जिल्ला प्रहरी कार्यालय काभ्रेमा ४५० जनाले म्यादी प्र ह रीका लागि आवेदन दिएका छन् । जसमा ३५२ पुरुष र ९८ महिला रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
आजदेखि स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आवेदन लिन थालिएको हो । म्यादीमा जाने इच्छा भएकाले आजदेखि ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । ४० दिनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ ।
चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने तयारी रहेको छ ।
म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ ।