सबैको समाचार
मङ्लबार, भदौ ३०, २०८३

चथा पर्व सम्पन्न

5
Shares
चथा पर्व सम्पन्न

भदौ ३०, काभ्रे ; नेवार समुदायले चथा पर्व मनाएका छन्। पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भाद्र शुक्ल चतुर्थी आज परे पनि चतुर्थी तिथि हिजो सोमबार साँझदेखि सुरु भएकाले नेवार समुदायले चथा पर्व हिजै मनाएका हुन्। नेवार समुदायको मौलिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने चथामा विशेष विधिपूर्वक पूजा आराधना गर्ने परम्परा रहेको छ ।

चथा पर्वमा विशेषगरी गणेशको पूजा आराधना गरिन्छ। घरको आँगन, कौसी वा पूजा गर्ने स्थान सफा गरी परिवारका सदस्य एकै ठाउँमा बसेर विभिन्न पूजा सामग्री राखी विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ ।

चथा पूजामा विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढाउने गरिन्छ। पूजाका लागि अदुवाको बोट, स्याउ, मौसम, अम्बा, काक्रो, मुला, मकै, भटमास, चना, गहुँ, केराउ, बकुला, आरुको बीउ, फर्सीको बीउलगायत सामग्री राख्ने परम्परा छ। घरमा उपलब्ध विभिन्न कृषि उपज तथा फलफूललाई पूजा सामग्रीका रूपमा प्रयोग गर्ने गरिन्छ ।

चथा पर्वमा प्रयोग गरिने फलफूल, अन्न तथा गेडागुडीले कृषि, प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई झल्काउने जनविश्वास रहेको छ । वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले समेत चथा पूजा गर्ने परम्परा रहेको इन्द्रेश्वर महादेवका पुजारी शिवप्रसाद जंगमले बताउनुभयो ।

चथा पर्वसँग चन्द्रमासम्बन्धी धार्मिक विश्वास पनि जोडिएको छ । यस दिन चन्द्रमा हेर्न नहुने जनविश्वास रहेको छ। चन्द्रमा हेरेमा झुटो आरोप वा अपवाद लाग्न सक्ने धार्मिक मान्यता रहेकाले पूजा गर्दा आकाशतर्फ नहेर्ने परम्परा रहेको पाइन्छ ।

5
Shares

ट्रेन्डिङ