काभ्रेपलान्चोक । स्वास्थ्य बीमा बोर्डले साउन १ गतेदेखि सरकारी स्वास्थ्य संस्थालाई मात्र बीमाको प्रथम सेवा बिन्दु तोक्ने निर्णय गरेपछि धुलिखेल नगरपालिकाभित्र स्वास्थ्य सेवा थप जटिल बनेको छ।
बोर्डको निर्णयअनुसार अब बीमाको सेवा सरकारी स्वास्थ्य केन्द्रबाट मात्र लिनुपर्ने व्यवस्था भए पनि धुलिखेल नगरपालिका भित्रको तोकिएको एकमात्र सेवा केन्द्रले अझैसम्म सामान्य रिफर सिफारिस समेत गर्न सकेको छैन।
धुलिखेल अस्पताललाई सेवा बिन्दुबाट हटाइएपछि बनेपा, पनौती, पाँचखाललगायतका नागरिकहरू उपचारका लागि आवश्यक रिफर लिन अन्यत्र जान बाध्य छन्। उनीहरू हाल भकुन्डेबेसी नजिकैको नौबिसे प्रादेशिक अस्पताल, पनौतीको सुन्धान र खोपासी प्राथमिक सेवा केन्द्र धाउनुपर्ने अवस्था छ। ‘स्वस्थ शहर’को उपाधि पाएको धुलिखेल नगरभित्रै बीमा सेवा बिन्दु सञ्चालन हुन नसक्नु आफैंमा विडम्बनापूर्ण बनेको छ।

स्वास्थ्य बीमा बोर्डले तोकेको प्राथमिक सेवा केन्द्रमा न त पर्याप्त जनशक्ति छ, न त सेवा दिन सक्ने पूर्वाधार। सेवा सुरु भएको आठ दिन बितिसक्दा पनि सेवा केन्द्रले रिफर सिफारिस दिन नसकेको स्थानीयको गुनासो छ।
बोर्डको अन्तिम पत्राचार अनुसार धुलिखेल अस्पतालले तोकिएको सेवा केन्द्रलाई सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ। तर, धुलिखेल अस्पतालका प्रा. डा. बलराम मल्ल भन्छन्, “हामीसँगको संरचना र प्रणालीले यस्तो सहयोग गर्न मिल्दैन। यो व्यवस्था कार्यान्वयन योग्य छैन।”
त्यस्तै, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. दीपक ढकालले सेवा केन्द्रमा जनशक्ति र औषधिको अभाव रहेको बताउँदै, “हामीलाई अपेक्षाकृत बिरामी चाप भएको छ। व्यवस्थापनमा समस्या छ,” भने।
उपचारका लागि धुलिखेल अस्पताल आउने बिरामीहरू थप हैरानीमा परेका छन्। पनौतीकी बिरामी सुबद्रा अधिकारीले भनिन्, “धुलिखेल अस्पतालमै उपचार हुने आशमा आउँछु, तर अहिले भने रिफर लिन पनौती जानुपरेको छ।” उनले रोगअनुसार फरक-फरक केन्द्रबाट रिफर सिफारिस लिनुपर्ने बाध्यता रहेको गुनासो गरिन्।
बनेपा नगरपालिका वडा नं. ३ का रामप्रसाद दाहाल र वडा नं. २ का नवराज धिमिरेले पनि अस्पतालबाट रिफर नपाउँदा अन्यत्र दौडधूप गर्नुपरेको गुनासो गरे।
धुलिखेल नगरपालिकाले भने सेवा बिन्दु सञ्चालन गर्न नसक्ने स्पष्ट गर्दै धुलिखेल अस्पताललाई नै पुनः बीमाको सेवा केन्द्र कायम गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ। वडा नं. ८ का अध्यक्ष एवं अस्पताल व्यवस्थापन समिति अध्यक्ष विनोद गौतमले भने, “धुलिखेल अस्पताललाई नै सेवा बिन्दुमा कायम राख्नुपर्छ भन्ने हाम्रो माग हो।” तर, नगरकै केही जनप्रतिनिधिहरूले भने नगरपालिकाले धुलिखेल अस्पतालको आडमा अन्य सरकारी स्वास्थ्य केन्द्रहरूको उपेक्षा गरेको आरोप पनि लगाएका छन्।
हाल धुलिखेल नगरका हजारौं नागरिक रिफरको नाममा स्वास्थ्य सेवा लिन भौगोलिक रूपमा टाढाका केन्द्रमा धाउन बाध्य छन्। तत्कालै प्रभावकारी सहकार्य र स्पष्ट निर्णय नगरे सेवामा थप अन्योल र नागरिकको हैरानी बढ्ने संकेत देखिएको छ।