काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति, संविधान सभा सदस्य, पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधी, जनसम्पर्क समितिका पदाधिकारी र काभ्रेपलाञ्चोक जिल्लाका दुबै क्षेत्रका महाधिवेशन प्रतिनिधीको समर्थनमाकेन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा गरेका हुन् ।
काभ्रेपलाञ्चोक जिल्ला सभापतिको रूपमा संगठन निर्माणमा पु¥याएको योगदान, संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा खेलेको भूमिका र बागमती प्रदेश सरकारको मन्त्रीका रूपमा जनताको सेवामा समर्पित अनुभवलाई साक्षी राख्दै नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेको लामाले बताए ।

आफ्नो राजनीतिक यात्रा, संगठनमा निर्वाह गरेको जिम्मेवारी र सार्वजनिक सेवाको अनुभवलाई मूल्याकंन गरी केन्द्रीय सदस्यको रुपमा सेवा गर्ने अवसर प्रदान गर्न सबै महाधिवेशन प्रतिनिधीलाई आग्रह समेत गरेका छन् ।
को हुन् तीर्थ लामा ?
विक्रम संवत् २०३० असार ९ गते काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ६ (साविक सिपली चिलाउने गाविस वडा नं. १) मा निम्न मध्यमवर्गीय र राजनीतिक पारिवारिक पृष्ठभूमिमा जन्मिएका लामाले स्नातक तहसम्म अध्ययन गरेका छन् । पेशाले निर्माण व्यवसायी रहेका उनले व्यवसायका साथै शिक्षा, स्वास्थ्य लगायतका सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
वि.सं. २०६४ मा नेपाली कांग्रेसको क्षेत्रीय उपसभापतिको रूपमा सांगठनिक जिम्मेवारी सम्हालेका लामा १२ औँ र १३ औँ महाधिवेशनमा लगातार दुई कार्यकाल क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरेका थिए । २०६८ देखि २०७१ सम्म नेपाल तामाङ संघको केन्द्रीय सदस्यसमेत थिए।
पार्टीको १४ औँ महाधिवेशनबाट नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको सभापति निर्वाचित भएका थिए । वि.सं. २०७० को संविधान सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ बाट निर्वाचित भई लामाले संविधान सभा सदस्यको रूपमा योगदान पु¥याएका छन् । संविधान सभा सदस्य रहँदा उनले नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्यका रूपमा काम गरे । वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेका प्रत्यासी भए । लामा वि.सं. २०७९ को प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भए ।
प्रदेश सभा सदस्य बनेपछि उनले वि.सं. २०७९ चैतदेखि २०८० फागुनसम्म बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए । संविधान सभा मार्फत नेपालको नयाँ संविधान निर्माणमा प्रत्यक्ष योगदान पु¥याएका छन् । काभ्रे जिल्लामा नेपाली कांग्रेसको संगठन सुदृढीकरण तथा परिचालनमा निरन्तर सक्रिय रहँदै आएका उनले जिल्लाको भौतिक पूर्वाधार विकास—जस्तै सडक, खानेपानी, विद्युत, स्वास्थ्य तथा विद्यालय भवन निर्माणका लागि उल्लेख्य बजेट व्यवस्थापन र विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।


