सबैको समाचार
शनिबार, बैशाख १५, २०८१

5100
Shares

जेठ ११, काठमाडौं । रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार साँझ जाउलाखेलमा प्रदर्शन हुँदैछ। भोटो अवलोकन गर्न पाउने भए पनि मत्स्येन्द्रनाथका साथमा रहनुपर्ने गरगहना सार्वजनिक गर्ने चलन भने अझैसम्म सुरु भएको छैन। गुठी संस्थान केन्द्रीय गुठी लगत तथा अभिलेख कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार मच्छिन्द्रनाथका सयौँ अनमोल गरगहना हनुमानढोका दरबारस्थित गद्दी बैठकमुन्तिर राखिएको छ। यी गहना सङ्ग्रहालयमार्फत दुनियाँलाई देखाउने सोच भए पनि संस्थान सञ्चालक समितिको बैठक बस्न नसकेर अलमलिएको छ।
गद्दी बैठकमा रानी राजराजेश्वरीले १८६० सालमा चढाएको ३४ तोला सुनको माला र अन्य माला छन्। नेवारी लिपिमा राजा जयस्थिति मल्ल लेखिएको २६ तोला सुनको माला, हृदय फूलमा पत्थरजडित १८ तोला सुनको चारपाटे जन्तर, १२ तोला सुनको नागफणा, ५० तोला सुनको पाउ, चाँदीको अष्ट मङ्गल ३८ तोला सुनको मत्स्येन्द्रनाथको मूर्ति छन्। चाँदीको पातामा सुनको पाताले मोरेको ६५ तोलाको मुकुट पनि यही गद्दी बैठकमुन्तिर छ। प्रमुख राजेन्द्र दाहालका अनुसार यी गहना सङ्ग्रहालयमार्फत सार्वजनिक गर्ने विषयमा संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुवेदीको अध्यक्षतामा गठित समितिले हालसालै गुठी संस्थानमा प्रतिवेदन बुझाइसकेको छ।
संस्थानको भद्रकालीस्थित भवनलाई सङ्ग्रहालय बनाउने वा नारायणहिटी सङ्ग्रहालयको एक हिस्सामा यी गहना राख्ने भन्ने विकल्प प्रतिवेदनमा दिइएको बताउँदै उनले ती गहना यसै थन्क्याएर राख्न नहुने बताए। पटकपटक सरकारी समितिले ती गरगहना सङ्ग्रहालयमा राखी सार्वजनिक गर्न सिफारिस गरेको उनले बताए। उनका अनुसार रातो मत्स्येन्द्रनाथ बाहेक मुलुकका सबै देवस्थलका अमूल्य गहना, सुनका मूर्ति, मुकुट, हीरा जवाहरातले गद्दी बैठकको मुन्तिरको भाग भरिएको छ।
कतिपय गरगहना वेसबुत अवस्थामा पनि छन्। त्यस्ता सुनका टुक्राटाक्री १३ तोला हाराहारीमा थैलामा पोको पारिएको छ। सुनमा पत्थर जडान गरेको मत्स्येन्द्रनाथको मूर्ति भएको ३७ तोला र अर्को छुट्टै ४७ तोला सुनका पोको पनि यही छ। प्रदर्शन हुने मत्स्येन्द्रनाथका साथमा रहेको भोटोको झरेको पत्थरबारे थाहा नभएको बताइएको छ।
बिहीबार भोटो प्रदर्शन गर्ने गुठी संस्थान पाटन शाखाका प्रमुख बैकुण्ठ आचार्यका अनुसार भोटोमा केही पत्थर झरेको अवस्थामा छ। भोटो देखाउने दिन काठमाडौँ उपत्यकामा गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको छ।
-गोरखापत्र

5100
Shares

ट्रेन्डिङ