सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज

अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज

2945
Shares
अवैध बिटक्वाइनबाट नेपालका मोबाइल रिचार्ज

काठमाडौँ, कार्तिक ३० । नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । राष्ट्र बैंकले भने बिटक्वाइनलाई अवैध मानेको छ ।

बिटक्वाइनको वालेटबाट मोबाइल नम्बरहरू रिचार्ज हुने खुलेको, तर त्यो कसरी भइरहेको छ भनेर पत्ता नलागेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिटक्वाइनबाट नेपालका मोबाइल नम्बर रिचार्ज भइरहेकाले त्यसमा आवश्यक अनुसन्धान र कारबाही गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो ।

प्राधिकरणले पनि बिटक्वाइनका वालेटबाट टेलिकम कम्पनीका मोबाइल नम्बरमा रिचार्ज हुने सूचना पाएपछि अपरेटरहरूसँग छलफल गरेको थियो । सिआइबी र नेपाल राष्ट्र बैंकले यस विषयमा चासो देखाएपछि प्राधिकरणले छलफल अगाडि बढाएको हो । ‘सिआइबीको पत्र प्राप्त हुनासाथ हामीले अपरेटरहरूसँग यो विषयमा छलफल गरेका थियौँ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘छलफल भए पनि के गर्ने भन्ने विषयमा कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।’

प्राधिकरणसँग होस्टिङ र सञ्चालक चेकजाँच गर्ने उपकरण नभएका कारण नेपालबाट कसले यसको कारोबार गरिरहेको हो पत्ता लाग्न नसकेको उनले बताए ।

लोगो दुरुपयोग
बिटक्वाइनका वालेटहरू क्वाइनबेस, लोकलबिटक्वाइन्सडटकम, जापोलगायतबाट मोबाइल रिचार्ज हुने भए पनि बिटरिफिल भन्ने वेबसाइटले नेपालका टेलिकम कम्पनीका लोगोसमेत राखेर रिचार्जको सुविधा दिइरहेको छ । उसले आफ्नो लोगो दुरुपयोग गरेको टेलिकम कम्पनीहरूले बताएकाले यस विषयमा समेत अध्ययन भइरहेको अर्यालले बताए । बिटरिफिल भन्ने वेबसाइट नेपालमा दर्ता नभएको र विदेशमा होस्ट भएका कारण सबै कुरा पत्ता लगाउन समस्या भएको अर्यालको भनाइ छ ।

सेवाप्रदायकद्वारा संलग्नता अस्वीकार
टेलिकम सेवाप्रदायकहरूले भने बिटक्वाइनको वालेटबाट रिचार्ज भएको विषयलाई अस्वीकार गरेका छन् । यसबारेमा नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बिटक्वाइनबाट टेलिकममा रिचार्ज नहुने भन्दै कसैले रिचार्जको पिन नम्बर किनेर कुनै वालेटबाट रिचार्ज गरेको हुन सक्ने बताए ।

४ वटा डिलरलाई बेच्छ टेलिकमले इलेक्ट्रोनिक रिचार्ज पिन
नेपाल टेलिकमले कसैले आफ्नो इलेक्ट्रोनिक पिन खुद्रामा किनेर त्यसलाई बिटक्वाइनमा कन्भर्टिबल बनाई रिचार्जको सुविधा दिएको हुन सक्ने बताएको छ । उसले इलेक्ट्रोनिक रिचार्ज पिन चारवटा कम्पनीलाई बिक्री गर्ने जनाएको छ ।

रिचार्ज कसरी ?
नेपालका भुक्तानी सेवाप्रदायकहरू र मोबाइल वालेट (इसेवा, आइएमई पे, आई पे)हरूबाट जसरी मोबाइल रिचार्ज गर्न पाइन्छ, बिटक्वाइनको वालेटबाट पनि त्यसैगरी रिचार्ज गर्न पाइन्छ । बिटरिफिलले पनि नेपालमा मोबाइल रिचार्जको सुविधा दिएको छ । त्यसबाट एनसेल, एनटिसी, स्मार्टसेल र युटिएलको मोबाइल रिचार्जको सुविधा छ ।

मोबाइल रिचार्ज गर्नका लागि त्यसको साइट बिटरिफिलडटकममा गई आफ्नो मोबाइल नम्बर राखेपछि ५० रुपैयाँदेखि माथिको रिचार्ज गर्न पाइन्छ । तर, तपाईंसँग क्वाइनबेस, लोकलबिटक्वाइन्सडटकम, जापोमध्ये कुनै एक बिटक्वाइन वालेट हुनुपर्छ ।
– नयाँ पत्रिका

2945
Shares

ट्रेन्डिङ