सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • चिनियाँ विकासको चौथो चरणः मोर्चाबन्दी बलियो बनाउँदै सी जिनपिङ यसकारण टाढा छैन नेपाल !

चिनियाँ विकासको चौथो चरणः मोर्चाबन्दी बलियो बनाउँदै सी जिनपिङ यसकारण टाढा छैन नेपाल !

4910
Shares
चिनियाँ विकासको चौथो चरणः मोर्चाबन्दी बलियो बनाउँदै सी जिनपिङ यसकारण टाढा छैन नेपाल !

१२ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको १९औं कंग्रेस (महासभा) चल्दै गर्दा क्युबाली कम्युनिस्ट पार्टीले प्रतिक्रिया दिएको थियो, ‘राष्ट्रपति सी जिनपिङ विकासको नौलो अभ्यास गर्दैछन् र यो साँच्चै स्तुत्य छ ।’

आगामी केही दशकका लागि चिनियाँ मोडेलको विकासले संसारलाई ‘सरप्राइज’ दिने क्युबाली कम्युनिस्ट नेता जोसे रामोन बलागुरकै भनाइ चरितार्थ गरे, राष्ट्रपति सीले । संसारलाई चकित पार्दै उनले कम्युनिस्ट पार्टीको शक्ति मात्र आफूमा केन्द्रित बनाएनन्, पाँच वर्षपछि आफ्ना उत्तराधिकारी नतोकेर विकास मोडेलको सफलताका लागि आवश्यक परे शक्तिमा कायम रहने संकेत पनि दिए ।

पाँच वर्षपछि राष्ट्रपति सी सत्तामा रहिरहन्छन् या यसबीचमा उत्तराधिकारी तोकेर अवकाशको बाटो रोज्छन् भन्ने विषय गौण हो । किनभने, विकासको चौथो चरण हाँक्ने चिनियाँ चाहनामा कम्युनिस्ट पार्टीका सबै सदस्यले एकमतले समर्थन जनाएका छन् ।

क्युबाली कम्युनिस्ट नेता बलागुरको भनाइजस्तै राष्ट्रपति सीको कदम प्रभावक्षेत्रको व्यापक विस्तार र अन्तर्राष्ट्रिय मञ्चमा बलियो उपस्थितिको उद्देश्यबाट अभिप्रेरित देखिन्छ । मौलिक सिद्धान्तका आधारमा चीन शान्तिपूर्ण सह-अस्तित्वसहितको बहुपक्षीय विश्व चाहन्छ । र, विकास र सहयोगको क्षेत्रलाई व्यापकता दिन चाहन्छ ।

राष्ट्रपति सीले अगाडि सारेको चीनको मौलिक समाजवाद नौलो सिद्धान्त हुँदै होइन । उनी त माओत्से तुङपछिको चीनलाई विकासको चौथो चरणमा अगाडि बढाउन चाहन्छन् । र, त्यो ‘चिनियाँ प्रकृतिको समाजवादमा सी जिनपिङको विचारधारा’का रुपमा प्रकट भएको छ ।

यसको अन्तर्य थाहा पाउन इतिहासतिर एक पटक नजर दौडाउनै पर्छ ।

माओत्से तुङले कम्युनिस्ट क्रान्तिको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीन स्थापना गरे । उनीपछिका नेता देङ सियाओ पिङले ‘काइग काइफा’ अर्थात् ‘ओपनिङ अप’को अवधारणा ल्याए । माओ र देङका विचारधारा थिए, ती । देङले खुला बजारमा प्रवेश गर्ने सिद्धान्त प्रतिपादन गरेका थिए ।

सीभन्दा अगाडिका राष्ट्रपतिहरु जियाङ जेमिन र हु जिनताओले पनि आफ्ना अवधारणा नल्याएका होइनन् । यद्यपि, ती विचारधारा थिएनन्, ‘सिग्नेचर’ मुद्दा मात्र थिए ।

जियाङको ‘साङ दाइबियाओ’ले सामाजिक उत्पादनशील शक्तिहरुको स्तर उकास्ने कुरा गथ्र्यो । र, चिनियाँ संस्कृतिलाई विश्वव्यापी बनाउनमा जोड दिन्थ्यो । सीभन्दा ठ्याक्कै अगाडिका राष्ट्रपति हुले वैज्ञानिक विकास (केक्सु फचान गुआन)लाई आफ्नो मुद्दा बनाए ।

उक्त अवधारणामा अगाडि बढेको चीन र त्यहाँका नागरिकको आर्थिक स्थिति राम्रो बन्यो । अब, बाह्य विश्वमा लगानी फैलाउन सक्ने अवस्थितिमा पुगे, चिनियाँ नागरिक ।

‘वान बेल्ट वान रोड’ (ओबीओआर)को फराकिलो विश्व व्यवस्थामा प्रवेश गर्ने राष्ट्रपति सीको महत्वाकांक्षाका ती खम्बा थिए, देङ, जियाङ र हुले अगाडि सारेका विकासका सफलतम मुद्दा ।

चीनको आन्तरिक विकास मजबुत बन्यो । ओबीओआरमार्फत् बाह्य विश्वमा पकड जमाउने चिनियाँ चाहना प्रकट भयो । तर, राष्ट्रपति सी त्यसलाई सिग्नेचर मुद्दामै सीमित राखेर मुलुकलाई खुम्च्याउन चाहँदैनथे ।

धेरै विश्लेषकको आकलन थियो, उनी सिग्नेचर मुद्दा स्थापित गराएर शासनबाट विदा हुनेछन् । तर, त्यसविपरित उनले सिद्धान्त नै प्रतिपादन गरे, चिनियाँ प्रकृतिको समाजवादमा सी जिनपिङको विचारधारा ।

कम्युनिस्ट पार्टीहरुको अभ्यास नै छ, जसको सिद्धान्त उसैको नेतृत्व । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवका रुपमा सी जिनपिङले गरेको ठ्याक्कै यही हो । तर, उनको सिद्धान्तले आगामी केही दशक चीनको नेतृत्व गर्ने निश्चित छ । किनभने, फेरि अर्को सिद्धान्तबाटै राष्ट्रपति सीको विचारधारालाई विकसित बनाउनुपर्ने कम्युनिस्ट शैली चीनले आगामी केही दशकसम्म कायम राख्ने कुरामा कुनै द्विविधा छैन ।

क्युबाली कम्युनिस्ट नेता बलागुरको भनाइलाई यहाँनेर जस्ताको तस्तै सापटी लिँदा अन्यथा नहोला । उनी भन्छन्, ‘कम्युनिस्ट पार्टीप्रतिको विश्वास चिनियाँ जनतामा अझ बढेको छ । किनभने, कम्युनिस्ट पार्टीले सामाजिक समस्या सम्बोधन गर्न तथा तिनलाई ठूलो महत्व दिन आफूलाई केन्दि्रत बनाएको छ ।’

चीनमा क्युबाको सफलता/असफलताका उदाहरणलाई महत्वका साथ हेरिने गर्छ । शास्त्रीय वामपन्थ अपनाएका दुवै मुलुकका सामु रहेका अन्तर्राष्ट्रिय चुनौती लगभग एकै छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युबासँग सम्बन्ध सुधारका लागि लिएको ऐतिहासिक पहलकदमी उनीपछि आएका डोनाल्ड ट्रम्पले फिका बनाइसकेका छन् । र, महाशक्तिको मार्गमा उचाइ लिँदै गरेको चीनका लागि पनि उनै ट्रम्पका भद्दा अभिव्यक्ति र कार्यशैली चुनौतिका रुपमा देखा परेका छन् ।


उपेन्द्र पोखरेल

ओबीओआरलाई पार्टी विधानमै उल्लेख गरेका छन्, राष्ट्रपति सीले । ‘टु बिल्ड अ कम्युनिटी अफ सेयर्ड फ्युचर’ भिजन अगाडि सारेका छन्, उनले । संसारको भविष्य एउटै ‘म्यान काइन्ड’का लागि जोड्ने उनको उद्देश्य देखिन्छ । ‘यो ठूलो कुरा हो,’ चिनियाँ विदेश मामिलाका शोधार्थी भाष्कर कोइराला भन्छन् ।

चीनले परापूर्वकालदेखि नै आफूलाई चुङ कुओ अर्थात् ‘मिडल किङ्डम’का रुपमा चिनाउँदै आएको छ । आफ्नो वरिपरि स-साना मुलुक र आफू त्यसको मध्यभागमा उनीहरुभन्दा माथि । त्यसभन्दा माथि भगवान मात्र । यसको अर्थ यस्तै लाग्छ ।

विज्ञान फिक्सन चुङ कुओका लेखक डेभिड विङरोभले यसको व्याख्या गरेका छन्, ‘यस्तो चीन, जो आफैंमा संसार बनेको छ । किनभने, उसको सीमा अन्तरिक्ष मात्र बाँकी छ । संसार एउटै शहरको पृथ्वी मात्र हो, जहाँ चिनियाँ राजाले मात्र शासन गर्छन् । सुन्दर, नियन्त्रित र कामुक ।’

राष्ट्रपति सीले अगाडि सारेको ओबीओआर अवधारणाले भविष्यको विश्वको यस्तै चित्र कोर्छ । संसारको केन्द्रमा चीन, चीनका वरिपरिको शान्त विश्व र अन्तरिक्ष मात्र सीमा रहेको विकास । अर्थात्, साम्यवाद !

कार्ल मार्क्सको परिकल्पना छ, पूँजीवादपछि समाजवाद र समाजवादपछि साम्यवाद । के राष्ट्रपति सी यही मार्ग पछ्याइरहेका छन् त ?

अहिलेलाई यत्ति भनौं, उनी तेस्रो कार्यकालमा पनि शक्तिमा कायमै रहेर आधुनिक चीनका लागि पहिलो दृष्टान्त दिने सोचमा देखिन्छन् ।

उनी नै त्यस्ता चिनियाँ नेता हुन्, जसले रुसदेखि पाकिस्तान, भारत, नेपाल मात्र होइन, समग्र यस क्षेत्रलाई नै साझा भविष्य निर्माणको मार्गमा अगाडि बढ्न प्रस्ताव गरेका छन् । अर्थात्, उनी एसिया र युरोपको एकै मोर्चाबन्दीमा प्रतिबद्ध छन् । अमेरिकालाई पनि त्यही साझा भविष्य निर्माणको प्रस्ताव गर्न राष्ट्रपति सी चुकेका छैनन् ।

साउन अन्तिम साता इस्लामावाद हुँदै काठमाडौं उत्रिएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले जोड दिएको विषय थियो, क्षेत्रीय एकता र त्यससँगै आर्थिक समृद्धि । तिनै वाङ अहिले कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय स्थायी कमिटीको चौथो वरियतामा छन् ।

आर्थिक महाशक्तिका रुपमा स्थापित हुन चीनका सामु प्रशस्त सम्भावना छन् । लडाईंकै मनोविज्ञानबाट संसारभर प्रजातान्त्रिक शासन व्यवस्था निर्यात्मा उल्लेख्य योगदान दिन सकेको अहिलेको महाशक्ति अमेरिकाले नै चीनलाई यस्तो ‘स्पेस’ दिएको छ, चीनलाई ।

अमेरिकाको छिमेकस्थित दक्षिण अमेरिका नै गरिबीको चक्रबाट माथि उठ्न सकेको छैन । अफ्रिकाको गरिबी अन्त्यका दिशामा अमेरिकी प्रयास सार्थक बन्न सकेको छैन । ‘पिभोट’ अर्थात् केन्द्रविन्दु संज्ञा दिएको एसियामा आफ्ना दुई कार्यकालमा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले उल्लेख्य केही गर्न सकेनन् ।

यही एसिया, जो चीनको विशालतम छिमेकी हो, मा राष्ट्रपति सीका सामु काम गर्न सक्ने प्रचुर सम्भावना छ । उनीसँग निर्यात् गर्न सक्ने अन्य केही विकल्प छैनन्, आर्थिक विकासबाहेक ।

आर्थिक विकास नै गरिबीको चक्रमा पिल्सिइरहेका नेपालजस्ता मुलुकका लागि आयातयोग्य ‘टुल्स’ पनि हो । चिनियाँ शैली हेर्दा सर्वस्वीकार्य निर्यातयोग्य वस्तु पनि आर्थिक विकास नै केन्द्रमा आउँछ । अबको विश्व चीनमा जस्तो नियन्त्रित शासन व्यवस्था स्वीकार्न सक्ने अवस्थामा देखा पनि पर्दैन ।

आधुनिक विश्वमा समृद्धिको औजार मात्र बाँकी छ, चीन र त्यसका शक्तिमान राष्ट्रपति सी जिनपिङको अघिल्तिर । हेर्न बाँकी छ, सन् २०२२ सम्मको आफ्नो अर्को कार्यकालमा उनी कति सफल बन्ने छन् ।

सन्दर्भ नेपालको

नेपालको मामिलामा चीनको कमजोर कडी तिब्बत जोडिन्छ । यस पटक केन्द्रीय समिति सचिवालयमा निर्वाचित केही सदस्य तिब्बत मामिलासँग निकट छन् ।

वाङ हुनिङ एक समयमा तिब्बत स्वायत्त क्षेत्रमा नेसनल पिपुल्स कंग्रेसका प्रतिनिधि थिए । याङ सियाओदुले तिब्बत स्वायत्त क्षेत्रमा सन् १९७६ देखि २००१ सम्म काम गरेका थिए । र, गुओ सेन्कुनले पनि तिब्बतमै केही समय बिताएका थिए ।

हुआङ कुन्मिङले जनमुक्ति सेनाका काम गरेका थिए । तिब्बत स्वायत्त क्षेत्रको पार्टी सचिव भइसकेका वु यिङ्जी १९ औं कंग्रेसबाट पूर्ण सदस्यमा बढुवा भएका छन् । दुई तिब्बती क्वि चाला र लुओसाङ जियाङ्कुन पनि केन्द्रीय कमिटीका पूर्ण सदस्य बनेका छन् ।

पोलिटब्युरोमा निर्वाचित एक मात्र महिला सुन चुन्लान अवकाशको समय कुर्दै गर्दा पनि तिब्बत मामिलासँग जोडिएकी छन् । चाङ क्विङ्ली तिब्बत मामिलामा ‘हार्ड लाइनर’ मानिन्छन् । उनी पनि केन्द्रीय कमिटीका पूर्ण सदस्यका रुपमा निरन्तर छन् । उनी सन् २००६ देखि २०११ सम्म तिब्बतमा पार्टी प्रमुख थिए ।

तिब्बती धार्मिक नेता दलाई लामाविरुद्ध कडा वक्तव्य दिएर उनी चर्चामा आएका थिए ।

चाङ यिजिओङ, जो दलाई लामाविरुद्ध कडा कदम चाल्नुपर्ने पक्षमा उभिएका छन्, उनी पनि केन्द्रीय कमिटीका पूर्ण सदस्य बनेका छन् ।

जबसम्म तिब्बत चीनको कमजोर कडी रहिरहन्छ, नेपाल उत्तरी छिमेकीको प्राथमिकताबाट बाहिर रहन सक्दैन । ओबीओआरमा नेपाललाई ‘इंगेज’मा मात्र भए पनि राख्ने चिनियाँ चाहना आफ्नो कमजोर कडीमाथि कतैबाट हुने आक्रमण रोक्ने उद्देश्यबाट अभिप्रेरित रहेको बुझ्न गाह्रो छैन ।-अनलाईन खब र बाट

4910
Shares

ट्रेन्डिङ