सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • वामपन्थी गढमा सीताको ‘अग्निपरीक्षा’

वामपन्थी गढमा सीताको ‘अग्निपरीक्षा’

2845
Shares
वामपन्थी गढमा सीताको ‘अग्निपरीक्षा’

काठमाडौँ, कार्तिक ३० । कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ समानुपातिक उम्मेदवारी छाडेर प्रतिनिधिसभाको प्रतिस्पर्धामा होमिएकी छन् । सहजै हुने समानुपातिक सांसद हुन छाडी प्रत्यक्ष चुनावी मैदानमा होमिनुको कारणबारे उनले भनिन्, ‘म यो जिल्लालाई अगाडि बढाउन सक्छु भन्ने हिम्मतका साथ सहजै पाउन सकिने समानुपातिक सांसद पद त्यागेको हुँ ।’ उनलाई कांग्रेसले जनजाति महिलाका तर्फबाट समानुपातिक सूचीमा एक नम्बरमा राखेको थियो । यहाँ आगामी मंसिर २१ मा दोस्रो चरणमा चुनाव हुँदै छ ।

दुईपटक समानुपातिक सभासद भइसकेकी गुरुङका अघि वामपन्थी गठबन्धनको सामना गर्नुपर्ने चुनौती छ । स्थानीय तह निर्वाचनमा एक नगरपालिकाबाहेक अन्य पाँच गाउँपालिकामा एमाले विजयी भएको छ । स्थानीय तह निर्वाचनमा करिब १० हजार मतले कांग्रेसभन्दा अघि भएको वामपन्थी गठबन्धनको दाबी छ । कांग्रेसले भने करिब ३० प्रतिशत मतदाताले व्यक्तिगत रूपमा मतदान गर्ने दाबी गरेको छ ।

प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार भवानी खापुङ म्याङलुङस्थित आफ्नो साँघुरो सम्पर्क कार्यालयमा बसेर चुनावी घोषणापत्रको सार खिच्दै थिए । ‘अहिलेसम्म निर्वाचन घोषणापत्र आइसकेको छैन, इन्टरनेटबाट टिप्दैछु,’ उनले भने, ‘मतदातालाई कुरा बुझाउन कसरत गर्दैछु ।’ तेह्रथुममा आफूलाई कसैले पराजित गर्न नसक्ने उनले दाबी गरे । ‘यो वामपन्थीको लालकिल्ला हो,’ उनले कान्तिपुरसँग भने, ‘ढुक्क भए पनि चुप लागेर बसेका छैनौं ।’

कांग्रेस उम्मेदवार गुरुङले भने प्रदेश १ मा प्रतिनिधिसभाका दुई महिला उम्मेदवारमध्ये एक आफू भएकाले मतदाताले न्याय गर्ने बताइन् । ‘महिलाको स्वास्थ्यलगायतका अन्य क्षेत्रमा मैले धेरै काम गरेकी छु,’ उनको दाबी छ, ‘म विगतमा समानुपातिक सभासद भए पनि जिल्लाको विकासमा कुनै कसर बाँकी राखिनँ । यसकारण मलाई मतदाताले माया गर्नु हुनेछ ।’ दुवै उम्मेदवार निवर्तमान सांसद हुन् । यो जिल्लाबाट २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसका तुलसी सुब्बाले जितेका थिए भने २०७० मा एमालेका भवानीप्रसाद खापुङ विजयी भएका थिए ।

मुख्य मुद्दा सडक सञ्जाल विस्तार

हिउँदका केही महिना हिउँ पर्ने तर हिमाली जिल्लामा नपरेको तेह्रथुममा चुनावी मुद्दा सडक बनेको छ । सडक व्यवस्थित नभएकै कारण जिल्लाको कृषि उत्पादन र जडीबुटी बाहिर पठाउन नसक्नुको पीडा जिल्लावासीले बेहोरेका छन् । यही विषयलाई समेट्दै दलहरूले सडक निर्माणलाई प्रमुख चुनावी मुद्दा बनाएका हुन् ।

वाम गठबन्धन र कांग्रेसका उम्मेदवारले आठराई क्षेत्र हुँदै सदरमुकाम म्याङलुङ जोड्ने, छथर क्षेत्रको शुक्रबारे हुँदै सिंधुवा जोड्ने र फेदाप क्षेत्रको म्याङलुङ हुँदै वसन्तपुर जोड्ने मुख्य सडक मार्गको स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखेका छन् । यी सडक बाह्रै महिना सञ्चालन भए सदरमुकाम हुँदै पूर्वी तराईसँगको सम्पर्क सहज हुने भएकाले मतदातालाई पनि सडक निर्माणका नारा प्रिय देखिएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग यही जिल्ला भएर निर्माण भइरहेकाले सडक चाँडो निर्माण भइदिए पूर्वी तराई हुँदै राजधानी काठमाडौंसँगको दूरीसमेत छोटिने आशामा जिल्लाका मतदाता छन् ।

संक्रान्तिबाट म्याङलुङ जाने ६७ किलोमिटर सडक बनिसकेको छ । तर बीचमा पुल निर्माण र स्तरोन्नति बाँकी छ । यो खण्डको सडक र पुल निर्माण सम्पन्न भए १ नम्बर प्रदेशका पाँचथर, ताप्लेजुङ र तेह्रथुमवासीलाई पूर्वी तराईतिर आउजाउ गर्न र खाद्यान्नलगायत मालसामान ढुवानी गर्न सजिलो हुनेछ ।

कांग्रेस र गठबन्धन दुवैले आफ्नो पार्टीले जितेर सरकार बनाउन पाए सडकको स्तरोन्नति गरी कालोपत्रे गर्ने वाचा मतदातासमक्ष गरिरहेका छन् । छथर गाउँपालिका जोड्ने सिंधुवा–शुक्रबारे सडक कालोपत्रे गरी यातायात सहज बनाउने मुद्दा पनि उनीहरूले उठाएका छन् । सडकको अवस्था सुधार भए ग्रामीण बजारहरू व्यापारिक केन्द्र बन्ने र कृषि व्यवसाय र पर्यटनका कारण जिल्लाको अर्थतन्त्र बलियो हुने विश्वास उम्मेदवारहरूको छ । ‘जिल्लाको समृद्धिका लागि सडक सञ्जाल व्यवस्थित गर्ने हाम्रो पहिलो मुद्दा हो,’ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार खापुङले भने ।

कांग्रेस उम्मेदवार गुरुङले पनि जिल्लाका मुख्य सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने पहिलो प्राथमिकता भएको बताइन् । दुवै दलका उम्मेदवारले जिल्लाभर सडक सञ्जाल विस्तारपछि पर्यटनको मुद्दालाई दोस्रो प्राथमिकतामा राखेका छन् । तीनजुरे मिल्के जलजले, ह्यात्रुङ झरना (३६५ मिटर), तमोर नदीमा र्‍याफटिङ लगायतका क्षेत्रको विकास गरी पर्यटक भित्र्याउने वाम गठबन्धनबाट प्रदेशसभा (क) का उम्मेदवार लक्ष्मण तिवारीले बताए । प्रदेशसभा (क) मा गठबन्धनबाट एमाले अध्यक्ष लक्ष्मण तिवारी र कांग्रेसबाट गोविन्द ढुंगाना उम्मेदवार बनेका छन् । त्यस्तै प्रदेशसभा (ख) मा गठबन्धनबाट एमाले पूर्वअध्यक्ष तेजमान कन्दङवा र माओवादी केन्द्र छोडी कांग्रेस छिरेका प्याब्सन केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे चुनावी प्रतिस्पर्धामा छन् । तीन सिटका लागि ११ दलले उम्मेदवारी दिए पनि यहाँ कांग्रेस र वाम उम्मेदवारको मात्र चर्चा छ ।
-कान्तिपुर

2845
Shares

ट्रेन्डिङ