भदौ १५ , बनेपा ; काभ्रेको पनौती नगरपालिका–८, मल्पीमा श्री संजय साई अन्तर्राष्ट्रिय साधना केन्द्र–पुण्यवती साई धाम निर्माण भइरहेको छ। करिब २५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त धामलाई पनौतीको धार्मिक तथा सांस्कृतिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।श्री संजय साई सेवा अर्गनाइजेसनको अगुवाइमा निर्माणाधीन धाममा गणेश, नाग, हनुमान, कुमार, गायत्री माता, नवग्रह र क्षेत्रपाल मन्दिरसहित ५२ फिट अग्लो गोपुरम् निर्माण भइसकेको छ। धाम परिसरमा करिब सात हजार भक्तजन एकैपटक अट्न सक्ने दर्शनमण्डपसमेत निर्माणाधीन रहेको छ ।
भवन निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०८० मंसिर २८ गते स्वीकृत भई सम्पन्न भएको थियो। डीपीआर सम्पन्न भएलगत्तै पूर्वाधार निर्माणलाई अगाडि बढाउन संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ मा रु. एक करोड ५० लाख विनियोजन गरेपछि निर्माण कार्य सुरु गरिएको थियो। आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेश सरकारले रु. एक करोड विनियोजन गरेको थियो भने हाल प्रदेश सरकारबाट रु. ३५ लाख विनियोजन गरिएको श्री संजय साई सेवा अर्गनाइजेसन निर्माण समितिका सदस्य अमित केसीले बताउनुभयो ।
हाल धामको निर्माण कार्य दाताहरूको सहयोगबाट सञ्चालन भइरहेको छ। निर्माणको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको केसीले बताउनुभयो। बाँकी काम पूरा गरी सन् २०२७ जनवरीमा उद्घाटन गरेर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।धामको निर्माण पूरा गर्न आर्थिक तथा भौतिक सहयोग आवश्यक रहेको भन्दै केसीले सहयोगी दाताहरूलाई सहयोगका लागि विशेष अपिल गर्नुभएको छ ।

पनौती धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको नगर भएकाले यहाँ निर्माण भइरहेको साई धामले धार्मिक पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताउनुभयो। धामसम्म पुग्ने सडक तथा बाटोको पहुँच सहज बनाउन नगरपालिकाले हालसम्म रु. १० लाख बजेट विनियोजन गरिसकेको उहाँले जानकारी दिनुभयो । आवश्यकता अनुसार आगामी दिनमा थप बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
पनौतीमा आउने धार्मिक पर्यटकको सङ्ख्या बढाउन धामले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको प्रमुख भण्डारीले बताउनुभयो ।उहाँले भन्नुभयो, “पनौती आफैँमा तपोभूमि, ऐतिहासिक तथा सांस्कृतिक नगरी हो। पर्यटन र त्यसमध्ये पनि धार्मिक पर्यटनको अत्यन्तै सम्भावना भएको यस नगरमा प्रसिद्ध सचितीर्थ धाम, विश्व सम्पदामा सूचीकृत गर्ने तयारीमा रहेको नेवारी बस्ती, इन्द्रेश्वर मन्दिर लगायतका धार्मिक तथा सांस्कृतिक सम्पदा रहेका छन् । यस्ता सम्पदाका कारण पनौतीको आफ्नै विशिष्ट पहिचान छ । निर्माणाधीन विशाल साई धाम धार्मिक पर्यटन प्रवद्र्धनको नयाँ आकर्षणका रूपमा विकास हुने विश्वास लिएका छौँ।”
निर्माण सम्पन्न भएपछि धाममा एकैपटक करिब सात हजार भक्तजन अटाउन सक्ने व्यवस्था गरिनेछ। यसबाट धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी हुने भक्तजनको सङ्ख्या बढ्नुका साथै पनौतीको धार्मिक पर्यटन, स्थानीय व्यापार तथा आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन टेवा पुग्ने अपेक्षा गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।.
पनौतीका विद्यमान धार्मिक तथा सांस्कृतिक सम्दासँग साई धामलाई जोडेर धार्मिक पर्यटकका लागि थप आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिएमा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने देखिन्छ ।


