सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • नागको चर्चा : किन गरिन्छ नागको पूजा ?

नागको चर्चा : किन गरिन्छ नागको पूजा ?

6675
Shares
नागको चर्चा : किन गरिन्छ नागको पूजा ?

काठमाण्डौ / आज नागपञ्चमी । ज्योतिषीय गणनामा सबै चाडपर्व चन्द्रमाको गतिअनुसार गणना हुन्छन् । त्यसकारण हरेक वर्षको साउन महिनाको शुक्लपक्षमा पर्ने पञ्चमी तिथिलाई नागपञ्चमीको रुपमा मनाइन्छ । तर भारतका केही स्थानहरुमा श्रावण कृष्ण पञ्चमी तिथिमा पनि नाग पञ्चमी मनाइन्छ । तर नागपञ्चमी श्रावण शुक्ल पञ्चमीको दिनमा नै मनाउन श्रेयस्कर देखिन्छ । यस दिन नाग तथा सर्पको पूजा गरिन्छ । विशेष गरेर नागको पूजा गरिने पर्व भएकाले नै यस दिनलाई नागपञ्चमी भनिएको हो । यस दिन नागलाई दूधले नुहाएर पूजा गर्ने गरिन्छ ।

विभिन्न पुराणहरुमा नागको महत्वको बारेमा बताइएको छ भने शास्त्रको आधारमा नै नागपञ्चमी व्रत मनाइने चलन बसेको देखिन्छ । भविष्योत्तर पुराणमा आजको दिन नागहरुको पूजा गर्नाले अभय मिल्दछ भन्ने कुराको उल्लेख गरिएको छ । वेदमा पनि नागलाई देवताको रुपमा पूजा गर्ने परम्परा रहेको भेटिन्छ । नागलाई पूजा गर्ने वेदका मन्त्रहरु निकै महत्वपूर्ण मानिन्छन्।

ज्योतिष तथा वास्तु शास्त्रअनुसार पानीको लागि उत्तम स्थान पूर्व उत्तरको भाग इशान दिशालाई महत्वपूर्ण मानिन्छ । यसैले काठमाण्डौको पशुपतिनाथ मन्दिरको पूर्वउत्तरको दिशामा वासुकी नागको मन्दिर छ । त्यहाँ पनि नागपञ्चमीको दिन विशेष पूजा गरिन्छ । आजको दिन देशभरका नागपोखरी र नागमन्दिरहरुमा श्रद्धालुहरुको घुइँचो हुन्छ । नागको मन्दिर भएको ठाउँमा मन्दिरमा नै गएर नागको पूजा गरिन्छ भने नभएको ठाउँमा पनि गोबरको नाग बनाएर पूजा गरिन्छ । यसरी बनाएको नागको पूजा गर्दा दियो, कलश, गणेशको पूजा गरिन्छ र बनाइएको नागलाई दूधले नुहाइ लावा, कपास, दुबोलगायतले पूजा गरिन्छ ।

नेपाली समाजमा त नागलाई गाईको भन्दा पनि चामल पिनेर बनाएको दूध चढाउने चलन छ । यसैगरी आजको दिन सबैले नागको फोटो भए पनि आफ्नो घरको ढोकामाथि टाँस्नाले नागको डर हुँदैन । त्यसकारण आजको दिन सबैले घरको ढोकामाथि गोबर लगाएर नागको तस्विर टाँस्दछन् ।

यसरी नागपूजा गर्नाले नाग देवता प्रसन्न भई नाग दोष नलाग्ने शास्त्रहरुमा वर्णन गरिएको छ । आजको दिन विशेष गरेर ८ नागको पूजा गरिन्छ ।

१) अनन्त, २) वासुकी, ३) पद्म, ४) महापद्म, ५) तक्षक, ६) कुलीर, ७) कर्कट र ८) शंख नाग । साथै नागहरुको माता मनसा देवीको पनि आज पूजा गर्नुपर्दछ । आजको दिन यी नागहरुको पूजा गरेमा मानिसको जन्मकुण्डलीमा भएका नाग दोषहरु पनि समाप्त हुन्छन् भन्ने विश्वास छ ।

हाम्रो देश कृषि प्रधान देश हो । नाग र सर्पहरुले खेतको संरक्षण गर्दछन् । त्यसकारण नागलाई क्षेत्रपाल पनि भनिन्छ । मुसा, लगायतका जीवजन्तुबाट खेतीको रक्षा गर्ने भएकाले पनि नागको पूजा गरिन्छ । नाग पञ्चमी सदियौँ पहिलेदेखि सुरु भएको हुनाले यो पर्व कहिले देखि सुरु भयो भन्ने प्रश्नको जवाफ छैन । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि लिच्छवीकालीन, मल्लकालीन दरबारको पूर्व उत्तरमा या कुनै न कुनै ठाउँमा नागपोखरी बनाइएको नै हुन्छ । भक्तपुर दरबार, पाटन दरबार, हनुमान ढोका दरबारमा हेर्न सकिन्छ ।

नारायणहिटी दरबारको पनि पूर्व उत्तर दिशामा नाग पोखरी छ । यसलाई पनि निकै शक्ति भएको नाग मानिन्छ । त्यसकारण पहिले पहिलेका राष्ट्रप्रमुखहरुले आफ्नो देशको सुरक्षा र समृद्धिको लागि पनि नागलाई यतिधेरै महत्व दिएका हुन् भन्ने बुभिन्छ । पुराणहरुमा नागहरुको बारेमा धेरै चर्चा छ । शक्तिशाली नागको शीरमा नागमणि पनि हुन्छ । नागमणिलाई अत्यन्तै दुर्लभ मणि मानिन्छ ।

नागले गाडिएको धन सम्पत्तिको पनि रक्षा गर्छ । कलियुग प्रारम्भको समयमा राजा परिक्षितको मृत्यु पनि तक्षक नाग बनेको थियो । भागवत महापुराणका अनुसार भगवान कृष्णले कालीय नाम गरेको नागबाट व्रजवासीहरुलाई रक्षा गर्नुभएको थियो । नागहरुले भगवानको प्रार्थना पनि गरेको प्रसंग छ ।

भगवान शिवले पनि आफ्नो गलामा वासुकी नागको माला लगाउनु भएको छ भने भगवान् विष्णु हजारौँ फणा भएको नागमा सुत्नुहुन्छ । नागको विशेष महिमाको कारण नै नागको यति धेरै चर्चा हाम्रा शास्त्रहरुमा भएका छन् । यस्तै विभिन्न कारणहरुले गर्दा नागपञ्चमीका दिन देशका विभिन्न नाग मन्दिरहरुमा र घरका ढोका ढोकामा नागको पूजा गर्ने चलन छ ।

6675
Shares

ट्रेन्डिङ