काठमाडौँ, १६ कात्तिक, देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले देशभरका ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएकोे जानकारी दिनुभयो ।
भिटामिन ‘ए’ को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालीन झाडा पखाला लाग्ने, दादुरालगायतका रोग लाग्ने चिकित्सकले बताएका छन् । सरकारले हरेक छ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।।।