सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • को हुन गणेश लामा किन गरे यस्तो बाचा ? बाँचुन्जेल देश र जनताको सेवामा लाग्नेछुः लामा

को हुन गणेश लामा किन गरे यस्तो बाचा ? बाँचुन्जेल देश र जनताको सेवामा लाग्नेछुः लामा

9820
Shares
को हुन गणेश लामा किन गरे यस्तो बाचा ? बाँचुन्जेल देश र जनताको सेवामा लाग्नेछुः लामा

को हुन यूवा नेता गणेश लामा ! कहाँबाट आए उनी । कँहा बाट कसरी सघर्ष गरेर आज यस ठाउँमा आईपुगे । सबैको चासो र उत्सुकता अनि कौतुहलता आफैमा बोकेको नाम हो यो । प्रत्यक्ष नदेख्नेले समेत सुनेको नाम हो । गणेश लामा आफैमा एक चर्चित नाम हो । उनी कूनै ठूलो घरानाको होईनन् तर पनि खाना खानै नपुग्ने परिवारमा जन्मेका पनि हैनन् । हुने खाने परिवारमा नै जन्मेका हुन् । लामा काभ्रेको तत्कालिन खहरे पाँगु गाविस हाल रोशी गाउँपालिका वडा नम्बर १ मा २०३५ साल कार्तिक १३ गते जन्मिएका हुन् । जहाँ दलित समुदायको बाहुल्यता छ । परियार र विकहरुको ठूलो बस्ति रहेको रोशीको रमणीय स्थलमा जन्मेका हुन् उनी ।

लामा राजनितिक पृष्ठभूमि भएका परिवारमा जन्मेका कारण पनि उनमा सानैदेखि राजनितिक चेतना रहेको थियो । उनका पिता पाल्साङ तामाङ पहिले देखि नै राजनीतिमा सक्रिय थिए । ०२३ सालदेखि ०३६ सालसम्म चलेको पञ्चायत विरोधी भूमिगत संघर्षमा लामाका पिता पाल्साङ सामेल भएका थिए । ०३६ सालको जनमत संग्रहपछि कांग्रेस छाडेर पञ्चायतलाई समर्थन गर्न थाले उनका पिता पाल्साङले । त्यसपश्चात उनी दुई पटकसम्म प्रधानपञ्च र जिल्लाको उपसभापति हुँदै ०४६ सालमा भएको जनआन्दोलन पश्चात फेरी राप्रपामा प्रवेश गरे । अहिले अप्रत्यक्ष रुपमा कांग्रेसलाई सघाउँदै आइरहेका छिन् उनका पिता पाल्साङले ।

उनका पिता पाल्साङले रञ्जु थापा क्षेत्रीसँग अन्तरजातिय विवाह गरेका थिए । गाउँमा जन्मे पनि बाल्यकालदेखि नै काठमाडौंमा अध्ययन गर्न गएका थिए । २०३६ साल मै उनका बुवाले काठमाडौंको भिमसेन गोलामा घर बनाइसकेका थिए । उनी काठमाडौंमा हुर्के । बाल्यकालमा उनी फूटबल प्रेमी थिए । खेलाडी बन्ने सपना बोकेर हिँडेका उनी फुटबल खेल्दा किपर बस्ने गर्थे । निकै सालिन धेरै नबोल्ने उनले काठमाडौंको कमल नेत्र स्कुलबाट प्रावि तह र एसएलसी भने कमल आदर्शबाट सेकेन्ड डिभिजनमा पास गरेका थिए । त्यसपछि उनी पशुपतिमा आइए पढ्न भर्ना भए । सोहि क्रममा राजनीतिमा आकर्षित भएका थिए उनी । त्यतिबेला माओवादी युद्ध चर्किदै गएको थियो । माओवादीहरुले उनको घर कब्जामा लिए । त्यसपछि उनको आमा विस्थापित भई काठमाडौंमा आए ।

बाबु र आमा दुवैको छोरो डाक्टर, इन्जिनियर र पाइलट नै बनोस् भन्ने  इच्छा थियो । काठमाडौंमा अध्ययन कै शिलशिलामा उनी राजनीतिसँग जोडिनपुगे । नेपाली कांग्रेस दुई भागमा विभाजित हुँदा उनी शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसतिर ढल्के । स्ववियु चुनाव आएपछि विद्यार्थी संगठनबीच ‘झैझगडा’ हुन्थ्यो । ठूलो झगडाको शुरुवात त्यसबेल त्रिचन्द्र क्याम्पसबाट भयो ५७÷५८ सालमा स्ववियु चुनावमा । त्यसबेला पार्टीका साथीहरुलाई सहयोग गर्न उनी त्रिचन्द्र क्याम्पस पुगेका थिए । त्यहाँ परिस्थीति अर्कै बनेको थियो । कांग्रेस संस्थापन पक्ष र एमाले निकट अखिलबीच गठबन्धन भएको थियो । तर त्यहाँ प्रजातान्त्रिक विद्यार्थी संगठन बलियो थियो । त्यसबेला उनीहरुले लामा पक्षमाथि आक्रमण गरे । उनी चाहान्थे विचार बोकेको आधारमा कसैमाथि आक्रमण नहोस् । तर, परिस्थिति त्यस्तो भएन । प्रजातान्त्रिक कांग्रेस भएकै कारण साथीहरु कुटिएका देखेर उनको युवा जोस थियो । साथीहरुमाथि अन्याय हुँदा सहन नसक्ने स्वभाव थियो । उनले साथीहरुलाई सहयोग गरे ।

विविध कारणले उनको पढाइ अगाडी बढ्न सकेन । करिब एक वर्ष उनले काठमाडौंको सोल्टी होटलमा सुपरभाइजरमा जागिर खाए । त्यहाँ उनले म्यानेजमेन्टबारे केहि सिक्ने मौका पाए । त्यसपछि उनले आफ्नो पुर्खौली सम्पत्ति लगानी गरेर व्यावसायमा हात हाले । सुरुमा ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याए लामाले । १५ वर्षअघि उनले आफ्नै जातका तामाङकै छोरीसँग मागि विवाह गरे । व्यापारबाटै परिवार धानीरहेका उनको परिवार कोही आएर धम्काउने,े फ्रिमा खान खोज्ने, कसैले दबाउन खोज्ने गर्दा तामाङको छोरो सहेर बस्न सकेनन् अनि प्रतिकार गर्न थाले ।

झगडा गरिहाल्ने स्वभाव नभए पनि विविध परिस्थितिले उनी झगडामा होमिन पुगे । देशमा कानुन छ र कानुन भन्दामाथि कोही पनि छैन भन्ने धारणा बोक्ने उनलाई केही झूटा मुद्दा लगाएर उनीमाथि षडयन्त्र पनि सुरु भयो । प्रहरीले विभिन्न बहानामा पक्राउ गरे तर प्रमाण नभेटिएपछि रिहा भए लामा । रेष्टुरेन्ट व्यवसाय र क्रसर सञ्चालनका क्रमसँगै लामाले समाज सेवामा पनि हात हाले । समाजसेवाको लागि लामाले शिक्षा क्षेत्र रोजे । किनभने समाज परिवर्तनका लागि नागरिक चेतनशील हुनुपर्छ भन्ने उनको मान्यता थियो ।

माओवादी युद्धकाल मै लामाले काभ्रेका धेरै विद्यालयमा निःशुल्क कोचिङ कक्षा चलाएका थिए । टेष्ट परिक्षा सकिएपछि बाँकी रहेको तीन महिना एसएलसीको तयारीको लागि विद्यार्थीले कोचिङ पढ्नु पथ्र्यो । कयौँ विद्यार्थीसँग पैसा हुँदैनथ्यो । त्यसबेला उनले कयौँ विद्यालयमा काठमाडौंबाट पैसा पठाए विद्यार्थीलाई कोचिङ पढाउन भनी । गणेश लामाको पैसाले कुनै विद्यालयले कोचिङ चलाएको थाहा पाएमा माओवादीले त्यो स्कुल नै बन्द गरिदिन्थ्यो । तर, उनले पवित्र धारणाले कोचिङको लागि लगानी गरेका थिए । कसैले धन्यवाद देओस् वा मिडियामा आओस् भनेर होइन ।

लामाको सहयोगले धेरै मान्छेले शिक्षाको उज्यालो ज्योति पाए । त्यसैमा उनी प्रफुल्लित थिए । त्यसलाई उनले आफ्नो सफलता माने । तर लामाले सहयोग गरेको कसैलाई थाहा थिएन । धेरै स्कुललाई १० वर्षसम्म लगातार पैसा दिएका थिए लामाले । एउटा विद्यालयबाट ३० देखि ३५ जना विद्यार्थीले एसएलसी दिन्थे । उनकै सहयोगबाट कोचिङ पढी कयौँ पास हुन सफल भए । लामा भन्छन्—‘गणेश लामाले अपराधको दुनियाबाट पैसा कमायो भन्छन् तर, मैले के अपराध गरेँ ? के मैले ड्रग्स बेचेको छु ? सुन तस्करी गरेँ ? काम गरेर पैसा कमाइरहेको छु ।

मेरो रेष्टुरेन्ट व्यावसाय, क्रसर उद्योग, निर्माण कम्पनीहरु जहाँ सयौँ युवाहरु रोजगारीमा छन् । के वेरोजगार यूवाहरुलाई रोजगारी दिनु के मेरो अपराध हो ?’ उनी थप्छन्—‘म अपराधमा हिँजो पनि थिइनँ । आज पनि छैन र भोली पनि हुने छैन । म यस्तो स्वभावको मान्छे हुँ । कसैलाई अन्याय अत्याचार हुँदा सहयोग गर्छु । म जाँड रक्सी खाँदिन । जुवातास खेल्दिन । लागुपदार्थको एक पत्ता मैले खाएको छैन । म सेन्समा काम गर्ने मान्छे हुँ । म जन्मदै गर्दा काठमाडौंमा घर बन्दै थियो । यहाँ नै हुर्किएँ र केही संस्कार पाएँ ।’

लामा आफूलाई अपराध गरेर सम्पति कमाएको भन्दा दुःख लाग्ने गरेको बताउँदै गुनासो गर्छन्, ‘नेपालमा रिस फेर्नका लागि मुद्दा लगाइन्छ । सायद मेरा विरुद्ध पनि कोही लागेको होला । म निष्ठा र इमानदारीपूर्वक व्यापार र राजनीति गर्दै आएको युवा हुँ । मेरो पनि दिमाग छ । खट्न सक्छु । मैले समाज प्रति योगदान गरेको छु । मैले यसरी नै अघि बढ्दा केही मान्छेहरु म देखि अत्तालिएको हुनसक्छ ।

कसैको चरित्र हत्या गरेर आफ्नो व्यावसाय अघि बढाउँदा यसले राम्रो हुन्छ र ?’ उनी भन्छन् संसारमा सम्पूर्णले भरिपूर्ण र कमजोरी नभएका मान्छे हुँदैनन् । गौतम बुद्धको पनि कुरा काट्नेहरु थिए । राम भगवानको पनि कुरा काट्नेहरु छन् । बिन लादेनलाई विश्वले अपराधी मानिरहँदा एउटा जात र समुदायले आफ्नो मुक्तिको लागि लड्ने भगवान मानिरहेको छ ।

काभ्रे जिल्लामा लामाले गरेको समाजसेवाको प्रभाव देख्न सकिन्छ । चाहे भूकम्पको बेला होस् या त्योभन्दा अघिको समय उनले काभ्रेलीहरुलाई हर पीडाको घडीमा निकै सहयोग गरेका छन् । २०७० को निर्वाचनमा लामाले चुनाव लड्दा ६ हजार भोट ल्याए । त्यो भोट त्यसै आएको थिएन । लामाको समाजसेवाको परिणाम थियो । रगत माग्नुस् २ पौण्ड रगत दिन तयार हुन्छन्, पैसा दिन तयार हुन्छन् तर, भोट दिन तयार हुँदैन ।

भोट मान्छेको मन र विश्वास जितेर लिनुपर्छ भन्ने उनको बुझाइ रहेको छ । लामा भन्छन्,–‘ म प्रदेश सभामा उम्मेदवार बनेको छु । मलाई थाह छ मतदातासँग भोट माग्न मैले मतदातालाई खुशी पार्न सक्नुपर्छ । नमस्कार गर्न जान्नु पर्छ । म १० जनाको नमस्कार खान म लायक बन्नुपर्छ । त्यत्तिकै नेता त हुँदैन । गाली सहनुपर्छ । मैले जीवनमा धेरै गाली सुनेको छु । पछाडी कुरा काट्नेहरु छन् । तर, मेरो गाउँमा त्यस्तो छैन । मैले ढोग्नुपर्ने मामा भन्नुपर्ने काका भन्नुपर्नेहरु धेरै छन् ।’

उनी थप्छन्, ‘मलाई राजनिति गर्नुछ । समाजको विकास गर्नु छ । आफूलाई सफल राजनितिज्ञ बनाउनु छ । म नेता हुँ । जनताको सेवा नै मेरो धर्म हो । एउटा गरिब परिवारको मान्छे अभावहरु पूर्ति गर्न मलेसिया जान्छ । उसले गाउँमा रहेकी आफ्नो बुढी आमाको एक तोला सुन, बाख्रा, भैँसी वा कुखुरा समेत बन्दकी राखेर चर्को ब्याजमा ऋण लिएको हुन्छ । तर, यहाँका मेनपावरका दलालहरुले उसले चर्को ब्याजमा लिएको एक डेढलाख पैसा पनि लुट्छन् । झूटो प्रलोभनमा पार्छन् र खाडी मुलुकमा एक हजार तलबको प्रलोभन देखाउँछन् र ५ सय पनि दिँदैनन् । यस्ता कयौँ अन्यायमा परेका पीडितहरु मलाई भेट्न आउनु हुन्छ । आफ्नो पार्टीको परिचय सहित उनीहरुलाई फोन गरेर भनेको छु, ‘गरिबको पैसा नखानुस् ।’ जसले गरीबको पैसा खान्छ त्यो अवस्थामा मलाई निकै आक्रोश पनि हुन्छ । साह्रै रिस उठ्छ ।’

लोकतन्त्र संकटमा परेको बेला आफूले उम्मेदवारी दिएको लामा बताउँछन् । लोकतन्त्र अहिले संकटमा रहेको उनको ठम्याइ छ । लोकतन्त्र चाहने र नचाहनेबीच अहिले ध्रुविकरण भएको लामा बताउँछन् । लामाले काभ्रेमा प्रदेश सभामा टिकट पाइ चुनावी मैदानमा दौडिसकेका छन् । उनी काभ्रेको विकास निर्माणको लागि चुनावमा होमिएको बताउँछन् ।

आफूलाई कांग्रेसको सच्चा सिपाही बताउने उनी आफूलाई पाए ठीक अरुलाई पाए बेठिक भन्ने राजनीतिक संस्कारप्रति घृणा उत्पन्न हुने गरेको बताउँछन् । व्यक्ति होइन पार्टी जिताउने रणनीतिमा लागौँ भन्ने उनको सबैलाई सुझाव छ । आफू समाजमा सेवाको लागि राजनीतिमा लागेको हुनाले बाँचुन्जेल देश र जनताको सेवामा लाग्ने प्रण गर्छन् ।
-काभ्रे सन्देश साप्ताहिक बाट

9820
Shares

ट्रेन्डिङ