सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फेरि उठ्यो बुढीगण्डकीको विवाद, चीनप्रति ठूलो अविश्वास

फेरि उठ्यो बुढीगण्डकीको विवाद, चीनप्रति ठूलो अविश्वास

3460
Shares
फेरि उठ्यो बुढीगण्डकीको विवाद, चीनप्रति ठूलो अविश्वास

काठमाडौं, ४ भदौ । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) गेजुवासँग सरकारले सहमति गरे पनि नेपाललाई हित हुने कुरामा विशेष ध्यान दिनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

नेपाल इन्जिनियरिङ पेसाकर्मी सङ्घ (नेपा)को आयोजनामा शनिबार आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजना : प्राविधिक, अर्थराजनीतिक र कानुनी प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले त्यस्तो सुझाव दिनुभयो । राष्ट्रिय गौरवको आयोजनामा पर्ने बहुचर्चित जलाशययुक्त बूढीगण्डकी आयोजनाको काममा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँहरूले बताउनुभयो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय गौरवका आयोजना सकेसम्म नेपाली स्रोतसाधनले निर्माण गर्दा उपयुक्त हुने भए पनि आर्थिक समस्याले विदेशी कम्पनीलाई दिनुपर्ने बाध्यता रहेको बताउनुभयो । बूढीगण्डकीजस्तो आयोजनालाई नेपालले आफैँ निर्माण गर्न नसक्दा चिनियाँ कम्पनीलाई दिनु परेको चर्चा गर्दैै आयोजना निर्माणको चरणमा नेपाली हितमा ध्यान दिनुपर्छ भन्नुभयो ।

जलविद्युत्विज्ञ डा. डम्बर नेपालीले बूढीगण्डकीजस्तो आयोजनालाई नेपाली पैसा र स्रोतसाधनले निर्माण गर्ने सम्भावना रहँदारहँदै सरकारले चिनियाँ कम्पनीलाई दिएको गुनासो गर्नुभयो । सकेसम्म आफ्नै स्रोतसाधनको सदुपयोग गर्नेतिर हामीले ध्यान दिनुपर्छ, विदेशीले बनाइदिन्छन् भनेर मक्ख पर्दा नेपाललाई घाटा हुने उहाँले तर्क गर्नुभयो ।

बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका पूर्वअध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले जल, खाद्य र ऊर्जा सुरक्षा नहुँदासम्म मुलुक स्वाधीन हुन नसक्ने बताउनुभयो । बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणले त्यस क्षेत्रको पर्यटकीय विकास पनि हुने उहाँले चर्चा गर्नुभयो । त्यस आयोजनाको निर्माणले मुलुकको अर्थतन्त्रसमेत सबल हुने दाबी उहाँले गर्नुभयो ।

जलस्रोतविज्ञ डा. नारायण चौलागाईं र डा. विष्णुप्रसाद शर्मा नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण, सम्झौता र नेपाललाई हुने फाइदा र बेफाइदाका बारेमा प्रकाश पार्नुभएको थियो । सरकारले चिनियाँ कम्पनीसँग सम्झौता गर्दा हल्का तरिकाले सम्झौता गरेको र नेपालको हितमा खासै ध्यान दिन नसकेको उहाँहरूको टिप्पणी छ ।

कार्यक्रममा डा. राजेन्द्र अधिकारी, छवि पोखरेल, हरिराम श्रेष्ठ लगायतले बूढीगण्डकी जलविद्युत् आयोजनाका बारेमा चर्चा
गर्नुभएको थियो ।

3460
Shares

ट्रेन्डिङ