सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • ५० वर्षपछि भुम्लु पालिकावासीलाई लालपुर्जा

५० वर्षपछि भुम्लु पालिकावासीलाई लालपुर्जा

“भूमि समस्या समाधान सरकारको प्राथमिकता हो” – मन्त्री अधिकारी

590
Shares
५० वर्षपछि भुम्लु पालिकावासीलाई लालपुर्जा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका वडा नम्बर ७ र ८ का करिब ४२३ जग्गाधनीले ५० वर्ष लामो प्रतीक्षापछि लालपुर्जा पाएका छन्।

मंगलबार आयोजित विशेष समारोहमा भू–व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपुर्जा हस्तान्तरण गर्दै भूमिसम्बन्धी दीर्घकालीन समस्या समाधान सरकारको प्राथमिकता भएको बताउनु भयो ।

उनले भने, “सरकार गठन भएदेखि नै भूमिहीन र समस्या भएका नागरिकका पक्षमा काम गर्दै आएका छौं। भुम्लुको मात्र होइन, देशभरका यस्ता समस्या क्रमिक रूपमा हल गरिनेछ। नागरिक र तीन तहका सरकारबीच सहकार्य गरेर मात्रै दिगो समाधान सम्भव हुन्छ।”

भुम्लु क्षेत्रमा लालपुर्जाको समस्या विसं २०३२ देखि देखिएको हो। त्यतिबेला साविक पिपलटार गाविस फुट्दा खेतीयोग्य ‘टार’ जमिन कुन गाविसमा पर्ने भन्ने विवाद भएपछि नापी कार्य रोकिएको थियो। विसं २०३२ र २०३५ मा गएको नापी टोली विवादकै कारण फर्किएपछि स्थानीयले लालपुर्जा पाउन सकेका थिएनन्।

विसं २०७१ मा पुनः नापी टोली खटिए पनि प्रक्रिया टुंगिएन। त्यसपछि पटक–पटक छुटेका निवेदन मागेर छानबिन कार्य अघि बढाइएको थियो। हालसम्म पालिकामा करिब एक हजारभन्दा बढी निवेदन दर्ता भएको छ।

नापी कार्यालयका अनुसार हालसम्म करिब ४२३ लालपुर्जा तयार भएको र थप करिब ९०० लालपुर्जा बनाउनुपर्ने देखिएको छ। लालपुर्जा वितरणपछि मालपोतसहित जग्गा प्रशासनका अन्य प्रक्रिया सुरु हुने जनाइएको छ।

कार्यक्रममा मन्त्रालयका सचिव, महानिर्देशक, मालपोत र नापी कार्यालयका प्रमुख तथा जनप्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो।

590
Shares

ट्रेन्डिङ