकमाया सुत्केरी हुनुभएको थियो । तर सालनाल अड्किई अत्याधिक रक्तश्राव भएर बेहोस भएपछि सेनाको हेलिकप्टरमा मार्फत उद्धार गरिएको हो ।
घर्तीछाप स्वास्थ्य चौकीले हेलिकप्टरको माग गरेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पत्र पठाएको थियो । राष्ट्रपति कार्यालयले यहि मन्त्रालय मार्फत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गर्दै आएको छ ।
यसअघि पनि महाभारत र खानीखोला गाउँपालिकाका सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । यसरी उद्धार गरिएका महिलाको उपचार खर्च समेत मन्त्रालयले नै ब्यहार्ने गरेको छ ।